• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

एक करोड मत गणना, नेकपा एसलाई राष्ट्रिय दल बन्न सकस!

  • खबरदाता

एक करोड मत गणना, नेकपा एसलाई राष्ट्रिय दल बन्न सकस!

मंसिर १४, २०७९

 

मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना जारी छ।

बुधबार बिहान ९ बजेसम्म प्रतिनिधि सभाका १६५ क्षेत्रमध्ये १६१ क्षेत्रको अन्तिम परिणाम आइसकेको छ। अझै ४ क्षेत्रको मतपरिणाम आउन बाँकी छ। जसमध्ये ३ क्षेत्रको गणना हुन अझै सकेको छैन। गणना भइरहेको सुनसरी ४ मा नेपाली कांग्रेसले अग्रता लिएको छ।

यस्तै प्रतिनिधि सभाको समानुपातिकतर्फ कुल १ करोड ८ हजार ३०२ मत गणना हुँदा नेकपा एमालेको अग्रता कायमै छ।

एमालेले २६ लाख ९६ हजार ५७५ मत प्राप्त गरी पहिलो स्थानमा रहँदा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २५ लाख ५३ हजार ९४ मत प्राप्त गरेको छ। त्यसैगरी नेकपा माओवादी केन्द्रले ११ लाख ४३ हजार ८९४ मतका साथ तेस्रो स्थानमा रहेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९८ हजार २७५ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ७० हजार ६५४ मत पाएको छ।

जनता समाजवादी पार्टी, नेपालले ३ लाख ८९ हजार १९७ मत र जनमत पार्टी ३ लाख ४९ हजार ३५२ प्राप्त गरेको छ।

यस्तै नेकपा एकीकृत समाजवादी २ लाख ८२ हजार २६२ मतका साथ राष्ट्रिय दल बन्न संघर्ष गरिरहेको छ।

नागरिक उन्मुक्ति पार्टीले २ लाख ५० हजार ५९ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १ लाख ४८ हजार ५७ मत प्राप्त गर्दा अन्य दलले एक लाख मत कटाउन सकेका छैनन्।

यो निर्वाचनमा जम्मा १ करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता थिए । त्यसमध्ये ६१ प्रतिशत अर्थात् करिब १ करोड नौ लाख हाराहारीमा मत खसेको थियो ।

राजनीतिक दल सम्बन्धी ऐनमा प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ खसेको सदर मतको कम्तीमा तीन प्रतिशत मत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने उल्लेख छ ।

प्रतिनिधिसभामा एक सिट प्रत्यक्षसहित समानुपातिकतर्फ कम्तीमा तीन लाख हाराहारी मत प्राप्त गर्ने दलले मात्रै यस निर्वाचनमा राष्ट्रिय दलको मान्यता पाउने देखिन्छ ।

  • प्रकाशित मिति : मंसिर १४, २०७९, बुधवार १०:०९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८