मंसिर २७, २०७९
काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले एकतिर दुई शिकार गर्नेगरी अध्यादेश अगाडि बढाएका छन् । आइतबारको मन्त्रिपरिषद् बैठकले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ लाई संशोधन गर्न राष्ट्रपति कार्यालयमा अध्यादेश’ पठाएको छ ।मन्त्रिपरिषद् बैठकले संहिताको ११६ दफामा एउटा उपदफा थपेर संशोधनका लागि राष्ट्रपति कार्यालयमा अध्यादेश पठाएको हो ।
अध्यादेशको पृष्ठमूभि हेर्दा ०७२ मा टीकापुरमा हिंसात्मक घटनामा संलग्न रहेको अभियोगमा जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलयबाट दोषी ठहर भइ डिल्लीबजार कारागारमा आजीवन कैद सजाय काटिरहेका रेशम चौधरी र उक्त घटनामा संलग्न रहेका अन्य नेता, कार्यकर्ता रिहासँगै नेत्रविक्रम चन्द ‘विप्लव’ र सिके राउतका कार्यकर्तामाथिको मुद्दा फिर्ता हुने देखिन्छ । ०७२ भदौ ७ गतेको टीकापुर घटनामा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ प्रहरी र एक नाबालक मारिएका थिए ।
तर, प्रधानमन्त्री देउवाले यही मेसोमा सामूहिक हत्याका आरोपी कांग्रेस नेता मोहम्मद अफ्ताब आलमलाई समेत छुटाउन खोजेका हुन् ।०६४ को चुनावको अघिल्लो दिन आलमको योजनामा बम बनाउने क्रममा विस्फोट हुँदा केहीको मृत्यु भएको थियो घटना लुकाउन घाइतेहलाई इँटाभट्टामा राखेर जलाइएको थियो । घटनाको १२ वर्षपछि ०७६ मा प्रहरीले आलमलाई पक्राउ गरी मुद्दा चलाएकोमा उनी पुर्पक्षका लागि जेलमा छन् ।
के छ राष्ट्रपतिकहाँ पुगेको अध्यादेशमा रुफौजदारी कार्यविधि संहिताको दफा ११६ मा फिर्ता गर्न नमिल्ने मुद्दाको सूची छ । सोही दफामा ‘राजनीतिक प्रकृतिका मुद्दा भने फिर्ता गर्न सकिनेछ’ भन्ने प्रावधान राख्न लागिएको छ । अध्यादेशको उक्त संशोधित दफामा जुनसुकै तहको अदालतमा विचाराधीन मुद्दा फिर्ता गर्न सरकारलाई बाधा नपुग्ने उल्लेख छ ।
सरकारले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ दफा ११६ मा एउटा उपदफा थपे गरेर भनेको छ, ‘यस दफामा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै राजनीतिक दल वा समूहले मुलुकको विद्यमान राजनीतिक प्रणालीसँग असहमत रही हिंसात्मक क्रियाकलाप सञ्चालन गरिरहेकोमा त्यस्तो राजनीतिक दल वा समूह शान्तिपूर्ण राजनीतिको मूल धारमा आउन नेपालको संविधान र प्रचलित कानुनको अधीनमा रही शान्तिपूर्ण राजनीतिक क्रियाकलाप सञ्चालन गर्ने प्रतिबद्धता जनाई नेपाल सरकार र त्यस्तो राजनीतिक दल वा समूहबीच राजनीतिक प्रकृतिका सम्झौताको माध्यमबाट नेपाल सरकार वादी भई दायर भएका मुद्दा फिर्ता लिने गरी सहमति भएको रहेछ र त्यस्तो सम्झौताबमोजिम त्यस्ता राजनीतिक दल वा समूहका नेता तथा कार्यकर्ताका विरुद्धमा नेपाल सरकार वादी भई चलाइएका मुद्दा जुनसुकै तहको अदालतमा विचाराधीन रहेको भए पनि फिर्ता लिन बाधा पर्ने छैन ।’
त्यस्ता मुद्दा फिर्ता लिन जुनसुकै अदालतमा विचाराधीन रहेको भए पनि बाधा नपर्ने भनिएको छ।आइतबारको मन्त्रिपरिषद्ले स्वीकृत गरेको अध्यादेश प्रमाणीकरणका लागि सोमबार मात्र राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पठाइएको छ । राष्ट्रपतिले प्रमाणीकरण गरेमा मात्र यो अध्यादेश लागू हुनेछ ।सरकारले कैदीबन्दीलाई छुट दिने गरी ल्याएको अध्यादेशमा मानवअधिकार आयोगले चासो व्यक्त गरेको छ । आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरेर ‘अध्यादेश ल्याउने भन्ने समाचार प्रकाशित भएको र त्यसले आयोगको ध्यानाकर्षण भएको ’ उल्लेख छ ।‘आयोगले यस सम्बन्धमा यथार्थ विवरण माग गर्दै आज नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरेको छ,’ पत्रमा भनिएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८