पुस ९ ,२०७९
सरकार बनाउने दौडमा यतिबेला गठबन्धन आबद्ध दलहरु जसरी लागिपरेका छन्, एमालेको सक्रियता त्योभन्दा कम छैन । पहिलो दलबाट खुम्चिएर दोस्रो हुनुपरे पनि एमाले प्रतिपक्षमा बस्न तयार देखिएको छैन । पछिल्ला सार्वजनिक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीदेखि पार्टीका अन्य पदाधिकारी तहका नेताले दिएका अभिव्यक्तिबाट पनि एमाले गणितको खेलमा लागिरहेको बुझ्न गाह्रो छैन ।अझ केही दिन यता एमालेवृत्तबाट सार्वजनिक भइरहेका ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीचको भेटका केही तस्बिरले त एमाले पनि रणनीतिक दाउपेचमा सक्रिय रहेको प्रष्टै देखाएका छन् । जबकि हालैको चुनावमा जनताले उसलाई सरकारमा जाने म्यान्डेट नै दिएका छैनन् ।
त्यसो त नेकपा एमालेका लागि यसपालिको चुनाव निकै प्रतिकूल थियो । भयो पनि त्यस्तै । पाँच दल एकातिर हुँदा अर्कोतिर एमाले एक्लै उभिएर लड्नुपर्यो । परिणामतः एमाले पहिलोबाट दोस्रो दलमा खुम्चनुपर्यो । अहिले ऊ एक्लै सरकार बनाउने हैसियतमा त छैन नै । तेस्रो र चौथो दललाई फकाउँदा पनि सरकारको नेतृत्व पाउन मुस्किल छ । तर सत्ताको दौडधूप चलिरहँदा एमाले दर्शक मात्र भएर बसेको छैन ।उसलाई गाह्रो त कहाँ छ भने कांग्रेस नेतृत्वको मौजुदा गठबन्धन रहेसम्म एमालेले चाल्ने कुनै कदम सफल हुन सक्दैन । किनकि सरकार बनाउन चाहिने न्यूनतम अंक १३८ मा १३६ गठबन्धनसँगै छ । बाँकी २ मत स्वतन्त्र सांसदबाटै पाउन सक्छ । सत्ता गठबन्धनलाई गाह्रो छ त नेतृत्व कसले गर्छ भन्ने टुंगो लगाउन । किनकि प्रधानमन्त्रीमा गठबन्धमा रहेका कांग्रेस र माओवादी मात्र हैन एकीकृत समाजवादीले पनि दाबी गरेको छ ।
विशेषगरी माओवादी अध्यक्ष पुष्पकमल दाहालले यतिन्जेल कांग्रेस सभापति शेरबहादुर देउवालाई सघाएकाले अब पहिलो चरणमा आफू नै प्रधानमन्त्री हुनुपर्ने भन्दै अडान राखेका छन् । गठबन्धनभित्रको यही अफ्ठेरो बुझेको एमालेले यसैमा खेल्ने दाउ हेरिरहेको छ । उसले राष्ट्रपति पद आफूहरुले राख्ने शर्तमा दाहाललाई पहिलो चरणमा प्रधानमन्त्री बनाउन आफूहरु खुला रहेको प्रस्ताव पठाइसकेको छ । अहिलेको अंक गणितमा प्रधानमन्त्री पद जुनसुकै बेला तलमाथि हुन सक्ने भएकाले पनि एमालेले पाँच वर्ष कसैले हल्लाउन नसक्ने स्थायी पद अर्थात् राष्ट्रपतिमा आँखा लगाएको हो ।
कांग्रेस नेतृत्वको गठबन्धनको सहारामा चुनावमा होमिए पनि आशातीत परिणाम प्राप्त नभएको कुराले माओवादीभित्र असन्तुष्टि छ । आफूहरुकै कारण कांग्रेस पहिलो पार्टी बनेको र देउवाले अहिलेसम्म सरकार चलाउन पाएका हुन् भन्ने माओवादी नेताहरुको बुझाइ छ । त्यसको गुन तिर्न आफूलाई सरकारको चाबी सुम्पिनुपर्ने दाबी माओवादी नेताहरुले गरिरहेका छन् ।माओवादीमा पनि अध्यक्ष दाहाल र उपमहासचिव जनार्दन शर्मा मौजुदा गठबन्धनबाटै सत्ता हत्याउन चाहन्छन् भने महासचिव देव गुरुङ, उपमहासचिव वर्षमान पुनलगायत कांग्रेसको साथ फलदायी नभएको भन्दै बेग्लै समीकरण निर्माणको पक्षमा छन् । बरु बाम सरकारका लागि पहल गर्नुपर्ने उनीहरुको धारणा छ । यसका लागि उनीहरुले एमालेसँग छलफल र संवाद गरिरहेका छन् । यसमा एमालेका नेताहरु पनि उत्तिकै सक्रिय छन् ।
संघीय संसदमा दोस्रो ठूलो दल बनेको एमालेले प्रदेशमा पनि राम्रै सिट पाएको छ । प्रदेशमा पाएका ती मतलाई पनि खेर जान दिने पक्षमा एमाले नेतृत्व देखिएको छैन । अझ पछिल्ला राजनीतिक घट्नाक्रम, एमाले फुट लगायतका घटनामा राष्ट्रपति र सभामुख पदको तागत एमालेले राम्रोसँग बुझेको छ । त्यसैले प्रधानमन्त्री पद छाडेर भए पनि उसले सभामुख र राष्ट्रपतिजस्ता पदमा आँखा लगाएको हो ।यतिसम्म त ठिकै छ । तर अहिले नै सरकार बनाउने र गिराउने खेलमा एमाले लाग्नु भनेको जनादेशको विपरीत मात्र छैन, अनैतिक र अराजनीतिक पनि हुन्छ । यदि राजनीतिलाई स्वाभाविक गतिमा अघि बढाउने हो भने एमालेले पहिलो दलका रूपमा कांग्रेसलाई सरकारको नेतृत्व गर्न दिनुपर्छ । त्यसका निम्ति एमालेले या त कांग्रेसलाई समर्थन गर्नुपर्छ, नभए विपक्षी बेन्च रोज्नुपर्छ । तर माओवादीसँग सत्ता साझेदारी गर्नु एमालेका निम्ति मात्र होइन, देशकै निम्ति घातक सिद्ध हुनेछ ।
एमालेले तत्काल सत्तातिर आँखा लगाउने होइन, बरू संगठन सुदृढीकरण, जनसवालका मुद्दाको पैरवी अनि संसदमा प्रभावकारी भूमिका खेल्नेतर्फ उसले ध्यान केन्द्रित गर्नुपर्छ । न्यूनतम २ वर्ष धैर्य गर्ने हो भने एमालेले नचाहे पनि सरकारको नेतृत्व आइलाग्नेछ । जसरी यसअघि ६३ सिटको नेतृत्व गरिरहेका कांग्रेस सभापति शेरबहादुर देउवाको घरैमा गएर प्रचण्ड र माधव नेपालले प्रधानमन्त्री बनिदिन बिन्ती बिसाएका थिए ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८