पुस १५, २०७९
चितवन- २०७६ चैतमा कोरोना महामारी रोकथामका लागि लकडाउन गरिएपछि नेपालका उत्तरी नाका बन्द भए । त्यसपछि चीनबाट नेपालमा सीमित सामान मात्र भित्रिए । तिब्बती बजारमा नेपाली वस्तु निर्यात त ठप्पै भयो । महामारीको त्रास हटे पनि चीनले शून्य कोभिड नीति कायम राखेपछि नेपाली सामान स्थल मार्गबाट तिब्बत भित्रिनै पाएन ।अहिले नेकपा एमाले र माओवादीको पुनर्मिलनबाट सरकार गठन भएको भोलिपल्टै चीनले रसुवागढी नाका दुईतर्फी खुला गरेको छ । यो संयोग मात्र हो कि चीनले नेपालका बाम घटकको सहकार्यलाई स्वागत गरेको हो भनेर टीका टिप्पणी भइरहेका छन् ।
संसदको दोस्रो ठूलो दल एमालेले काँध थापिदिएपछि पुष्पकमल दाहाल प्रधानमन्त्री भएको भोलिपल्टै चीनले रसुवागढी नाकामा नेपाली सामान बोकेका कन्टेनरलाई स्वागत गरेको छ । ३३ महिनापछि टिमुरेको बाटो भएर नेपाली हस्तकलाका सामान तिब्बत छिरेका छन् । यसअघि कोभिड नाइन्टिनको असर कम भए पनि नेपालमा अमेरिकी परियोजना एमसीसी कार्यान्वयन गर्ने गरी सरकारले प्रक्रिया अघि बढाएपछि चीनले अघोषित नाकाबन्दी लगाउँदै आएको थियो । जसले नेपालबाट चीनतर्फ हुने निर्यात निरन्तर घटेको छ । आर्थिक वर्ष २०७५(७६ मा नेपालले चीनबाट १०० रुपैयाँको सामान ल्याउँदा चीनले १ रुपैयाँको सामान लान्थ्यो । तर, त्यसपछिका वर्षमा लगातार घटेर यो वर्ष त हामीले चीनबाट १०० रुपैयाँको सामान ल्याएर २५ पैसाको मात्रै निर्यात गर्न सकेका छौं । यस्तो बेला चीनले स्थल नाकाहरु खुला गरेको छ ।
परराष्ट्र मन्त्रालयले पनि विज्ञप्ति जारी गर्दै बुधबारबाट रसुवा(केरुङ नाका औपचारिक रुपमा दुईतर्फी खुला गरिएको भनेको छ । चीनले लामो समय नाका अवरोध गरेपछि रसुवाबाट व्यापार गर्न थालेका थुप्रै व्यवसायी विस्थापित भएका छन् । अहिले खुला भएको सीमा नाका कतिन्जेल खुल्लै रहन्छ भन्ने स्पष्ट छैन । तर, उत्तरी नाखा खुल्दा ढुवानी समय र लागत कम हुने भन्दै नेपाली व्यवसायी खुसी देखिन्छन् ।नेपालका उत्तरी नाकाबाट चीनको मुख्य भूमिसम्म खासै वस्तु निर्यात हुँदैन । बहुमूल्य सामान पनि चीन जाँदैन । नेपाली कारागारमा हातले बुनेका मुढा तिब्बत निर्यात हुने मुख्य सामग्रीमा पर्छ । पित्तलबाट बनेका बुद्धका मूर्ति र तामाका भाँडाकुँडा पनि तिब्बत निर्यात हुन्छ । जडिबुटीचाहिँ मुख्य भूमिकै क्वाङ्चौसम्म पनि पुग्छ ।
नेपाल र तिब्बतको व्यापार प्रागैतिहासिक कालदेखिकै हो । अहिले चीनले यसलाई बारम्बार अवरोध गर्ने र खुला गर्ने गरेर आफ्नो राजनीतिक दाउ साँध्न खोजिरहेको भनेर पनि आलोचना भइरहेको छ । अहिलेको नाका खोल्ने निर्णय पनि हाम्रो नवगठित सरकारलाई स्वागत गर्ने उसको नौलो तरिका भन्न थालिएको छ ।त्यसो त चिनियाँ प्रतिनिधिमण्डलका भ्रमण र रेलमार्ग निर्माणमा पनि चीनले यही बेला चासो बढाएको छ । माओवादी सम्मिलित कांग्रेस गठबन्धनको सरकारका पालामा नेपाल अमेरिका र भारतको खुला परेडस्थल बन्यो । एमसीसी र एसपीपी प्रकरणमा पश्चिमाहरुको नांगो नाच चल्यो । तिब्बती शरणार्थी उकास्न अमेरिकी उच्च अधिकारीको लगालग भ्रमण गराइयो । यसबाट झस्किएको चीनले अहिले देउवालाई झुक्याउँदै प्रचण्डलाई प्रधानमन्त्री बनाउन पृष्ठभूमि तयार गरेको धेरैको बुझाइ छ । त्यसै हो भने चिनियाँ नाका खोल्ने निर्णय पनि उसको भूराजनीतिक कदमकै कडी हो भन्दा फरक पर्दैन ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८