• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

गण्डकी र लुम्बिनीमा एक महिनासम्म अल्पमतको सरकार चलाउने एमाले रणनीति

  • खबरदाता

गण्डकी र लुम्बिनीमा एक महिनासम्म अल्पमतको सरकार चलाउने एमाले रणनीति

चैत्र १३,२०७९

 

समीकरण फेरिएसँगै केन्द्रमा सरकार गुमाएको एमाले प्रदेशमा पनि अल्पमतमा परेको छ । एमाले सुदूरपश्चिम र बागमती प्रदेश सरकारबाट बाहिरिसकेको छ । तर, मुख्यमन्त्री पाएको गण्डकी र लुम्बिनीमा भने सरकार कायमै छ । यसबाहेक कोसी प्रदेशमा पनि एमालेकै सरकार छ । केन्द्रमा रहेको सत्ता गठबन्धनलाई कोसी सरकार ढाल्न सहज छैन । तर, गण्डकी र लुम्बिनी सरकार भने सहजै ढाल्न सक्छन् ।

त्यही भएर गठबन्धन आवद्ध दलले गण्डकी र लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिएका छन् ।गण्डकीमा एमाले नेता खगराज अधिकारी नेतृत्वको सरकार १० चैतमै अल्पमतमा परिसकेको छ भने लुम्बिनीमा एमालेकै नेता लिला गिरी नेतृत्वको सरकार अल्पमतमा परेको छ । तर, एमाले भने ३० दिनसम्म यी दुबै प्रदेशमा अल्पमतको सरकार चलाउने र त्यसपछि पहिलो दलको हैसियतले मुख्यमन्त्रीमा फेरि दाबी गर्ने रणनीतिमा छ ।

माओवादी र जनमतका मन्त्रीहरुले आइतबार लुम्बिनी प्रदेश सरकारबाट राजीनामा दिएपछि सात दल र एक स्वतन्त्र सांसदले सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए । योसँगै सरकार अल्पमतमा गयो । किनकी लुम्बिनीमा अब एमाले र राप्रपा मात्र सरकारमा छन् ।योसँगै कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीसहित आठ दलको समर्थनमा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्रीमा अघि सारिएको छ । अल्पमतमा रहेका मुख्यमन्त्री गिरीले राजीनामा वा ३० दिनभित्र संसदमा विश्वासको मत लिने बाटो खुलै रहेका बेला सत्ता गठबन्धनका दल हतारोमा छन् । यी दलले संवैधानिक व्यवस्थाविपरीत आइतबार नै चौधरीलाई मुख्यमन्त्री बनाउन माग गर्दैप्रदेश प्रमुख अमिक शेरचन समक्ष हस्ताक्षर बुझाएका छन् ।

तर, सरकारमा सहभागी दलले समर्थन फिर्ता लिए ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । यो अवस्थाका कारण लुम्बिनीमा मात्र होइन गण्डकीका मुख्यमन्त्रीले ३० दिनभित्र संसदबाट विश्वासको मत लिन पाउँछन् । गण्डकीमा पनि कांग्रेस, माओवादीले राजनीनमा दिन मुख्यमन्त्री अधिकारीलाई आग्रह गरिरहेका छन् ।विश्वासको मतको प्रस्ताव प्रदेशसभाबाट अस्वीकृत भएपछि मात्रै मुख्यमन्त्री पदमुक्त हुन्छन् । र, नयाँ सरकार गठनको बाटो संवैधानिक रूपमा खुल्छ ।

यी दुबै प्रदेशका मुख्यमन्त्री संविधानको धारा १६८ ९२० बमोजिम नियुक्त भएका थिए । गिरी र अधिकारीले संसदबाट विश्वासको मत नपाए संविधानको धारा १६८ को ३ बमोजिम प्रदेश प्रमुखले प्रदेशसभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । लुम्बिनी र गण्डकी दुबै प्रदेशसभाको सबैभन्दा ठूलो दल एमाले हो ।

  • प्रकाशित मिति : चैत १३, २०७९, सोमवार ०७:०७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८