• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

रास्ट्रपति बन्ने अन्तिम इच्छा पुरा गर्न प्रचण्ड उचाल्दै पौडेल

  • खबरदाता

रास्ट्रपति बन्ने अन्तिम इच्छा पुरा गर्न प्रचण्ड उचाल्दै पौडेल

पुस १० ,२०७९

 

 

देशमा अहिले नयाँ प्रधानमन्त्री र राष्ट्रपतिका लागि रस्साकस्सी चलिरहेको छ । तर यो दौडमा नयाँ खेलाडी कोही छैनन् । पुरानै अनुहारबीच कसले कसलाई समर्थन गर्ने र ठाउँ छाड्ने भन्ने विवादको मूल विषय छ ।नयाँ जनादेशअनुसार नेपाली कांग्रेस सबैभन्दा ठूलो दल भएकाले कांग्रेस नै सरकारको नेतृत्वका लागि प्रमुख दाबेदार हो । कांग्रेसले संसदीय दलको नेतामा शेरबहादुर देउवालाई निर्वाचित गरिसकेको छ । यस हिसाबले देउवा नै प्रधानमन्त्रीका सशक्त एवं स्वाभाविक दाबेदार हुन् ।

तर कांग्रेसकै अर्का नेता रामचन्द्र पौडेलको भूमिका र अपेक्षा फरक छ । कांग्रेसले प्रधानमन्त्रीमा दाबी गरे राष्ट्रपति अर्कै पार्टीले लैजान्छ भन्ने चिन्ताले रामचन्द्र छटपटिएका छन् । त्यसैले उनी सरकार निर्माणमा सहमति जुटाउन भन्दै प्रचण्ड र माधव नेपाललाई प्रधानमन्त्रीमा दाबी नछाड्न उकास्दै हिँडेका छन् । उनले शनिबार खुमलटारस्थित प्रचण्डको निवास र कोटेश्वरस्थित माधव नेपालको निवासमा पुगेर प्रधानमन्त्रीको हकदार कांग्रेस नभएकाले दाबी नछाड्न भन्दै कान फुकेर आए ।

त्यसपछि बालुवाटार पुगेर नेपाल र प्रचण्ड दुवैले प्रधानमन्त्रीमा अड्डी कसिरहे । यति मात्र होइन, उनीहरुले पालैपालो तीन नेता प्रधानमन्त्री हुनुपर्ने र देउवाले अहिलेसम्म सरकार चलाइसकेकाले पहिलो पालो आफ्नै आउनुपर्ने माग पनि राखे ।हुन पनि माओवादी वा एकीकृत समाजवादीबाट पहिलो प्रधानमन्त्री भए मात्र राष्ट्रपतिमा आफ्नो नाम आउने पौडेलको बुझाइ छ । त्यसैले जसरी हुन्छ प्रधानमन्त्रीको भाग कांग्रेसइतर दलको पोल्टामा पारेर आफ्नो राष्ट्रपतिको घिडघिडो पूरा गर्ने पौडेलको दाउ देखिन्छ । आकण्ठ लोभले भरिएका पौडेल अहिले आफ्नो अन्तिम इच्छा नै राष्ट्रपति भएको बताउँदै हिँडेका छन् ।

पौडेलमा कुनै देश बनाउने सपना छैन । जनताको जीवनस्तर उत्थानको कुनै योजना छैन । प्रणाली सुदृढीकरणको कुनै प्रतीज्ञा छैन । छ त केवल मर्नुभन्दा अघि शीतलनिवासमा केही रात कटाउने । जब एउटा नेताको सपना नै केवल राष्ट्रपतिको कुर्सीमा आसीन हुने मात्र बन्छ भने त्यस्ता नेताबाट देश र जनताले के अपेक्षा गर्ने रु पदका लोभी यस्ता नेताले त्यस ओहोदाको गरिमा कायम राख्छन् भनेर कसरी पत्याउने रु संविधान र कानुनको रक्षा गर्छन् भनेर कसरी विश्वास गर्ने रु

राष्ट्रपति कुनै शक्ति अभ्यास गर्ने पद होइन । कसैको रहर पूरा गर्ने माध्यम पनि होइन । कुनै नेताको व्यवस्थापन गर्न मात्र पनि यस पदको सिर्जना गरिएको होइन । यो त राष्ट्रिय एकता र सामाजिक सद्भावको प्रतीक बन्नुपर्छ । देशको अभिभावक बन्नुपर्छ । समावेशी राज्यको विम्ब हुनुपर्छ । लोभमोहबाट माथि उठेको व्यक्ति हुनुपर्छ ।यसअघि मधेसी समुदायबाट राष्ट्रपति भइसकेका छन् । महिला राष्ट्रपति बनाएर पनि इतिहास रचिसकिएको छ ।

अब जनजाति वा दलित समुदायको प्रतिनिधि देशको सर्वोच्च पदमा पुग्नुपर्छ । सर्वोच्च शिखर सगरमाथाले विश्वमा चिनिएको देशमा सगरमाथा आरोहीको ब्रान्ड बनेको सेर्पा समुदायबाट राष्ट्रपति बनाउनुपर्छ । तब पो नेपाल सगरमाथाको देशसँगै समावेशी चरित्रको आदर्श राज्यका रुपमा पनि चिनिन्छ । समाजका सबै वर्ग र समुदायले अपनत्व महसुस गर्छन् । प्रणालीप्रति आस्था र विश्वास बढ्दै जान्छ । आफ्नो छोरा, छोरी र सम्धीको जागिरभन्दा पर हेर्न नसक्ने रामचन्द्रजस्ता लोभीहरूलाई यस पदमा राखेर त राष्ट्रपति पदकै गरिमा धूलीसात् हुनेछ । त्यसैले रामचन्द्रको अन्तिम इच्छा राष्ट्रपति भए पनि देशको अहिलेको पहिलो इच्छा भने रामचन्द्रको वनवास हो ।

  • प्रकाशित मिति : पुस १०, २०७९, आइतवार ०६:३९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८