• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

चोलेन्द्रलाई रोक्न गठबन्धनलाई हम्मे, प्रतिनिधि सभा लम्ब्याउन असफल भएपछि नयाँ उपाय खोजिँदै

  • खबरदाता

चोलेन्द्रलाई रोक्न गठबन्धनलाई हम्मे, प्रतिनिधि सभा लम्ब्याउन असफल भएपछि नयाँ उपाय खोजिँदै

भदौ  २७,२०७९

प्रतिनिधि सभाको कार्यकाल सकिएपछि पनि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरूद्धको महाभियोग अनिर्णीत रहेमा के गर्ने भन्ने प्रश्नले यतिखेर सत्ता गठबन्धनको मथिंगल हल्लिएको छ । असोज १ मा प्रतिनिधि सभाको कार्यकाल सकिने र विचाराधीन महाभियोग प्रस्ताव पनि निष्क्रिय हुने भएकाले राणाविरुद्धको महाभियोग त्यसअगावै निष्कर्षमा पुर्‍याउन दलहरुमाथि दबाब छ । त्यसैले महाभियोग स्वतः निष्कृय हुन नदिन अनेक उपायको खोजी भइरहेको छ ।

अब असोज १ पछि प्रतिनिधि सभा कायम नरहनेमा कुनै दुविधा छैन । नयाँ जनप्रतिनिधि नआउन्जेल अहिलेकैलाई कायम राख्न ऐन नै ल्याउन खोजे पनि त्यसको व्यापक विरोध भएपछि सरकार पछि हटिसकेको छ । अब प्रतिनिधि सभा नरहने भएपछि त्यहाँ विचाराधीन रहने विधेयक पनि स्वतः निष्क्रिय हुनेछन् ।

हुन त विधेयक निष्क्रिय भए पनि महाभियोग निष्क्रिय हुन्छ कि हुँदैन भन्नेमा थरीथरी मतमतान्तर कायमै छन् । एकथरीले महाभियोग प्रस्ताव विधेयकभन्दा पनि कमजोर हुने भएकाले प्रतिनिधि सभाको कार्यकाल सकिएसँगै स्वतः शून्यमा परिणत हुने तर्क राखेका छन् । तर कतिपयले महाभियोग झन् गम्भीर विषय भएकाले जनप्रतिनिधि नरहँदैमा त्यसै नसकिने र नवनिर्वाचित सभालाई हस्तान्तरित हुन सक्ने जिकिर गरिरहेका छन् ।

यही अन्योलका बीच सत्ता गठबन्धन र खासगरी सरकारी पक्षले महाभियोगको अन्योल कायम नरहने गरी प्रतिनिधि सभाको कार्यकाल सकिनुअगावै निर्णयमा पुर्‍याउने भित्रभित्रै गृहकार्य गरिरहेको छ । यसका लागि कानुनमन्त्री गोविन्द बन्दीसहित केही मन्त्री, सांसद र महान्यायाधिवक्ता खम्म खाती दिनहुँजसो छलफलमा छन् । महाभियोग अलपत्र छोडेर संसद अन्त्य गर्दा सत्तारुढ दलकै लागि प्रत्युत्पादक हुने निष्कर्षसाथ भदौ ३० भित्रै यो विषय टुंगोमा पुर्‍याउने प्रयासमा बालुवाटार पनि जुटेको हो ।

समयको दबाब रहेकै कारण आइतबार संसदको महाभियोग सिफारिस समितिले राणासँग अरु दिनभन्दा बढी प्रश्न सोधेको थियो । अहिलेसम्म ३५ वटा प्रश्न सकिएका छन् । समितिले बयान सँगसँगै प्रतिवेदन लेखनको तयारी पनि गर्दैछ । अर्को बैठक भदौ २८ गते बस्ने र त्यही दिन बयान सकेर अरु पक्षहरुसँग सोधपुछ तथा प्रमाणको मूल्यांकन गर्ने तयारी छ ।

महाभियोग सिफारिस समितिले संसदमा दर्ता गरेको प्रस्ताव पारित हुन प्रतिनिधिसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको कम्तीमा दुई तिहाइ आवश्यक पर्छ । अहिलेसम्म एमाले राणाको बचाउमा देखिएको छ । एमालेबिना दुईतिहाइ बहुमत पनि पुग्दैन । तर मतदानमै लगेमा चुनावको मुखमा राणाजस्तो विवादित पात्रका पक्षमा उभिएर एमालेले जनमत गुमाउने अलोकप्रिय काम गर्ने छैन भन्ने सत्तापक्षको बुझाइ छ । अर्थात् महाभियोग पारित भए आफ्नो तागतले भन्ने र नभए एमालेले जोगायो भन्ने सत्तापक्षको चाल देखिन्छ ।

महाभियोग पारित भए मात्र राणा तत्काल पदबाट मुक्त हुनेछन् । त्यसपछि राणाले पदीय हैसियतमा पाउने कुनै सुविधा र भविष्यमा सार्वजनिक पद पनि पाउने छैनन‍‍् । महाभियोग पारित भएपछि अख्तियार, सम्पत्ति शुद्धिकरणलगायतका अन्य निकायलाई समेत राणामाथि छानबिन गर्न दबाब पर्नेछ ।महाभियोगको टुंगो नलागेमा विवादित छविका प्रधानन्यायाधीशको अदालतमा पुनरागमन हुन सक्नेछ । मंसिर अन्तिम साता मात्र उनी ६५ वर्षे उमेर हदका कारण अवकाश पाउनेछन् । लगभग तीन महिना उनी प्रधानन्यायाधीशको कुर्सीमा बस्न सक्नेछन् ।

तर महाभियोग लागेको राणाको फिर्तीले न्यायालयको साखमा फेरि धब्बा लाग्नेछ । महाभियोग अलपत्र परे दलहरुको निर्णय क्षमतामाथि पनि सदाका लागि प्रश्न उठिरहनेछ । उनीहरुले न्यायालयमा सुधारको कुरा गरे पनि विवादितलाई प्रश्रय दिइरहेको नजिर स्थापित हुनेछ । अझ चुनावको मुखमा यही विषय अब भोटको राजनीतिका लागि मुख्य मुद्दा बन्न सक्नेछ ।

त्यसो त राणा अदालत फर्किए पनि नियमित काम गर्न भने चुनौतीपूर्ण नै हुनेछ । महाभियोगअघि बार र बेन्चको अवरोध सहेका राणाले महाभियोग सिफारिस समितिमा दिएको बयानले झन् उनीहरु चिढिएका छन् । त्यसैले उनको पुनरागमन सहज भने छैन । राणामाथि न्यापालिकामा भ्रष्टाचारलाई संस्थागत गरेको, सत्तासँग भागबण्डा खोजेकोलगायतका आरोप छन् ।

यी गम्भीर आरोपसहितै राणा इजलासमा बस्दा त्यतिखेर राजनीतिक दलहरुको अकर्मण्यता झनै छताछुल्ल हुनेछ । त्यसैले सत्ताधारी दल प्रतिनिधि सभाको कार्यकाल सकिनुअगावै निलम्बित प्रधानन्यायाधीश राणामाथिको महाभियोग प्रस्ताव सके सदनबाटै पारित गर्ने र नभए अर्को कुनै उपायबाट भए पनि महाभियोग जीवित राख्ने उपायको खोजीमा लागेका हुन् ।

  • प्रकाशित मिति : भदौ २७, २०७९, सोमवार ०६:२४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८