• वैशाख १२, २०८१, बुधवार Wednesday, 24 April, 2024

विश्वकप फुटबल : पोर्चुगल र मोरक्को क्वार्टरफाइनलमा

  • खबरदाता

विश्वकप फुटबल : पोर्चुगल र मोरक्को क्वार्टरफाइनलमा

मंसिर २१,२०७९

कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा पोर्चुगल क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

कतारको लुसइल रङ्शालामा भएको प्रि-क्वार्टरफाइनलको अन्तिम खेलमा स्वीट्जरल्याण्डलाई ६-१ गोलअन्तरले पराजित गर्दै पोर्चुगल क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

पोर्चुगलका लागि गोन्कालो रामोसले ह्याट्रिक गरे । उनले खेलको १७औँ, ५१औँ र ६७औँ मिनेटमा गोल गरे । त्यसैगरी खेलको ३३औँ मिनेटमा पेपे, ५५औँ मिनेटमा राफेल गुरेरियो र राफेल लियोले खेलको अतिरिक्त समयमा गोल गरेका थिए ।

स्वीट्जरल्याण्डका लागि ५८औंँ मिनेटमा म्यानुअल अकाञ्जीले एक मात्रै गोल फर्काएका थिए । अन्तिम आठमा पुगेको पोर्चुगलले मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ ।

यस्तै, स्पेनलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै मोरक्को विश्वकप इतिहासमै पहिलो पटक क्वार्टरफाइनलमा प्रवेश गरेको छ । गोलकिपर बोनोले पेनाल्टी सुटआउटमा दुई प्रहार जोगाएपछि मोरक्को कीर्तिमान रच्न सफल भएको हो । स्पेन भने लगातार दोस्रो विश्वकपमा पेनाल्टी सुटआउटको सिकार बन्यो ।

कतारको दोहास्थित एजुकेसन सिटी रंगशालामा निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटमा कुनै गोल नभएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टीमा मोरक्को ३-० ले जित निकाल्न सफल भयो । अफ्रिकाबाट अन्तिम आठमा मोरक्कोले मात्रै स्थान बनाएको छ ।

मोरक्कोका गोलकिपर बोनोले स्पेनका कार्लोस सोलर र कप्तान सर्जियो बुस्केट्सको प्रहार जोगाएका थिए । पाब्लो साराबियाको पहिलो पेनाल्टी प्रहार पोस्टमा लागेको थियो ।

मोरक्कोका अब्देसअहमद साबिरी र हकिम जियाचले गोल गरे । बदर बिनुनको प्रहार स्पेनिस गोलकिपर युनाई सिमोनले रोकेपनि अचरफ हकिमीले चौथो प्रहार गोल गरेपनि मोरक्को वि विजयी भएको थियो । पूर्व विजेताविरुद्ध मोरक्को डिफेन्सिभ खेलमा सफल भएको थियो ।

  • प्रकाशित मिति : मंसिर २१, २०७९, बुधवार ०७:३५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८