• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

नागरिकता विधेयक फिर्ता : सत्तापक्ष रुष्ट, एमाले दंग,अब के हुन्छ ?

  • खबरदाता

नागरिकता विधेयक फिर्ता : सत्तापक्ष रुष्ट, एमाले दंग,अब के हुन्छ ?

साउन ३०, २०७९

 

राष्ट्रपति विद्यादेवी भण्डारीले आफूसमक्ष पेश भएको १४औँ दिनमा नागरिकता विधेयक फिर्ता गरेकी छन्।विधेयक पुनर्विचार गर्नुपर्ने भएकाले फिर्ता गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। उनले लिखित रुपमै संसदलाई बुँदागत रुपमा विधेयकमाथि पुनर्विचार गर्न सुझाव पठाएकी छन्।

नागरिकताजस्तो संवेदनशील विषयलाई हतारमा पारित गर्नु उपयुक्त होइन। यसलाई संसदीय प्रक्रिया पूरा गरेर मात्रै दुवै सदनले पारित गर्नुपर्छ भन्ने आशय पत्रमा उल्लेख छ। प्रमाणीकरण नगरेर विधेयक फिर्ता गर्ने राष्ट्रपति भण्डारीको कदमप्रति सत्तापक्षीय दलहरु रुष्ट बनेका छन्।

विधेयक फिर्ता गर्नुअघि भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवा, महान्यायाधीवक्ता खम्बहादुर खाती, संविधानविद्‌हरु, विभिन्न राजनीतिक दलका नेताहरु, नेपाली सेनाका वहालवाल तथा पूर्व उच्च अधिकृतहरु, पत्रकारलगायतसँग परामर्श गरेकी थिइन्।

विशेष गरी वैवाहिक नागरिकता विवाहलगत्तै पाउने अहिलेको प्रावधानप्रति राष्ट्रपति भण्डारीले चासो देखाएकी थिइन्। नागरिकता ऐन २०६३ ले विवाहलगत्तै वैवाहिक अंगीकृत नागरिकता पाउने प्रावधानलाई निरन्तरता दिएको छ अर्थात् त्यसमा कुनै संशोधन गरिएको थिएन।

पेश भएको १५ दिनभित्र विधेयकलाई प्रमाणीकरण वा फिर्तामध्ये एक निर्णय लिनुपर्ने संवैधानिक प्रावधानअनुसार पुनः विचारका लागि पठाएकी हुन्। साउन १५ गते सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति भण्डारीसमक्ष पेश गरेका थिए।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा भनेका छन्, प्रमाणीकरणका लागि पेश हुन आएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा नेपालको संविधान बमोजिम नागरिकता प्राप्तिसम्बन्धी विषयमा संघीय संसदबाट पुनर्विचार हुन आवश्यक देखिएकोले नेपालको संविधानको धारा ११३ को उपधारा (३) बमोजिम सन्देशसहित यो विधेयक सम्माननीय राष्ट्रपतिज्यूले प्रतिनिधि सभामा फिर्ता पठाउनुभएको छ।’

भण्डारीले वैवाहिक नागरिकता पाउन कुनै निश्चित अवधि राख्न सुझाव दिएको स्रोतले बताएको छ ।चार वर्षसम्म संसदमा अड्केको विधेयक सरकारले फिर्ता गरेर नयाँ विधेयक लगेको थियो।

विधेयकप्रति राष्ट्रिय सहमति नभएकोप्रति पनि भण्डारीले उल्लेख गरेकी छन्। एमालेको विरोध सम्बोधन नहुनु पनि फिर्ता हुनुको एउटा कारण भएको केही राजनीतिक विश्लेषकहरु बताउँछन् ।

राष्ट्रपति भण्डारीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सिफारिस गरेको नागरिकता ऐन संशोधन गर्ने अध्यादेश भने स्वीकृत गरेकी थिइन्।तत्कालीन ओली सरकारले आफ्नो सत्ता जोगाउनका लागि महन्थ ठाकुर समूहको मागबमोजित जन्मसिद्धका सन्तानले वंशजको नागरिकता पाउने अहिलेको विधेयकको जस्तै प्रावधानलाई स्वीकृत गरेकी थिइन्।विधेयकमा संविधानमै भएको गैरआवासीय नेपालीले नागरिकता पाउने प्रावधानबाहेक अरु सबै विषय अध्यादेशकै हुबहु राखिएको थियो।

अब के हुन्छ?

राष्ट्रपतिले फिर्ता पठाएको विधेयकलाइ सरकारले फेरि प्रतिनिधिसभामा टेबुल गर्नुपर्छ । यसरी टेबुल गरेको विधेयकमा विचार गरियोस् भन्ने प्रस्ताव पारित गर्नुपर्छ ।त्यसपछि उक्त विधेयकमा ७२ घन्टाको संशोधन हाल्ने समय दिनुपर्छ । त्यसपछि प्रतिनिधिसभाले दफावार छलफलका लागि समितिमा पठाउन पनि सक्छ सभाबाटै टुंग्याउन पनि सक्छ ।

अर्को, प्रतिनिधि सभाबाट पास भएपछि उक्त विधेयक राष्ट्रियसभामा पठाइन्छ । राष्ट्रिय सभाले पनि प्रतिनिधि सभाकै जस्तो प्रक्रिया पूरा गरेर प्रतिनिधिसभामा आउँछ । राष्ट्रिय सभाबाट पारित भएर आएको विधेयकलाई प्रतिनिधिसभाले स्वीकृत गरी प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइन्छ । यसरी आएको विधेयकलाई राष्ट्रपतिले फेरि फिर्ता गर्न मिल्दैन ।

  • प्रकाशित मिति : साउन ३०, २०७९, सोमवार ०६:१३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८