असार ७, २०८०
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम भनिने सांसद विकास कोषमाथि नियमन गर्ने भएका छन् । महानगरका मेयर शाहले बुधबार ०८०/०८१ को नीति तथा कार्यक्रम पेश गर्दै संघ र प्रदेशबाट आउने संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रममा महानगरको पूर्व सहमति र समन्वय अनिवार्य हुने उल्लेख गरेपछि प्रदेश र संघका सांसद झस्किका छन् । पहिलो त संघीयता मोडलमा गइसकेपछि अब सांसदलाई पैसा बाँड्न नहुने तर्क बलियो छ ।
तर संघदेखि प्रदेशमा सांसदलाई पैसा बाँडिएको छ । यस्तो अवस्थामा सांसदलाई बाँडिएको पैसा सांसदले आफू निकटका एनजिओदेखि कार्यकर्ताका योजना अगाडि बढाउछन् । विकास निर्माणका काम पनि आफ्नै पालिका, त्यसमा पनि आफ्नै वडा, आफ्नै टोलमा लग्ने गरिएको छ ।केन्द्र सरकारले यो कोषका लागि प्रदेश निर्वाचन क्षेत्रमा पाँच करोडका दरले बजेट विनियोजन गरेको छ भने बागमती प्रदेश सरकारले प्रत्यक्ष निर्वाचित सांसदलाई तीन करोड र समानुपातिकलाई एक करोड दिएको छ ।
आगामी आर्थिक वर्षमा कार्यान्वयन हुने कार्यक्रममा सांसदको खेलोफड्को हुने देखिएपछि मेयर शाहले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै, संघ तथा प्रदेशबाट प्राप्त हुने संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रममा महानगरको पूर्वसहमति एवं समन्वय विना छनोट भएको योजना तथा कार्यक्रम कार्यान्वयन नगरिने व्यवस्था गरिनेछ’ भनेका छन् । अर्थात् अब काठमाडौं महानगरभित्र संसदीय विकास कार्यक्रम सञ्चालन गर्न सांसदलाई सजिलो छैन । आफूखुसी योजना छनोट गरे कार्यक्रम लागू हुने छैन । किनकी यो कार्यक्रमको रकम स्थानीय तहमार्फत् खर्च हुन्छ, आयोजना सांसदले छान्छन् । यदी महानगरसँग समन्वय गरेर मात्र योजना छनोट भएमा मात्र यो सम्भव हुनेछ ।
काठमाडौं जिल्लामा १० वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र २० वटा प्रदेशसभाा निर्वाचन क्षेत्र छन् । तीमध्ये प्रतिनिधिसभाका ९ वटा र प्रदेशसभाका १२ वटा निर्वाचन क्षेत्र काठमाडौं महानगरपालिकाभित्र पर्छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८