• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

कप्तान सन्दीपमाथि लागेका आरोप र अनुसन्धानले नेपाली क्रिकेटलाई कति क्षति ?

  • खबरदाता

कप्तान सन्दीपमाथि लागेका आरोप र अनुसन्धानले नेपाली क्रिकेटलाई कति क्षति ?

भाद्र २३, २०७९

 

छोटो समयमै अन्तर्राष्ट्रिय क्रिकेटमा सफलताको लोभलाग्दो छलाङ मारेका क्रिकेटर एवं नेपाली राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछाने नाबालिग बलात्कार प्रकरणमा अनुसनधानमा तानिएका छन् । भदौ ५ गते राति काठमाडौंको एक होटलमा आफूलाई बलात्कार गरेको भनी १७ वर्षीया किशोरीले प्रहरीमा जाहेरी दिएपछि लामिछाने अनुसन्धानको घेरामा परेका हुन् । काठमाडौँको एक छात्रावासमा बस्ने र १२ कक्षा पढ्ने ती किशोरी लामिछानेसँग सामाजिक सञ्जाल स्न्यापच्याटमार्फत् नजिकिएकी थिइन् । लामिछानेको व्यक्तित्वबाट प्रभावित भई भेट्ने इच्छा राखेपछि उनले बोलाएर एक होटलमा लगी मदिरामा लठ्याएर आफूमाथि अपराध गरेको ती किशोरीको आरोप छ ।सन्दीप अहिले क्यारेबियन लिग खेल्ने क्रममा वेस्ट इन्डिजमा छन् ।

नेपालले केन्यासँगको टी-२० अन्तर्राष्ट्रिय शृंखला जितेपछि सन्दीप एक दिवसीय शृंखलामा सहभागी नभएर वेस्ट इण्डिज गएका थिए । उनलाई प्रहरीले स्वदेश झिकाउने प्रक्रिया अघि बढाएको छ । यद्यपि अहिलेसम्म लामिछानेका तर्फबाट कुनै प्रतिक्रिया सार्वजनिक भएको छैन ।उत्कृष्ट लेग स्पिनर‌ सन्दीप लामिछानेमाथि लागेको यस आरोपले नेपाली क्रिकेट मात्र तरंगित बनेको छैन, देश र विदेशमा रहेका उनका शुभचिन्तकलाई पनि स्तब्ध तुल्याएको छ ।

क्रिकेट संघले उनको निलम्बनबारे छलफल चलाए पनि अनुसन्धानको आगामी प्रक्रिया पर्खने जनाएको छ । तर प्रहरी अनुसन्धान र अदालती प्रक्रियामा लाग्ने समयका कारण यसबीचमा लामिछानेले धेरै खेल गुमाउनेछन् । नेपाली क्रिकेट पनि एकदिवसीय मान्यता जोगाउनुपर्ने चुनौतीपूर्ण घडीमा रहेका बेला कप्तान नै गम्भीर अपराधको अनुसन्धानमा तानिएपछि ठूलो संकटमा फसेको छ ।सन्दीपविरूद्ध गम्भीर अपराधको आरोप लागेपछि नेपाल क्रिकेट संघ आन्तरिक छलफल‌मै छ । घटनाको अनुसन्धानमा प्रहरीलाई सहयोग गर्ने क्यानको प्रतिक्रिया छ । बुधबार उनलाई निलम्बन गर्नेबारे पनि क्यानमा छलफल भएको थियो । तर प्रहरीले आधिकारिक रुपमा केही जानकारी नगराएकाले आगामी प्रक्रिया र अनुसन्धानको नतिजा पर्खने निर्क्योलमा क्यान पदाधिकारी पुगेका छन् ।

ज्ञानेन्द्र मल्ललाई हटाएर राष्ट्रिय टोलीको कप्तानी सुम्पेको ९ महिना नपुग्दै लामिछानेमाथि गम्भीर अपराधको बात लागेपछि क्यानले नराम्रो धक्का महसुस गरेको छ । किनभने नेपाल एक दिवसीय मान्यता जोगाउनुपर्ने चुनौतीपूर्ण चरणमा छ । विश्व कप लिग(२ को महत्त्वपूर्ण खेलनजिक छ। अनि लामिछाने नेपाली टिमका प्रमुख बलर हुन् । उनीमाथिको आरोप पुष्टि होला नहोला तर अब अनुसन्धान तथा अदालती प्रक्रियाकै कारण पनि नेपाली टिमले उनलाई तत्काल पाउने सम्भावना क्षीण हुँदै गएको छ । जुन नेपाली टिमको लागि अत्यन्त घातक हुन सक्छ ।त्यसो त यो घटना भएको हो भने समय हेर्दा बन्द प्रशिक्षण चलिरहेको अवधि देखिन्छ । बन्द प्रशिक्षणमा खेलाडीहरू यसरी सहजै बाहिर निस्किन पाउँदैनन् । बन्द शिविरमै रहँदा उनी कसरी बाहिर निक्लिए भन्ने प्रश्न पनि उठेको छ। क्यानले यस विषयमा व्यवस्थापनसँग सोधपुछ गर्ने जनाएको छ।यसमा अनुसन्धान हुँदै जाला । तर अब यस प्रकरणले नेपाली क्रिकेटसँगै व्यक्तिगत रूपमा लामिछानेको विश्व क्रिकेटमा संलग्नता पनि तोडिन सक्नेछ । क्यारेबियन लिगसँगै युएईमा हुने टी ट्वान्टी लिगमा पनि अनुबन्धित भइसकेका उनका लागि यी अवसरहरु सदुपयोग गर्न अब मुस्किल हुँदै जानेछन् ।

सन्दीपले पोस्टर ब्वाइको रूपमा विश्व क्रिकेटमा नेपाललाई चिनाए । विश्व चर्चित लिग खेले । इण्डियन प्रिमियर लिग खेल्ने पहिलो नेपाली बने । नेपाली क्रिकेटको बलिङमा उनका नाममा धेरै कीर्तिमान छन् । नेपालको लागि सर्वाधिक विकेट लिने खेलाडी पनि उनै हुन् । यसले नै उनी क्रिकेटमा हुनु र नहुनुको अवस्थालाई दर्शाउँछ ।

  • प्रकाशित मिति : भदौ २३, २०७९, बिहीवार ०६:१७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८