• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

चुनावको मुखमा विश्व बैंक देउवा सरकारको बचाउमा उत्रियो

  • खबरदाता

चुनावको मुखमा विश्व बैंक देउवा सरकारको बचाउमा उत्रियो

कात्तिक  १५, २०७९

 

बैंकमा गए ऋण पाइँदैन । अन्य सहकारी तथा वित्तीय संस्थाले निक्षेपकर्ताको रकम फिर्ता दिन छाडिसके । मुलुकमा केही वस्तुमा आयात प्रतिबन्ध लगाउँदा पनि व्यापार घाटाको पहाड चुलिएको छ । निर्यात ३५ प्रतिशतले तल झर्नुले मुलुकमा उत्पादनमूलक गतिविधि ठप्प भएको पुष्टि गर्छ । घरजग्गा र सेयर कारोबार डामाडोल छ । कतिपय व्यवसायीले आत्महत्याको बाटो समाइरहेका छन् । सोझो हातले कमाइ नहुने भएपछि व्यापारीहरू राज्य संयन्त्र र नीति कब्जा हातमा लिन राजनीति कब्जा गर्दै छन् । राजनीतिक दल र विशेष गरी सत्ताको नेतृत्वकर्ता कांग्रेस आफ्नै हात जगन्नाथ शैलीमा राज्यको ढुकुटी बाँडेर भोट किन्न उद्धत देखिएको छ । यस्तै बेलामा विश्व बैंक देउवा सरकारको बचाउ गर्दै देशमा सबै ठीकठाक भएको विज्ञप्ति निकालिरहेको छ ।

विश्व बैंकको हालै सार्वजनिक ‘नेपाल डेभलपमेन्ट अपडेट, २०२२’ प्रतिवेदनमा पाँचवटा आधारहरू देखाएर नेपाल श्रीलंकाजस्तो नहुने उल्लेख गरिएको छ ।गएको असारमा श्रीलंकाका तत्कालीन प्रधानमन्त्री रनिल विक्रमासिंधेले मुलुकको अर्थतन्त्र पूर्ण रूपमा टाट पल्टिएको घोषणा गरेका थिए । उनले संकटपूर्ण अर्थतन्त्र सुधारका लागि अन्तर्राष्ट्रिय मुद्राकोषलगायत संघसंस्थालाई सहयोगको लागि आह्वानसमेत गरेका थिए ।

शोधनान्तर घाटा बढ्दै गएको तथा विदेशी विनिमय संचिति घट्दै गएकोलगायत तथ्यांकको आधारमा नेपाल पनि श्रीलंकाको पथमा रहेको विश्लेषण स्वतन्त्र अर्थशास्त्रीहरूले गर्दै आएका छन् । तर, विश्व बैंकले ‘नेपाल श्रीलंका नहुने’ भनेर बारम्बार देउवा सरकारको भरथेगमा विज्ञप्ति निकालिरहेको छ । यसअघि वैशाखमा सार्वजनिक अर्धवार्षिक प्रतिवेदनमा पनि विश्व बैंकले नेपालको अर्थतन्त्र संकटमा नरहेको र संकट आउनेवाला अवस्था समेत नभएको उल्लेख गरेको थियो ।

विश्व बैंकले नेपालमा विदेशी विनियम संचिति पर्याप्त रहेको, सार्वजनिक ऋण तिर्न सकिने किसिमको भएको, आन्तरिक ऋण जिडिपीको अनुपातमा थोरै भएको, खनिज ऊर्जामाथिको निर्भरता तुलनात्मक रूपमा न्यून रहेको र अन्तर्राष्ट्रिय मुद्रा कोषको कार्यक्रमहरू सञ्चालनमा रहेको भन्दै नेपाल श्रीलंका जस्तो टाट नपल्टने विश्लेषण गरेको हो ।

विश्व बैंक नेपालकी वरिष्ठ अर्थशास्त्री एलिस जोन ब्रुक्सले प्रतिवेदन प्रस्तुत गर्दै नेपाल श्रीलंका जस्तो नबन्ने बताइन् । ‘नेपालको सार्वजनिक ऋण जिडिपीको ४१ प्रतिशत मात्रै छ, आन्तरिक ऋण पनि जिडिपीको तुलनामा २२ प्रतिशत मात्रै छ जुन न्यून हो, खनिज ऊर्जामा परोनिर्भरता न्यून छ, जैविक ऊर्जामा निर्भरता ७२ प्रतिशत छ, नेपालको विदेशी विनिमय संचिति ६।९ महिनालाई धान्ने गरी पर्याप्त छ र नेपालमा अन्तर्राष्ट्रिय मुद्रा कोषको कार्याक्रमसमेत रहेको छ’ उनले भनिन्, ‘त्यसैले नेपाल श्रीलंका जस्तो बन्दैन ।’विश्व बैंकको पछिल्लो विज्ञप्ति यस्तो समयमा आएको छ, जतिखेर उसका केही कन्सल्ट्यान्ट मिलेर कांग्रेसको घोषणापत्र बनाइदिएका छन् ।

  • प्रकाशित मिति : कात्तिक १५, २०७९, मंगलवार ०६:२५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८