भदौ २२, २०७९
राज्यका सबै निकाय कब्जा गरी प्रचण्ड अधिनायकत्व कायम गर्न लागिपरहेको माओवादी सर्वोच्च अदालतमा घूसपैठ गर्न खोजेको १६ वर्षपछि बल्ल सफल भएको छ । मंगलबार न्याय परिषदले सर्वोच्च अदालतमा ३ न्यायाधीश सिफारिस गर्दा त्यसमा एकजना माओवादी कार्यकर्ता पनि परेका छन् ।
मंगलबार परिषदले उच्च अदालतका मुख्य न्यायाधीश नीता गौतम दीक्षित र न्यायाधीश विनोद शर्माका साथै नेपाल ल क्याम्पसका प्रमुख डीएन पराजुलीलाई पनि सर्वोच्चको अदालतमा सिफारिस गरेको छ । पराजुली क्याम्पस प्रमुख पनि माओवादी कोटाबाटै नियुक्त भएका थिए । कानुन संकायमा उनीभन्दा कैयन् योग्य र वरिष्ठ प्राध्यापकहरु हुँदाहुँदै योग्यता र वरीयतामा खास नदरिएका पराजुलीलाई माओवादीको चित्त बुझाउनकै लागि सत्ता गठबन्धनले भाग दिएको बुझ्न गाह्रो छैन ।
यसअघि देव गुरुङ कानुनमन्त्री हुँदा सर्वोच्चमा माओवादी घुसाउने प्रयास भएको थियो । बाहिरबाट माओवादी भनेर चिनिएका व्यक्तिलाई घुसाउन सफल नभए पनि सर्वोच्चकै तत्कालीन न्यायाधीश खिलराज रेग्मीसँग भने माओवादीको अस्वाभाविक हिमचिम देखिन्थ्यो । माओवादीले उनलाई रोलक्रमबाट माथि तानेर प्रधानन्यायाधीश बनाउने प्रयास पनि नगरेको होइन । मीनबहादुर रायमाझी, अनुपराज शर्मा र रामप्रसाद श्रेष्ठलाई उछिनेर रेग्मीलाई प्रधानन्यायाधीश बनाउने प्रयास तत्कालीन अदालतभित्रैको शक्ति सन्तुलनका कारण असफल भएको थियो । पछि माओवादीकै प्रस्तावमा रेग्मी प्रधानन्यायाधीश छँदै अन्तरिम चुनावी मन्त्रिपरिषदका अध्यक्ष बन्न सफल भएका थिए ।
त्यसपछि माओवादीले कानुन व्यवसायी तुल्सी भट्टलाई पनि सर्वोच्चको न्यायाधीश बनाउन अनेकन कसरत गरेको थियो । तर त्यसमा एमाले र कांग्रेसको असहयोगका कारण सम्भव भएन । बरु माओवादीले पदम वैदिकलाई आफ्नो कोटाबाट न्याय परिषदको सदस्यका रुपमा घुसाएको थियो । पछि उनले सर्वोच्चको न्यायाधीश बन्ने लोभमा पूरा कार्यकाल नखाई राजीनामा दिए । तर उनलाई न्यायाधीश बनाउन माओवादीले सकेन ।
यसबीचमा दीनमणि पोखरेलको नाम बढी चर्चामा थियो । गठबन्धनले माओवादीलाई न्यायाधीश पद दिन चाहेको तर माओवादीले योग्य उम्मेदवार अघि सार्न नसकेको भनेर चर्चा भइरहँदा दीनमणिवक नाम चर्चामा ल्याइएको थियो । तर माओवादीका धेरै वकिललाई आश्चर्यमा पार्दै डीएन पराजुलीले बाजी मारेका छन् ।यस घटनाले कामु प्रधानन्यायाधीश दीपककुमार कार्की पनि माओवादीपरस्त हुन् कि भन्ने ठाउँ दिएको छ । किनभने सर्वोच्चमा २ जना न्यायाधीशभित्रैबाट सिफारिस हुँदा एक मात्र बाहिरबाट छानिएकामा माओवादीले भाग पाएका छन् । फेरि यस्तो समयमा यो सिफरिस गरिएको छ कि संसदीय सुनुवाइ पनि हुन सक्ने अवस्था छैन । यो महिनाभरिमा संसदीय सुनुवाइ हुन प्रक्रियागत कारणले पनि कठिन छ भने अर्को महिना लाग्नासाथ प्रतिनिधि सभा नै भंग हुन्छ । सुनुवाइ हुन नसके ४५ दिनपछि राष्ट्रपतिले सोझै नियुक्त गर्नुपर्ने व्यवस्था छ ।
अवकाशको नजिक पुगेका बेला दीपककुमार कार्कीले यो निर्णय गरेकाले पनि उनले माओवादीलाई कुन मूल्यमा गुन लगाउन खोजे भन्ने अनुमान लगाउन सकिन्छ । यसबाट के बुझिन्छ भने अदालतमा इतिहासमै सबैभन्दा धेरै अराजक प्रकारको आन्दोलन उनको नेतृत्वमा हुनुमा माओवादी उक्साहट थियो । अर्को कुरा अब कार्की बेरोजगार बस्नुपर्ने छैन । उनलाई माओवादीले नै कुनै पद दिन सक्नेछ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८