• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

प्रधानमन्त्री बन्न प्रचण्डको च्याँखे दाउ, कति सफल होला ?

  • खबरदाता

प्रधानमन्त्री बन्न प्रचण्डको च्याँखे दाउ, कति सफल होला ?

मंसिर १९, २०७९

 

काठमाडौँ । नेकपा माओवादी केन्द्रले निर्वाचनमा खासै मत पाउन सकेन । प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १७ सिटमा चित्त बुझाएको माओवादी केन्द्रले समानुपातिकतर्फ १२ लाख मत कटाउन सकेको छैन । जनादेश नपाएको त्यही पार्टीले प्रधानमन्त्री पदका लागि मोलमोलाइ सुरु गरेको छ । कांग्रेससँगको गठबन्धनमा रहेको माओवादीले नयाँ सरकार गठनका लागि सबै विकल्प खुला राख्ने निर्णय गरी मागेको पद नपाए एमालेसँग मिल्ने धम्की दिएको छ । माओवादी केन्द्रको च्याँखे दाउका कारण सरकार गठनमा हुन सक्ने मोलमोलाइको प्रारम्भिक संकेत देखिएका छन् ।

कांग्रेस, एकीकृत समाजवादी लगायत दलसँगको गठबन्धनका कारण माओवादीले अघिल्लो निर्वाचनको हाराहारीमै सिट जित्ने आकलन गरेको थियो । एमालेलाई त उसले चौथो दल बनाउने भनेको थियो । तर उसको बुझाइ गलत सावित भयो । मतदाताले माओवादीलाई रुचाएनन् । गठबन्धनका बाबजुद उसले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ मात्र १७ सिटमा सीमित हुनुपर्‍यो । यो संख्या २०७४ को निर्वाचनको तुलनामा आधाभन्दा कम हो । पार्टीका पदाधिकारीको शनिबार बसेको बैठकले परिणाम अनपेक्षित भएको निष्कर्ष निकालेको छ । कांग्रेसको मत ट्रान्सफर नभएकाले आफूले धेरै सिट गुमाउनुपरेको उसको बुझाइ छ ।

जनमतबाट खुम्चिनुपरे पनि माओवादीको च्याँखे दाउमा कुनै कमी आएको छैन । शनिबारको पदाधिकारी बैठकले नयाँ सरकार गठनका लागि एमालेलगायत दलसँगको छलफलका लागि विकल्प खुला राख्ने निर्णय गरेपछि राजनीतिमा नयाँ तरंग पैदा भएको छ । खासगरी आफूप्रतिको असन्तुष्टिस्वरुप माओवादी केन्द्रले एमालेसँग पनि सहकार्य गर्ने आशयको निर्णय गरेपछि कांग्रेस झस्किएको छ ।माओवादीको निर्णय बाहिरिएलगत्तै प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले आफ्ना विश्वासपात्र रहेका उपसभापति पूर्णबहादुर खड्कालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग कुरा गर्न पठाए । दाहालले खड्कालाई हालको सत्ता गठबन्धनबाहिर गएर सरकार गठनको कल्पना नगरेको भनेर आश्वस्त पार्न खोजे । तैपनि कांग्रेस ढुक्क हुन सकेको छैन ।

कांग्रेसले माओवादीको निर्णयलाई प्रधानमन्त्री पदको बार्गेनिङका रुपमा लिएको छ । साथै मुख्यमन्त्री र अरु शक्तिशाली पद जतिसक्दो धेरै हत्याउने च्याँखे दाउका रुपमा पनि माओवादी निर्णयलाई कांग्रेसले लिएको छ । त्यसो त कांग्रेसको बुझाइबारे माओवादी केन्द्र पनि जानकार नभएको होइन । कांग्रेस बिच्किएर आफूबिना एमालेसँग मिलेर सरकार गठन गर्ला भन्ने भय पनि माओवादी केन्द्रमा छ । त्यसैले दाहालले आइतबार पुनस् पदाधिकारीको बैठक राखेर कांग्रेसको साथ नछोड्ने सन्देश दिन खोजेका छन् । बैठकपछि पार्टी महासचिव देव गुरुङले एमालेसँग गठबन्धनबारे छलफल नै भएको छैन भने । जुन अघिल्लो दिन उपाध्यक्ष कृष्णबहादुर महराले सुनाएको निर्णयको खण्डन गर्ने प्रयास मात्र थियो ।

२४ घण्टाको अन्तरालमै नयाँ सरकार गठनलाई लिएर माओवादी केन्द्रबाट फरक धारणा आउनु कुनै आश्चर्यको विषय होइन । बरु जता बढी लाभ हुन्छ उतैतिर लहसिने उसको खास विशेषता हो र यसपालिको सत्ताको जोडघटाउमा सबैभन्दा चाँडो बिकाउ भएर माओवादी प्रस्तुत भयो भन्ने कुराको द्योतक हो ।माओवादी सत्ताभन्दा एक इन्च पनि पर बस्न चाहँदैन भन्ने घामजत्तिकै छर्लंग छ । सके आफ्नै नेतृत्वमा र नभए धेरै पद लिएर अरुको नेतृत्वमा सरकारमा जाने हुटहुटीले नराम्रोसँग माओवादी नेतृत्वलाई गाँजेको छ । शान्ति प्रकियामा आएको डेढ दशकमा बनेका १२ वटा सरकारमध्ये माओवादी केन्द्र १० पटक सरकारमा बसेर सत्ताको तर मार्न सफल भएको छ ।

यसबीचमा तीनपटक त उसले सरकारको नेतृत्व नै गर्‍यो । यसपटक उसले सरकारको नेतृत्व गर्ने तहको मत पाएकै छैन । प्रत्यक्षतर्फ जम्मा १० प्रतिशत मात्र सिट जितेको हो छ भने समानुपातिकतर्फ एमाले र कांग्रेसको तुलनामा आधाभन्दा कम मतमा चित्त बुझाउनुपरेको छ । जनादेश नपाए पनि नयाँ सरकारबारे आफ्नो धारणा सोमबारका लागि तय सत्ता गठबन्धनको बैठकमा राख्ने भनेको छ । यो भनेको अब प्रधानमन्त्रीका लागि आफ्नो पालो भनेर मोलमोलाइ गर्ने र नपाए एमालेसँग मिल्ने भनेर धम्काउने नै हो भन्ने कतै पनि लुकेको छैन, जुन उसको आधारभूत चरित्र नै हो ।

कुनै एउटा दलको बहुमत नआएको अवस्थामा दुई वा त्यसभन्दा बढी दल मिलेर सरकार गठन गर्नुको विकल्प छैन । त्यो अवस्थामा पद बाँडफाँड स्वाभाविकै हो । तर ताजा जनादेश नै आफ्नो प्रतिकूल आएको अवस्थामा नेतृत्वका लागि मोलमोलाइ गर्नु चरम असवरवाद हो । त्यसमाथि एउटासँग गठबन्धन गरेर जनतासँग मत माग्ने अनि अर्कोसँग गएर पदका लागि मोलमोलाइ गर्नु गठबन्धन अनैतिकताको पराकाष्ठा हो ।

  • प्रकाशित मिति : मंसिर १९, २०७९, सोमवार ०६:२८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८