पुस – १७, २०७९
अहिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पहिलो पार्टीको नेता भइछाड्ने भूत चढेको छ । त्यसैले माधव नेपाललाई राष्ट्रपति बनाएर भए पनि नेकपा एकीकृत समाजवादीलाई एमालेमा मिसाउने कसरतमा लागेका छन् । जबकि माधव नेपाललाई पार्टीमा कुनै हालतमा स्वागत गर्न नहुने र राष्ट्रपति त झनै बनाउन नसकिने भन्दै केन्द्रदेखि जिल्लासम्मका नेता कार्यकर्ता सामाजिक सञ्जालमा आक्रोश पोखिरहेका छन् ।
यति हुँदाहुँदै पनि ओलीले नेपालसँग वार्ता गर्न दूत खटाइरहेका छन् । नेपाल पनि यहीबीचमा अनपेक्षितरुपमा ओलीप्रति नरम बनेका छन् । यसले यी दुई नेताबीच कुनै न कुनै प्रकारको सहकार्य र समझदारीको वातावरण बनिरहेको संकेत गर्छ । माधव नेपाललाई यहाँसम्म तानेको एउटै कारण हो, कुनै कारणले शीतलनिवास प्रवेशको साइत जुरी पो हाल्छ कि रु ओलीको मन आफूतिर फर्की पो हाल्छ कि रु यतिखेर उनी पृष्ठभूमिका सारा तिक्तता र दुस्मनी भुलेका छन् । उनले केवल शीतलनिवासको सिंहासन मात्र देखिरहेका छन् ।त्यसो त नेपालको सन्दर्भमा कम्युनिस्टहरूको मुख्य चरित्र नै फुट र एकता हो । २००६ सालयता कम्युनिस्टहरू २० औं पटक फुटेका छन् र त्यति नै पटक आपसमा गाँसिएका छन् । तर, कसैले पनि आफ्नो फुटको औचित्य पुष्टि गर्न सकेका छैनन् । एकता किन गरियो भनेर उपादेयता पनि देखाएका छैनन् ।
पार्टी र राजकीय सत्ताको लालचले नै उनीहरूलाई फुटाउने र जुटाउने काम गरेको छ । एमाले र नेकपा एसबीच चलेका वार्ता शृंखला यसैको पछिल्लो कडी हो । २०७८ भदौ २८ गते एमालेले तेस्रोपटक विभाजनको मार खेप्यो । संसद् विघटन र पार्टी अध्यक्ष केपी शर्मा ओलीका असंवैधानिक कदम देखाउँदै माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादी गठन गरे । तर, यो चुनावमा नेपाल नेतृत्वको दल राष्ट्रिय पार्टी बन्न सकेन । पार्टी विभाजनका औचित्य पुष्टि गर्न नेता नेपाललाई हम्मे परिरहेका बेला पुनः यी दुई पार्टीबीच एकताको चर्चा चल्न थालेको हो ।पार्टी फुटाउँदा नै आफ्ना मुख्य सहयोगीलाई एमालेबाट आफूसँगै ल्याउन नसकेका उनी यो निर्वाचनमा राष्ट्रिय पार्टीका नेतासमेत बन्न सकेनन् । न पार्टीका हर्ताकर्ताहरूलाई जिताउन नै सके । एमालेलाई सिध्याएर कम्युनिस्ट आन्दोलनको मूल धार बन्ने दाबी गरेका नेपाल कांग्रेस र माओवादीको फेर समाएर चुनावमा होमिए । चुनावको मैदानबाट फर्किँदासम्म उनको साथमा कांग्रेस र माओवादी दुवै थिएनन् । त्यो गठबन्धन जोगाउन नसकेपछि अहिले उनी बिलखबन्दमा छन् ।
एकातिर माओवादी अध्यक्ष पुष्पकमल दाहाल ओलीको बालकोट बार्दलीमा पुगेर नयाँ गठबन्धनको हातेमालो गर्दैछन्, अर्कोतिर एमालेका केही नेता नेपालको घरै पुगेर पार्टीमा फर्कन आह्वान गरिरहेका छन् । वास्तवमा यो नेपाली राजनीतिमा हमेसा देखिने वाम विरोधाभासको असली रुप पनि हो । प्रचण्डले दिल्लीमै बसेर भारतविरुद्ध सुरुङयुद्ध घोषणा गरेभन्दा कम छैन यो विरोधाभास । माधव नेपालले बाहिर गणतन्त्रको नारा लगाएर नारायणहिटीमा प्रधानमन्त्री पदका लागि दाम चढाएभन्दा कम्ता विरोधाभासपूर्ण छैन यो ।अन्योल र अनिश्चयका बीच नेकपा एसको अहिले स्थायी कमिटी बैठक चलिरहेको छ । नेताहरूका अनुसार बैठक एमाले नेतृत्वको गठबन्धन सरकारलाई समर्थन गर्न पार्टी तयार भइसकेको छ । तर बैठकमा गठबन्धनमा सामेल हुने या एमालेसँगै एकता गर्ने भन्ने विषयमा भिन्नभिन्न विचार प्रकट भएका छन् ।
कांग्रेस नेतृत्वको गठबन्धन फुटाएर दाहाललाई नयाँ ध्रुवीकरणमार्फत् सरकारको नेतृत्व दिलाउन पाएकोमा एमाले दंग नै छ । उत्साहित एमाले अध्यक्ष ओलीका तर्फबाट केही नेता अब एकीकृत समाजवादीसँग एकता गर्ने र केही स्वतन्त्र सांसद मिसाएर पहिलो पार्टी बनाउने कसरतमा छन् । त्यसका लागि उनीहरूले नेपाललाई भेटेर औपचारिक प्रस्ताव पनि गरिसकेका छन् ।कांग्रेस गठबन्धनलाई अर्को चुनावसम्मै लैजान सकिनेमा विश्वस्त रहँदै सत्ताको भाग खोजिरहेका नेपालले दाहाल प्रधानमन्त्री बन्नुअघि ओली नसुध्रिएको टिप्पणी गर्थे । ओलीले आफ्ना असंवैधानिक हर्कतबारे आत्मालोचित हुनुपर्ने सर्त तेर्स्याउँथे । दाहालले गठबन्धन भत्काएर एमाले समर्थनमा सरकारको नेतृत्व गरेपछि नेपालको लवज फेरिएको छ । उनी ओलीप्रति अनपेक्षित नरम देखिएका छन् ।
ओलीले नेपाललाई भित्र्याउन चाहे पनि पार्टीभित्र नेपालका लागि सौहार्द र सम्मानजनक वातावरण भने छैन । हिजो एमाले सिध्याउन न्वारानदेखिको बल लगाएका नेपालको असली रुप बिर्सन नहुने भन्दै एमालेकै धेरै नेता पार्टी अध्यक्ष ओलीलाई खबरदारी गरिरहेका छन् । यसमा पार्टी उपमहासचिव प्रदीप ज्ञवाली, गोकुल बाँस्कोटालगायत छन् ।फुटको घाउमा खाटा बसिनसकेको र एमालेलाई सिध्याउन भूमिका खेलेका नेपालले जुनसुकै बेला फेरि त्यस्तै रुप नदेखाउलान् भन्न सकिँदैन । विगतमा १५ वर्ष एमालेको नेतृत्व गर्ने अवसर पाएका र यही पार्टीले उनलाई सांसद, मन्त्री, उपप्रधानमन्त्री र देशको प्रधानमन्त्री नै बनायो । तर यही पार्टीलाई खरानी बनाउँछु भनेर हिँडेका उनै नेपाललाई राष्ट्रपति बनाएर शिरमा चढाउने गल्ती गर्नुहुँदैन ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८