• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

बाजुराको मतगणनामा मतान्तर बढाउँदै कांग्रेसका पाण्डे

  • खबरदाता

बाजुराको मतगणनामा मतान्तर बढाउँदै कांग्रेसका पाण्डे

मंसिर १७, २०७९

 

बाजुराको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । बुधवार साँझदेखि मतगणना शुरू भएको हो ।

पछिल्लो मतपरिणामअनुसार प्रतिनिधि सभामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले फराकिलो मतान्तर बनाएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार २३ हजार ७०४ मतगणना गर्दा पाण्डेले १२ हजार ७०५ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापाले १० हजार ५९ मत ल्याएका छन् ।

एमालेका उम्मेदवार थापाको गृहनगर बूढीगंगा नगरपालिका, त्रिवेणी नगरपालिका र स्वामीकार्तिक खापर गाउँपालिकाको मतगणना भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ ।

प्रदेशसभा क्षेत्र ९१० मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार नरेश शाहीले ७ हजार ५२५ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार बलदेव रेग्मीले ७ हजार २०७ मत प्राप्त गरेका छन् । प्रदेशसभा क्षेत्रको स्वामीकार्तिक खापर, जगन्नाथ गाउँपालिका र बूढीनन्दा नगरपालिकाको मतगणना सकिएको छ भने हिमाली गाउँपालिकाको मतगणना भइरहेको छ ।

प्रदेशसभा क्षेत्र ९२० मा कांग्रेसका उम्मेदवार पदमबहादुर शाहीले ९ हजार २२ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार लालबहादुर थापाले ७ हजार ४४७ मत प्राप्त गरेका छन् । एमालेका उम्मेदवार थापाले कांग्रेसका उम्मेदवार शाहीलाई १ हजार ५७५ मतले पछ्याइरहेका छन् ।

 

एमालेका उम्मेदवार थापा विक्रम संवत् २०७४ सालको प्रतिनिधि सभामा निर्वाचित भएका थिए । वाम गठबन्धनबाट प्रतिनिधिसभाका उम्मेदवार बनेर संघीय संसद्का सदस्य बनेका थापा २०७९ सालको निर्वाचनमा प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनेका हुन् ।

 

  • प्रकाशित मिति : मंसिर १७, २०७९, शनिवार १२:३६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८