भदौ २५,२०७९
सरकारले सामाजिक सुरक्षा कार्यक्रम लागू गरेको स्वास्थ्य बीमा कार्यक्रमप्रति यहाँको भरतपुर अस्पतालमा आकर्षण बढ्दै गएको छ । अस्पतालमा विसं २०७४ भदौ १ गतेबाट बीमा कार्यक्रम लागू भएको हो ।
सरकारले नेपालमा विसं २०७२ मा कार्यक्रम सुरु गरेको थियो । भरतपुर अस्पतालले बीमा कार्यक्रमलाई मुख्य प्राथमिकतामा राखेसँगै यो कार्यक्रम सेवाग्राहीका माझ लोकप्रिय बन्दै गएको छ । अस्पतालमा आउने ७० प्रतिशतभन्दा बढी बिरामी बीमाका हुने गरेका छन् । त्यसो त अस्पतालले कार्यक्रम लागू गरेको पाँच वर्ष पुग्दै गर्दा रु ९३ करोड ५८ लाख ९५ हजार बीमा दाबी भुक्तानी लिएको छ ।
अस्पतालको स्वास्थ्य बीमा कार्यक्रमका संयोजक लिलाधर पौडेलका अनुसार पछिल्ला वर्षहरुमा बीमा दाबी रकम बढेको छ । यस आर्थिक वर्षको साउन यता मात्रै अस्पतालले रु १३ करोड ३२ लाख ४३ हजार दाबी भुक्तानी पाएको छ । गत आर्थिक वर्षमा अस्पतालले रु ३० करोड ७९ लाख ७४ हजार दाबी भुक्तानी लिएको थियो । बीमामा बिरामीको आकर्षण बढेकै कारण सङ्ख्या थपिएर दाबी भुक्तानी रकम बढेको हो ।
पौडेलले भने , “दाबी गरिएका अधिकांश फाइल सदर भएर धेरै रकम पाउने भरतपुर अस्पताल पहिलो हो”, स्वास्थ्य बीमा बोर्डबाट हालसम्म चार सय ५० अस्पतालमा भुक्तान भएकोमध्ये सबैभन्दा बढी रकम भरतपुर अस्पतालमा आएको छ । बिरामीको उपचारपछि रकम दाबी गर्ने गरिन्छ । अस्पतालको बीमा शाखामा दक्ष कर्मचारी राखेर निरन्तर दाबी भुक्तानीका लागि काम गरिएको अस्पतालले जनाएको छ ।
स्वास्थ्य बीमा कार्यक्रम सेवाग्राहीको माझ प्रभावकारी र गुणस्तरीय बनाउन स्वास्थ्य बीमा बोर्डले बीमाको नीति पृथक बनाएर नियमन गर्नुपर्ने पौडेलको सुझाव छ । उहाँले सेवाप्रदायक संस्थाले पनि आफ्नो संस्थाको आन्तरिक व्यवस्थापनलाई चुस्त बनाई उपकरण र जनशक्ति थप गर्दै लैजानुपर्ने बताए ।
स्वास्थ्य बीमाको पहिलो विन्दु भरतपुर अस्पताल बनाउने चितवनसहित नवलपुर, धादिङ, गोरखा, तनहुँ, मकवानपुरका समेत रहेका छन् । रिफर भएर आउने बिरामी यी सहित २२ जिल्लाभन्दा बढीका हुने गरेका छन् । अधिकांश बिरामी स्वास्थ्य बीमामार्फत सेवा लिन उच्च महत्वकांक्षाका साथ आउने गरेको पौडेलको भनाइ छ । उनले भने , “सरकारी भरतपुर अस्पतालमा विशेषज्ञ चिकित्सकको सङ्ख्या बढी रहेको र सेवाप्रति आकर्षण बढी हुने गरेकाले दैनिक निकै बिरामी आउने गर्दछन् ।” बिरामीको उच्च चाप र न्यून जनशक्तिका कारण बीमाका सबै बिरामीले सोचेजस्तो सेवा लिन भने सकेका छैनन् । अस्पतालमा दैनिक दुई हजारसम्म बहिरङ्ग सेवामा बिरामी आउने गर्दछन् ।
अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा डा कृष्णप्रसाद पौडेलले बीमा शाखामार्फत गरिएका मेहनत र प्रयासका कारण अस्पतालको स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्न सफल भएको बताए । उनले भने , “साउन लागेपछि मात्रै सबैभन्दा बढी रकम भरतपुर अस्पतालले पाउनुमा यहाँका सेवाप्रदायक चिकित्सक, नर्स र कर्मचारीको भूमिका महत्वपूर्ण छ ।” यसरी लाग्नेलाई संस्थागत रुपमा अस्पतालले सधैँ सम्मान गर्ने भन्दै उहाँले अस्पतालमा ओएनएम सर्वेअनुरुपको जनशक्ति प्राप्त भएसँगै कुनै समस्या नरहने गरी गुणस्तरीय सेवा दिन सकिने बताए ।
छ सय शय्याको अस्पतालमा नेपाल सरकारका एक सय ७५ कर्मचारी रहेका छन् । बाँकी अस्पताल विकास समितिले धान्दै आएको छ । ओएनएम सर्वेअनुसार एक हजार ८५ कर्मचारी नेपाल सरकारका हुनुपर्दछ । अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारी सेवाग्राहीलाई सोचेजस्तो सेवा अझै दिन नसकिएको भन्दै उनले क्रमशः सेवामा गुणस्तरीयता वृद्धि गरिँदै लगिने बताए । विगतको तुलनामा बिरामीले राम्रो सेवा पाउँदै गएको भन्दै उनले जनशक्तिका कारण अस्पतालले चाहे जति गर्न नसकेको बताए । बीमा कार्यक्रम अस्पताल सञ्चालनको मुख्य मेरुदण्ड भएको भन्दै उहाँले थप व्यवस्थित बनाउनुपर्ने बताए ।
स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाले भरतपुर अस्पतालको बीमा कार्यक्रम राम्रो रहेको बताए । अस्पतालले बीमा दाबी गर्दा आवश्यक कागजात पुर्याएर गरेकाले दाबी गरिएका अधिकांश फाइल सदर हुँदा धेरै रकम लिन सफल भएको उहाँले बताए । पछिल्ला वर्षहरुमा अस्पतालको गुणस्तरमा सुधारसँगै बढेका बीमाका बिरामीले राम्रो सेवा पाएको बसौला बताउछन । बोर्डले स्थापना भएपछि हालसम्म रु २४ अर्ब निकासा गरेकोमा सरकारी सेवा प्रदायक सबैभन्दा धेरै रकम भरतपुर अस्पताल गएको उनले जानकारी दिए ।
बोर्डले साउनमा चार सय ५० अस्पताललाई रु दुई अर्ब ६७ करोड भुक्तानी गर्दा भरतपुर अस्पताललाई रु १३ करोड बढी पठाएको छ । बोर्डले सेवालाई व्यवस्थित गर्दै असारसम्मको बाँकी रकम एक महिनाभित्रमा भुक्तानी गर्ने गरी काम गरिरहेको बसौला बताउछन । असारसम्म अस्पतालले भुक्तानी पाउनुपर्ने रकम रु दुई अर्ब ५० करोड हाराहारी छ । स्वास्थ्य बीमा कार्यक्रममा ६० लाख सदस्य बनिसकेका छन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८