चैत २८, २०७८
काठमाडौँ । नेपाली कांग्रेसका नेता सशांक कोइरालाले शनिबार एक कार्यक्रममा अफ दि रेकर्ड भन्दै आफूले गएको चुनावमा ६ करोड रुपैयाँ खर्च भएको खुलासा गरे । उनले अफ दि रेकर्ड भनिरहँदा एकातिर उनको त्यो भाषण सामाजिक सञ्जालमा लाइभ प्रसारण भइरहेको थियो भने अर्कोतिर अरु टीभीका क्यामेराहरु पनि उनीतिर सोझिइरहेकै थिए । यसले सशांक कोइराला कति हुस्सु नेता हुन् भन्ने देखाएको छ ।
अर्कोतिर उनले जुन तथ्य सार्वजनिक गरेका छन्, त्यो समकालीन राजनीतिको मुख्य दुःख र यथार्थ पनि हो । किनभने महँगो बन्दै गएको निर्वाचनमा धेरै नेताहरू खर्च जुटाउन नसकेरै उम्मेदवारी दिन नसक्ने स्थिति बनेको छ । पैसा नहुनेहरू राजनीतिबाट पाखा लाग्नुपरेको छ भने शक्ति र सत्ता पैसावालहरूको हातमा जाँदै छ । राजनीतिक दलदेखि सबै तहका सरकारमा पैसावालहरू हावी हुँदै छन् ।
अहिले पनि निर्वाचन आयोगले उम्मेदवारहरुका लागि खर्चको साढे ७ लाख रुपैयाँ खर्च गर्न सक्ने गरी अधिकतम तोकेको छ । तोकिएभन्दा बढी रकम खर्च गरेको पाइए उम्मेदवारी नै रद्द हुनेसम्मको व्यवस्था छ । यस्तो व्यवस्था अघिल्ला निर्वाचनमा पनि थियो । चार वर्षअघिको निर्वाचनमा आफूले सीमाको २४ गुणा बढी खर्च गरेको सार्वजनिक अभिव्यक्ति दिएपछि कांग्रेस नेता शशांक कोइराला यतिखेर चर्चामा छन् । उनको यो अभिव्यक्तिले खर्चको सीमा पालना गराउने मामिलामा आयोग निष्प्रभावी भएको पनि स्पष्ट भएको छ भने स्वयं सशांकले त्यति ठूलो रकम कहाँबाट ल्याएर खर्च गरे भन्ने प्रश्न जन्माइदिएको छ ।
आयोगले २०७४ को प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारले बढीमा २५ लाख रुपैयाँ खर्च गर्न पाउने सीमा तोकेको थियो । निर्वाचन आयोग ऐन, २०७३ को दफा २४ मा निर्वाचनमा उम्मेदवार र दलले खर्च गर्ने रकमको सीमा आयोगले तोक्न पाउने व्यवस्था छ । सोही व्यवस्थाअनुसार आयोगले २५ लाखको सीमा तोकेको थियो ।चुनावपछि उम्मेद्वारले खर्च विवरण निर्वाचन कार्यालयमा बुझाउनुपर्ने व्यवस्था छ । कांग्रेस नेता कोइरालाको अभिव्यक्तिले निर्वाचनमा राजनीतिक दल र उम्मेदवारले सीमाभन्दा धेरै खर्च गर्ने तर आयोगमा झुटो विवरण बुझाउने गरेको तथ्य पनि छर्लंग भएको छ । त्यति मात्र होइन, आफूले तोकेको खर्चको सीमा पालनामा आयोग चुक्दै आएको पनि स्पष्ट भएको छ।
आयोगले स्थानीय तहको निर्वाचनमा यसपालि उम्मेदवारलाई बढीमा साढे ७ लाख रुपैयाँ खर्च गर्न पाउने सीमा तोकेको छ । पैसाका आधारमा मतदाता प्रभावित गर्ने गतिविधि रोक्ने उद्देश्यले आयोगले सीमा तोक्ने गरेको हो ।
कांग्रेस नेता कोइरालाको अभिव्यक्तिले आफूले तोकेको सीमा पालनाका लागि आयोगले अनुगमन बढाउनुका साथै कारबाहीको डण्डा चलाउने हिम्मत गर्नुपर्ने आवश्यकता देखाएको छ । साथै कांग्रेस नेता कोइरालाको उक्त रकमको स्रोतबारे पनि छानबिन गर्नुपर्ने टड्कारो भएको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८