• असोज ३१, २०८३, शनिवार Saturday, 17 October, 2026

पोर्चुगललाई हराउँदै मोरक्को सेमिफाइनलमा

  • खबरदाता

पोर्चुगललाई हराउँदै मोरक्को सेमिफाइनलमा

मंसिर २५,२०७९

 

अफ्रिकन टिम मोरक्को फिफा विश्वकप २०२२ कतारको सेमिफाइनलमा पुगेको छ।

शनिबार कतारको अल थुमामा रंगशालामा भएको क्वार्टरफाइनल भिडन्तमा पोर्चुगललाई १-० गोलले पराजित गर्दै मोरक्कोले अन्तिम चारमा स्थान बनाएको हो।

विश्वकपमा मोरक्को र अफ्रिकन महादेशको यो अहिलेसम्मकै उत्कृष्ट नजिता हो।

यसअघि अफ्रिकन टिमको विश्वकपमा उत्कृष्ट नतिजा क्वार्टरफाइनलमा मात्र पुग्नु थियो। यसअघि क्यामरुन, घाना र सेनेगलले अन्तिम आठमा पुगे पनि सेमिफाइनलमा पुगेर इतिहास बनाउन भने चुकेका थिए।

शनिबार खेलको ४२ मिनेटमा मोरक्कोले खेलमा अग्रता लियो। युसेफ इन नेस्स्रीले हेडमार्फत गोल गर्दै मोरक्कोलाई १-० गोलले अघि बढाएका थिए। उनलाई गोल गर्न अतियत अल्लाहले पास उपलब्ध गराएका थिए।

खेलमा पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो पहिलो हाफमा बेन्चमा राखिएको थियो। उनी खेलको ५१ मिनेटमा नेभेसको स्थानमा मैदान प्रवेश गरेका थिए। तर पनि उनको प्रभाव दोस्रो हाफमा पोर्चुगलको टिममा देख्न सकिएन। मैदान छिरेको १८ मिनेटसम्म उनले सात पटक मात्र बल छोएका थिए।

मोरक्कोविरुद्ध खेलेसँगै रोनाल्डोले सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमान बराबरी गरे। कुवेतका बडेर अल मुटवाको नाममा रहेको १९६ अन्तर्राष्ट्रिय खेलको कीर्तिमान रोनाल्डोले शनिबार बराबरी गरेका हुन्।

कीर्तिमानका बावजुद पोर्चुगल बाहिरिएपछि रोनाल्डोको विश्वकप जित्ने सपना भने चकनाचुर भएको छ।

खेलको अन्त्यतिर मोरक्को १० खेलाडीमा सीमित बनेको थियो। मोरक्कोका चेडिरा दोस्रो पहेँलो कार्ड पाउँदै मैदान छाड्न बाध्य भएका थिए।

मोरक्कोले अब फाइनल प्रवेशका लागि फ्रान्ससँग भिड्नेछ।

  • प्रकाशित मिति : मंसिर २५, २०७९, आइतवार ०६:३३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८