• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

बूढा नेता जोगाउन गठबन्धनमा उच्चस्तरीय सिन्डिकेट

  • खबरदाता

बूढा नेता जोगाउन गठबन्धनमा उच्चस्तरीय सिन्डिकेट

साउन २८, २०७९

 

मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा तालमेल गर्ने निर्णय गरेका सत्ता गठबन्धनका दलहरूले सिट बाँडफाँटको आधार तय गरेका छन् । गठबन्धनभन्दा बाहिर रहेका लोकतान्त्रिक समाजवादी पार्टी र जसपाबाट फुटेर हालै गठन भएको नेपाल समाजवादी पार्टीले पनि गठबन्धनमा सहभागी हुने इच्छा देखाइरहेका बेला उनीहरूको उपस्थितिबिना नै कार्यदलले तालमेलको आधार तय गरेको हो ।

सिट बाँडफाँटका लागि गठबन्धनले २०७४ सालको संसदीय निर्वाचन, गत वैशाखमा भएको स्थानीय निर्वाचन र संसदमा हाल कायम सदस्य संख्यालाई मुख्य आधार मान्ने कार्यदलले भनेको छ । तर, शीर्ष तहका नेताहरूलाई भने यी कुनै पनि मापदण्डले छुने छैन । उनीहरुको भाग सुरक्षित राखेर बाँकी सिटमा मात्र मापदण्डअनुसार कसले टिकट पाउने वा नपाउने निर्धारण हुनेछ । शीर्ष नेताबाहेक जोकोहीले पनि आफ्नो प्राकृतिक दाबी त्याग्न तयार हुनुपर्नेछ । शीर्ष तहमै भएको यस खालको सिन्डिकेटको स्थानीयस्तरबाट भने विरोध सुरु भइसकेको छ ।

कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा रहेको कार्यदलको बिहीबार बालुवाटारमा बसेको बैठकले चुनावी तालमेलका आधार र ढाँचा तय गर्नुअघि कार्यदलका सदस्यले आ(आफ्नो दलका तर्फबाट धारणा राखेका थिए । कार्यदलमा सुरुमा २०७४ को मतलाई मुख्य आधार बनाउनुपर्ने प्रस्ताव आएको थियो । तर त्यसलाई आधार मान्दा नवगठित नेकपा एकीकृत समाजवादीको अवस्था के हुने भन्ने प्रश्न आएपछि हाल संसदमा कायम रहेको संख्यालाई मुख्य आधार लिने सहमति भयो । यसअनुसार अघिल्लो चुनावमा गठबन्धनका घटकमध्ये जसले जहाँ जितेको छ, तिनमा स्वतः सोही दलको दाबी मान्य हुनेछ ।

अब एमालेले जितेका स्थानमा गठबन्धनबीच भागबन्डा हुनुपर्नेछ । यसमा भागबन्डा गर्दा स्थानीय तहको निर्वाचनलाई पनि आधार बनाउनेबारे छलफल चल्यो । तर, उक्त निर्वाचनमा तालमेल भएकाले कुन दलको अवस्था कस्तो भनेर स्पष्ट हुन नसक्ने धारणा आएपछि कार्यदलले वडाध्यक्षमा प्राप्त मतका आधारमा टुंगो लगाउने तय भएको हो । तर, शीर्ष नेताहरूका हकमा यी कुनै पनि मापदण्डले काम गर्ने छैन । यस्तो प्रस्ताव कृष्ण सिटौलाले नै कार्यदलमा प्रवेश गराएकाले उनले आफूलाई हेरेर नै गरेको हुनुपर्छ भन्नेमा कुनै शंका छैन । तर उनको यस प्रस्तावले शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवा, रामचन्द्र पौडेल, प्रकाशमान सिंह, सशांक कोइराला, पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ, उपेन्द्र यादव, माधव नेपाल, झलनाथ खनाललगायतले चाहेको स्थानबाट गठबन्धनको टिकट पाउनेछन् ।

कार्यदलले तयार पारेको ढाँचामाथि सदस्यहरूले आआफ्ना दलका शीर्ष नेताहरूसँग पुनः छलफल गर्नेछन् । शीर्ष नेताहरूसँगको छलफलपछि साउन ३० गते कार्यदलको बैठक बस्ने नेताहरूले बताएका छन् । ३० गतेको बैठकमा सिट बाँडफाँटलगायतका विषयमा छलफल गरेर भदौ पहिलो साता कार्यदलले प्रतिवेदन बुझाउने भनिएको छ । जे होस्, अहिले देशभरिबाट दलका पुराना र शीर्ष नेता हराउने अभियान चलिरहेका बेला सत्ता गठबन्धनमा तिनै बूढा नेताहरूको सुरक्षाका लागि उच्चस्तरीय सिन्डिकेट बनाइएको छ । यस खालका अभ्यासले ती नेताको सुरक्षा हुन्छ कि जनमत कचल्टिएर सिंगै गठबन्धन र तिनका पार्टी नै बढारिन्छन् रु प्रतीक्षाकै विषय छ ।

  • प्रकाशित मिति : साउन २८, २०७९, शनिवार ०६:३३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८