• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

माधव नेपाल र उपेन्द्र यादवलाई कुन स्वार्थले जोडिरहेको छ ?

  • खबरदाता

माधव नेपाल र उपेन्द्र यादवलाई कुन स्वार्थले जोडिरहेको छ ?

पुस २१, २०७९

 

 

यसपालिको आम निर्वाचनमा सबैभन्दा ठूलो तोड परेका पार्टी हुन्– नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी । एकीकृत समाजवादीले धेरै ठूला नेता मात्र गुमाएन, राष्ट्रिय दलको मान्यता नै पाएन । जसपाको आकार त खुम्चियो नै, अध्यक्ष उपेन्द्र यादव नराम्रोसँग पराजित हुन पुगे । एकीकृत समाजवादीलाई राष्ट्रिय दल बन्नु छ । जसपा अध्यक्ष यादवलाई जसरी पनि संसदमा प्रवेश गर्नु छ ।

यी बेग्लाबेग्लै स्वार्थले दुई दललाई एक ठाउँमा ल्याउँदै छ । दुई दल एक ठाउँमा भए मात्र सरकार बनाउन वा भत्काउन यिनको भूमिका र महत्त्व रहनेछ । त्यही मोलमोलाइ शक्ति आर्जन गर्न दुवै दलबीच एकताका लागि सघन वार्ता भइरहेको छ । एकीकृत समाजवादी अध्यक्ष राष्ट्रपति पद आफ्नो पक्षमा पार्न जसपाको काँध चढ्न खोजिरहेका छन् । जसपा अध्यक्ष उपेन्द्र यादव आफ्नो भागमा उपराष्ट्रपति पारेर निर्वाचित सांसदको सिट खाली गराई तत्काल सत्ता गठबन्धनको बलमा आफू चुनाव जित्न चाहन्छन् ।

माधव नेपाल र उपेन्द्र यादवको यही सत्ता स्वार्थले अहिले एकीकृत समाजवादी र जसपालाई नजिक्याइरहेको छ । उनीहरुको एकता प्रयासमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालले पनि पृष्ठपोषकको काम गरिरहेका छन् । यसमा माओवादी र एमालेका आआफ्नै दाउ छन् । माओवादी अध्यक्ष दाहालले जसपा र एकीकृत समाजवादीलाई आफ्नै कित्ताका उभिन सक्ने घटक भन्ठानेका छन् । भोलि ओलीले दायाँबायाँ गर्न खोजे आफ्ना लागि आडभरोसा दिने शक्तिका रुपमा उनले यसलाई हेरेका छन् । त्यसैले उनी जतिसक्दो चाँडो एकत भइहालोस् भन्ने पक्षमा छन् ।

यसमा ओलीको दाउ अर्कै छ । ओली अहिले जसरी हुन्छ, आफ्नो पार्टीलाई संसदकै पहिलो शक्ति बनाउन चाहन्छन् । सुरुमा एकीकृत समाजवादीलाई मात्र भित्र्याउने तयारी गरेका उनले जसपालाई समेत एकै मेलोमा आफ्नो पार्टीमा मिलाउन सकिने देखेका छन् । त्यसैले उनी छरिएका बाम शक्तिलाई एक ठाउँमा भेला पारेर त्यसको नेता आफै बन्न खोजिरहेका छन् । त्यसो गर्न सके भोलि प्रचण्डले साथ नदिँदा पनि पहिलो दलको नेताका रुपमा प्रधानमन्त्री बन्न पाउने ठाउँ उनले देखेका छन् ।

नेपालमा राजनीतिक दलहरु कतिबेला फुट्छन् र जुट्छन्, कुनै ठेगान हुँदैन । वैचारिक मतभेदभन्दा पनि सत्ता प्राप्ति र शक्ति आर्जन नै उनीहरुको केन्द्रीय अभीष्ट रहन्छ । सिद्धान्तका लागि भन्दा पनि सत्ता र शक्तिकै लागि नेपाली कांग्रेस, नेकपा एमाले, माओवादीलगाएतका दलहरु फुटेका उदाहरण छन् । मधेसकेन्द्रित दलहरु फुट र जुटमा अझै एक कदम अगाडि छन् । उनीहरु विचार नमिले पनि शक्ति आर्जनका लागि पार्टी एकीकरण गर्नसमेत पछि पर्दैनन् । हालैको आमनिर्वाचनमा सोचेजस्तो परिणाम ल्याउन नसकेपछि नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले एकताको कसरत सुरु गर्नुलाई पनि सत्ता र शक्ति आर्जनका लागि गर्न खोजिएको स्वार्थको करार भन्दा फरक पर्दैन ।

पाँच दलीय गठबन्धन गरेर चुनावमा होमिँदा पनि राष्ट्रिय दल बन्न असफल एकीकृत समाजवादी र एमालेसँग तालमेल गर्दा पनि राम्रो नतिजा ल्याउन नसकेको जनता समाजवादी पार्टीबीच एकताको चर्चा चुलिएको छ । पार्टी एकताका लागि दुबै दलले गृहकार्य थालेका छन् । पार्टीको आगामी यात्राको विषयमा एकीकृत समाजवादीले चार दिनसम्म स्थायी कमिटी र पोलिटब्यूरो बैठकमा छलफल गर्‍यो । पार्टीले औपचारिक रुपमा बामपन्थी एकताको लागि पहल गर्ने निर्णय गरेको छ । बाँकी जिम्मेवारी सचिवालयलाई दिएको छ । अनौपचारिक रुपमा दुवै दलका शीर्ष नेतृत्वबीच पार्टी एकताको विषयमा छलफल पनि भएको छ ।

एकताका लागि लालायित जनता समाजवादी पार्टीले पनि ३ सदस्यीय वार्ता टोली गठन गरिसकेको छ । पार्टी एकता भए यसले शक्ति आर्जनमा मद्दत पुग्ने दुवै पार्टीको बुझाइ छ । संघीय संसदमा प्रत्यक्षतर्फ १० सिट जितेर पनि राष्ट्रिय दल बन्न नसकेको नेकपा एसलाई नेता तथा कार्यकर्ता जोगाउनै मुस्किल छ । संघीय संसदमा जसपाको १२ सिट छ, नेकपा एससँग एकता भए उनीहरुको २२ सिट पुग्छ र संसदको चौथो दल बन्छ । जसले पद बाँडफाँडमा बार्गेनिङ गर्न बल पुग्नेछ ।

मधेस प्रदेशमा जसपाका १६ सदस्य छन् भने नेकपा एसका ७ सदस्य छन् । पार्टी एकता भए मधेस प्रदेशमा सबैभन्दा ठूलो दल एमालेको २३ सिट बराबर हुन्छ । यसरी शक्ति आर्जनको उद्देश्यले एकता गर्न कसरत गरिरहेका यी दुई दल सहमतिमा कहिले पुग्छन्, त्यसको टुंगो भने छैन । यद्यपि राष्ट्रपतिको चुनावसम्म एकता प्रयास सफल या विफल जे भए पनि भइसक्नेछ ।

 

  • प्रकाशित मिति : पुस २१, २०७९, बिहीवार ०६:४२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८