• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

जनार्दनलाई चोख्याउने खेल सुरु,संसदिय सिमितलाई बनाइँदैछ निकम्मा !

  • खबरदाता

जनार्दनलाई चोख्याउने खेल सुरु,संसदिय सिमितलाई बनाइँदैछ निकम्मा !

असार २४, २०७९

 

बजेट निर्माणमा बिचौलियालाई पहुँच दिएको र अर्थ मन्त्रालयका सीसीक्यामेराका दृश्य नष्ट गरेको विषयमा छानबिन गर्न संसदको कार्यकाल सकिनै लाग्दा विशेष समिति गठन गरिएको छ । कुनै पनि राष्ट्रिय चासोका विषयमा यसरी संसदीय विशेष समिति गठन गर्नु नौलो अभ्यास त होइन । तर यसरी गठन गरिने समिति दोषी पहिचान गरी कारवाहीको दायरामा ल्याउनभन्दा तत्कालको विवाद थामथुम पार्ने अस्त्र मात्र बनेका पाइन्छन् । यो समिति पनि त्यस्तै एउटा अस्त्रमा सीमित हुने देखिँदै छ ।

जनार्दन शर्माको विरोधले सडकदेखि संसदसम्मै तातेको थियो । त्यो विरोध जब बालुवाटार र खुमलटारतिर पनि सोझिन थाल्यो, हतारहतार प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच जनार्दनलाई बलि चढाउने सहमति बन्यो । उनीहरुकै सहमतिमा बुधबार संसदले ११ सदस्यीय संसदीय छानबिन विशेष समिति बनायो । विवादित अर्थमन्त्री जनार्दन शर्माले तत्कालै राजीनामा दिए, नेतृत्वकै निर्देशनमा । तर छानबिन समितिले अहिलेसम्म कुनै पनि काम गरेको छैन । कहिलेबाट काम गर्छ भन्ने सदस्यहरुलाई जानकारी पनि छैन ।

१० दिनको समय तोकिएको समितिले यस अवधिमा घटनाको अध्ययन गरी विभिन्न तथ्य प्रमाण संकलन, आरोपी र अन्य सम्बद्ध पक्षसँग सोधपुछ तथा बयान अनि प्रतिवेदन तयार गरी सदनलाई बुझाउनुपर्छ । त्यसपछि मात्र उसका सिफारिस कार्यान्वयनमा जान्छन् । जबकि यो संसदकै कार्यकाल धेरै छैन । सरकार निर्वाचनको मिति घोषणाको तयारीमा पुगिसकेको छ । निर्वाचन आयोगले मंसिर २ को तिथि सुझाएको छ । त्यसैले यस समितिले समयमै प्रतिवेदन दिन्छ र त्यो कार्यान्वयन हुन्छ भन्ने आधार कमजोर बन्दै छन् ।

विगतका अभ्यास हेर्दा पनि यस्ता समिति केवल विवाद मत्थर पार्न र तत्काल ध्यान भंग गर्न मात्र बनेका देखिन्छन् । २०७४ वैशाख ३१ मा सम्पन्न पहिलो चरणको स्थानीय निर्वाचनमा धाँधली भयो भनेर एमालेले उठाएको माग होस् या दोस्रो संविधानसभाको निर्वाचन हुँदा माओवादीले लिएको त्यस्तै अड्डी, विवाद थामथुम पार्न र विरोधी पक्षको प्रतिष्ठा जोगाइदिन संसदीय अध्ययन समिति बनाइएको थियो । ती समितिले के सुझाव दिए भन्ने न कसैलाई थाहा छ, न त चासो नै ।

२०७७ जेठ २६ गते रुकुम पश्चिमको सोती घटना अनुसन्धान गर्न बनाइएको समितिले असार ३० गते प्रतिवेदनसम्म बुझाएको थियो । तर त्यस समितिको सिफारिस कार्यान्वयन त परको कुरा, प्रतिवेदन नै सार्वजनिक भएन । यस प्रकरणमा पनि जनार्दन शर्माकै भूमिका सर्वाधिक विवादस्पद देखिएको थियो ।
२०७६ साउन २० गते संसदको गतिरोध अन्त्यका लागि विशेष समिति गठन गरेको थियो । सुवास नेम्वाङको संयोजकत्वमा गठित समितिले गरेको कामबारे पनि संसद सचिवालय अझै अनभिज्ञ छ । २०६८ असारमा भरतमोहन अधिकारीले पेश गरेको बजेट होस् या २०७३ मा विष्णु पौडेलले ल्याएको बजेट नै किन नहोस्, विवादपछि केवल छानबिनका लागि छानबिन गरिए ।

कतिपय छानबिन समिति त केवल राज्यको स्रोतसाधन खर्च गर्न मात्र बनेका छन् । २०७० मा तत्कालीन सद्भावना पार्टीका नेता लक्ष्मणलाल कर्णको संयोजकत्वमा गठित समितिले पटकपटक म्याद थपेर आयु लम्ब्याउने र सेवासुविधा लिने काम मात्र गरेको थियो । झारा टार्न बनाइएका यस्ता समितिले कामै नगरे पनि सरकारी गाडी, इन्धन, भ्रमण, बैठक भत्ता आदिमा लाखौँ खर्च भने भइरहन्छ । जुन प्रयोजनका लागि संसदीय समिति बनाइएको हो, अध्ययन सकिँदासम्म त्यो नै असान्दर्भिक भइसक्छन् । जनार्दन शर्मा र उनको सहयोगी सञ्जालमाथिको अनुसन्धान पनि फौजदारी कार्यविधिअनुसार नगर्ने हो भने संसदीय छानबिनको कुनै अर्थ छैन । बरु गम्भीर फौजदारी एवं राज्यविरुद्धको कसुरमा उन्मुक्ति दिने साधन नै संसदीय छानबिन बन्न पुग्नेछ ।

  • प्रकाशित मिति : असार २४, २०७९, शुक्रवार ०८:१३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८