माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग मिलेर कार्कीविरुद्ध महाभियोग लगाएपछि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा सर्वत्र आलोचनाका तारो बनेका थिए
साउन २२, २०७९
२०७४ को चुनावमा तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोग जनमत प्रभावित पार्ने एउटा मुख्य मुद्दा बन्न पुगेको थियो । माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग मिलेर कार्कीविरुद्ध महाभियोग लगाएपछि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा सर्वत्र आलोचनाका तारो बनेका थिए ।
अहिले भने अवस्था ठीक उल्टो छ । देउवा र प्रचण्ड जति बदनाम भए पनि त्यसको लाभ ओलीको पोल्टामा जान मुस्किल छ । अझ चोलेन्द्रशमशेर राणाजस्ता बदनाम पात्रको बचाउमा एमाले लाग्दा देउवा(प्रचण्डले सत्तामा बसेर रचेका काण्डहरु झीना देखिन थालेका छन् ।
घामजत्तिकै छर्लंग भएको कुरा के हो भने एमालेको सहयोगबिना महाभियोग पारित हुन सक्दैन । सक्ने भए यसको छिनोफानो उहिल्यै भइसक्थ्यो या सत्तापक्षले महाभियोग नै लगाउने थिएन । अथवा उसले चाहेका अरु संवैधानिक पदाधिकारीलाई पनि यही अस्त्र प्रयोग गर्न तम्सिने थियो । आईजीपी प्रकरणदेखि गभर्नरमाथि गरिएको हमलाले पनि देउवा(सत्ताको खास चरित्र प्रदर्शन गर्छ ।
केही दिनयताका उनका कदम भने विशुद्ध चुनावलक्षित हुन थालेका छन् । जसरी उनले वर्षभरि चीनलाई चिढ्याउने र अमेरिका तथा भारतलाई रिझाउने काम गरेर सत्ताको सुरक्षा गरे, अब चुनावमा चीनप्रति नरम एवं भारत–अमेरिकाविरोधी जनमतलाई चिढिन नदिन चुनाव घोषणा गरेको भोलिपल्टै आफ्ना परराष्ट्रमन्त्रीलाई चीन पठाउने निर्णय गरेका छन् । यस्तै संसदीय प्रक्रियाकोल अन्तिम चरणमा पुगिसकेको नागरिकता विधेयक फिर्ता लिएर तराईको मत प्रभावित पार्न नयाँ विधेयक ल्याएर हतारहतार मध्यरातमा पारित गर्न लगाए ।
संसदको बर्खे अधिवेशन गत जेठ ३ गते नै सुरु भए पनि प्रस्ताव त्यसै अलपत्र परेको थियो । अहिले आम निर्वाचन घोषणा गरेपछि मात्र महाभियोग ब्युँताउन खोज्नुमा सरासर राजनीतिक उद्देश्य छ भन्ने बुझ्न दाउपेचका कुनै कखरा सिकिरहनुपर्दैन । त्यसैले महाभियोग प्रस्ताव संसदको यही अधिवेशनबाट टुंगो लगाउने दाबी सत्तापक्षले गरे पनि यसभित्रको अभीष्ट अर्कै देखिन्छ ।
अर्को ध्रुवसत्य के हो भने सत्ता पक्षसँग दुई तिहाई बहुमत नभएकाले प्रतिपक्षी एमालेको समर्थनबिना यो प्रस्ताव पारित हुन भने सक्दैन । एमालेले आफूलाई जानकारी नै नदिई छापामार शैलीमा महाभियोग ल्याएर सिंगो न्यायपालिकालाई दबाबमा राख्न खोजेको आरोप सत्तापक्षमाथि लगाउँदै आएको छ । एमाले पूर्वअडानमै रहे यो विषय झनै टुंगो लाग्दैन ।
सारा विवरण केलाउँदा चोलेन्द्रको महाभियोगमा देउवा र प्रचण्डका मुख्य स्वार्थ हुन्– राणालाई निलम्बित अवस्थामै राखेर अदालतलाई कामचलाउ नेतृत्व भरमा चलाउने । एमालेका कारण महाभियोग पारित हुन नसकेको भनेर चुनावमा जनतामाझ साखुल्ले बन्ने । भित्रभित्रै राणालाई पूर्वप्रधानन्यायाधीशको हैसियतमा पाउने राज्य–सुविधा र शान सौकतमा असर नपारी घर पठाउने तारतम्य मिलाउने ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८