• साउन १४, २०८३, बिहीवार Thursday, 30 July, 2026

को हुन् गुरु ?

  • खबरदाता

को हुन् गुरु ?

गुरुव्रह्मा गुरुर्विष्णुस् गुरुर्देवो महेश्वरस्।
गुरु: साक्षात् परब्रह्म तस्मै श्री गुरवे नमस्॥

गुरुको महिमा के कति रहेछ भन्ने कुरो माथिको श्लोक नै काफी छ । अरु भनिरहनु र लेखिरहनु नै पर्दैन । आज गुरु पूर्णिमाको सर्न्दभमा गुरुका बारेमा केही लेखेका छौँ ।

जसबाट सिकिन्छ वा ज्ञान लिएर सुमार्ग पहिल्याउन सकिन्छ, ती सबै गुरु हुन् भन्ने मान्यता सृष्टिकालदेखि रही आए पनि धर्मशास्त्रमा अविद्यालाई मासेर ज्ञान दिने व्यक्तिलाई गुरु भनिएको छ । वेद लेखी मान्छेको अज्ञानता हटाएर अन्तरदृष्टि खोलिदिने गुरु वेदव्यासको स्मरण गरी गुरु पूजन गर्ने परम्परालाई निरन्तरता दिँदै प्रत्येक वर्ष आषाढ शुक्ल पूर्णिमा अर्थात् गुरुपूर्णिमाका दिन आ(आफ्ना गुरुको सम्मान र स्मरण गर्ने संस्कार नै स्थापित छ ।

गुरु को हुन् ?

गु को अर्थ अन्धकार हो र रुु को अर्थ अन्धकारलाई चिर्ने उज्यालो हो । त्यसैले जसले हाम्रो जीवनबाट अज्ञानताको अन्धकारलाई नास गरेर ज्ञानको उज्यालो प्रकाश छर्दछन्, ती महान् व्यक्ति नै गुरु हुन् ।

स्कुल, कलेज पढ्दा औपचारिक शिक्षा दिनेहरूलाई मात्रै हैन, आफूलाई ज्ञान दिने सम्पूर्णलाई गुरु मान्न सकिन्छ।

आफूले चाहे गुरुबाट शिक्षा लिनु भएको होस् या नहोस् आफूसँग भएको ज्ञान सदा सर्वदा हामीलाई बाँड्ने हाम्री आमा हाम्रो पहिलो गुरु हुन् । आफ्नो जिन्दगीमा भोगेका तीतामीठा अनुभव संगालेर हामीलाई जस्तोसुकै परिस्थितिसँग जुध्ने शिक्षा दिने हाम्रा दोस्रो गुरु हाम्रो बाबा नै हुनुहुन्छ ।

अब आमा र बाबा नै पहिलो अनि दोस्रो गुरु भएपछि हामीले ,गुरु महान् हुन्छन् भनेर भनी रहनु पर्छ र ?

त्यसपछिको गुरुचाहिँ हाम्रो औपचारिक शिक्षा दिने गुरुहरू हुन् । आमा अनि बाबा त हाम्रो जिन्दगीका अनौपचारिक गुरुहरू हुन्, जसले जस्तो परिस्थितिमा पनि आफू बाचुन्जेली आफ्नो सन्तानलाई शिक्षा अनुभव बाँडिरहन्छ ।

जसरी मैनबत्तीले आफू सकिएर पनि हामीलाई उज्यालो दिन्छ,उसैगरी गुरुहरूले हाम्रो जीवनलाई उज्यालो पारिदिनुहुन्छ। आफू रित्तिएर पनि हामीलाई ज्ञानले भरिपूर्ण गरिदिनुहुन्छ ।

माया ज्ञान जति बाँड्न सकिन्छ, उति थपिँदै जाने कुरा पनि गुरुबाटै सिक्न सकिन्छ । आखाँले देख्ने, कानले सुन्ने अनि आत्माले महसुस गर्ने हरेकले ज्ञान दिन्छन्, ती सबै हाम्रा गुरु हुन् ! प्रकृति, जसले सधैँ राम्रो बन्न सिकाउँछ । खोलानाला, जसले सधैँ जीवनमा अगाडि बढ्न सिकाउँछन् । सूर्य, जसले सधैँ अटल बन्न सिकाउँछ, यी सबै हाम्रा गुरु हुन् १

जसले हाम्रो मनभित्र भएको अन्धकाररूपी माया मोहलाई नास गरेर हामीलाई आत्मा र परमात्मासँग चिनाउँछन्, हामीले उनैलाई साक्षात गुरु मान्न सक्छौँ । गुरु नै सर्वशक्तिमान प्रभु हुन् । गुरु नहुँदा ज्ञानको सम्भावना छैन ।

आफ्ना विद्यार्थीहरू विश्वको हजारौँ देश घुम्न अब्बल बनाउने गुरुहरूचाहिँ बर्सेनि उहीँ स्कुलरकलेज गएर आफूसँग भएको ज्ञान सधैँ प्रदान गर्छन् । साँच्चै गुरु महान् छन् ।

परापूर्वकालमा गुरुकूलमा बसेर शिक्षा लिने चलन थियो । वर्षौंसम्म गुरुको साथमा रहेर गुरुको सेवा गर्ने चलन थियो । समयले अब काँचुली फेर्‍यो । तर, गुरुको महत्त्वलाई गूगलले उछिन्न सकेन । गुरु सधैँ महत्त्वपूर्ण नै छन् !

स्कुल, कलेज, विश्वविद्यालय वा अरु कुनै कला मन्दिर, जहाँ पनि गुरुले नै शिक्षा प्रदान गर्छन् । ती हाम्रा औपचारिक गुरु हुन्, जसले अज्ञानताको अँध्यारोलाई चिर्दै ज्ञानको ज्योतिले हाम्रो जीवनलाई सुन्दर बनाउने बाटो देखाउँछन ।

आजका सबै आविष्कारहरू सबै हाम्रा महान् गुरुका शिक्षा र ज्ञानका उपक्रमहरू हुन् । जसले गुरुको महत्त्व बुझेको छ, उसले ज्ञानको महत्त्व बुझेको छ ।

गुरु ती हुन्, जसले हाम्रो जीवनमा सत्य र ज्ञानको अमूल्य शिक्षा दिन्छन् । गुरु पूर्णिमाको दिनमा हामी पनि हाम्रा गुरुहरूलाई श्रद्धा र भक्तिसहित मिठाइ, प्रसाद, लुगा, कपडा आदि अर्पण गरेर आफ्नो आदर अर्पण गर्दछौँ । यस्ता उपहारहरूलाई गुरु दक्षिणा पनि भनिन्छ ।

गुरुको सबैभन्दा ठूलो दक्षिणा भनेको उनले देखाएको बाटो अवलम्बन र पढाएको पाठको सही पालना नै हो । आफ्नो शिष्यको सफलतामा खुसी खोज्ने महान्ताले गुरुलाई अझै आदरणीय र उच्च बनाएको छ ।

भागवत गीतामा साँचो गुरुको चरित्र कस्तो हुनुपर्छ भन्ने कुरा लेखिएको छ । साँचो गुरु उनै हुन्, जसमा साँचो रूपमा ज्ञान प्रदान गर्नसक्ने क्षमता हुन्छ । ज्ञानी भएर पनि उनमा घमण्ड रत्तीभर हुँदैन । जसलाई भगवान् सबै कारक हुन् र हामी सबै उनका कारण मात्रै हुन भन्ने ज्ञान हुन्छ । जसलाई सही ज्ञानको अर्थ थाहा छ । जो त्यसैमा जीवन बिताउँछ । जो रिसराग, लोभमोहभन्दा धेरै पर हुन्छ । उही सच्चा गुरु हुन्छ ।

हामीलाई अक्षर चिनाउनेदेखि, बोल्न सिकाउने, हिँड्न सिकाउने, स्कूल, कलेज वा कुनै पनि ठाउँमा सधैँ सही सुमार्ग देखाउने ती सबै गुरुहरूलाई आज यस महान् गुरु पुर्णिमाको दिन पारेर एकमुष्ट नमनः तथा सतसत प्रणाम १

किताबको ज्ञान दिने गुरुदेखि
जीवनको ज्ञान दिने सबैमा कृतज्ञता
सबै गुरुहरूमा श्रद्धापूर्वक नमनः

गुरबे नमो नमस्….।१

  • प्रकाशित मिति : साउन १३, २०८३, बुधवार ०६:०४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८