• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

सत्ताको स्वाद चाख्न गठवन्धनभित्र मन्त्रालयको आलोपालो

  • खबरदाता

सत्ताको स्वाद चाख्न गठवन्धनभित्र मन्त्रालयको आलोपालो

जेठ २३,२०७९

 

संसदमा आगामी आर्थिक वर्षको बजेट पेस भएको छ । आजबाट मन्त्रालयगत बजेटमाथि छलफल हुने र मन्त्रीहरुले जवाफ दिने कार्यसूची संसद सचिवालयले सार्वजनिक गरेको छ । तर हिजो बजेट बनाउने मन्त्रीहरु आज हुने छैनन् । उनीहरुका तर्फबाट जवाफ दिने अर्कै हुनेछन् ।

यो सामान्य कुरा मात्र होइन । व्यवस्था र नियम कानुनको पनि धज्जी उडाएएको हो । विगत ३० वर्षमा बेहोरेको राजनीतिक अस्थिरताको भुंग्रोबाट बाहिर निकाल्न जनताले गरेको ठूलो संघर्ष र बलिदानीको अवमूल्यमन पनि हो ।

देउवा नेतृत्वको वर्तमान गठबन्धन सरकारमा एकीकृत समाजवादीले ४ मन्त्री र एक राज्यमन्त्री पाएको थियो । तर सरकारमा जान चाहने धेरै हुँदा उनीहरुलाई म्यादी मन्त्रीका रुपमा ६ महिने समय दिएर पठाइएको थियो । स्वास्थ्यमा विरोध खतिवडा, श्रममा किसान श्रेष्ठ, पर्यटनमा प्रेम आले, शहरीमा रामकुमारी झाँक्री र स्वास्थ्य राज्यमन्त्रीका रुपमा भवानी खापुङ थिए । २०७८ असोज २२ गते उनीहरुले शपथ लिएका थिए । तर मन्त्री भएको ८ महिनामै उनीहरुलाई पार्टीले फिर्ता बोलाएको छ। मन्त्री बनाउँदा नै ६ महिनामा फिर्ता बोलाउने सर्त भए पनि उनीहरुले दुई महिना अतिरिक्त खान पाए । आइतबार तिनै मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गर्दै एकीकृत समाजवादीले ४ जनाको नाम पठाएको छ ।

उनीहरुका ठाउँमा जीवनराम श्रेष्ठ, शेरबहादुर कुँवर र मेटमणि चौधरीलाई अघि सारेको छ । हीरा केसीलाई राज्यमन्त्री र बहालवाला राज्यन्त्री भवानी खापुङलाई मन्त्री बनाउने निर्णय एकीकृत समाजवादीले गरेको हो । यीमध्ये कुँवर गैरसांसद हुन् । गएको फागुनमा उनको राष्ट्रिय सभा सदस्य कार्यकाल सकिएको थियो ।

एमाले फुटेर एकीकृत समाजवादी बन्दा धेरै जना मन्त्री हुने आकांक्षासहित नयाँ पार्टीमा पुगेका थिए । तर आफ्नो कोटामा धेरैजना नपरेपछि नेतृत्वले ६ महिनामा फिर्ता बोलाउने सर्त राखेर आलेसहितको टिमलाई सरकारमा पठाएको थियो । राज्यमन्त्रीका रुपमा पठाइएका खापुङलाई एक महिना भए पनि मन्त्री बनाउने वचन त्यतिबेलै अध्यक्ष माधव नेपालले दिएका थिए ।

एकीकृत समाजवादीको नेतृत्वले राजनीतिक स्थायित्वका लागि दुई–दुईपटक विघटन भएको प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा सडकदेखि अदालतसम्मै धाएको थियो । तर अहिले तिनै पार्टीभित्रका नेताको चित्त बुझाउन ६(६ महिने म्यादी मन्त्री बनाइँदै छ ।

त्यसो त झण्डै दुई तिहाई बहुमतको केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकार नै ४१ महिनामा १८ पटक हेरफेर भएको थियो र करिब ६० जनाले मन्त्री बन्ने अवसर पाएका थिए । वर्तमान सरकार गठन भएको ११ महिनामा ४ पटक मन्त्रिपरिषद हेरफेर भइसकेको छ । पछिल्लो हेरफेरले पाँचौँपटक हुन्छ । केन्द्रमा मात्र होइन गठबन्धन सरकार बनेयता प्रदेशमा पनि मुख्यमन्त्री नै आलोपालोको सहमतिमा चुनिएका छन् । बाग्मतीमा चाँडै मुख्यमन्त्री फेरिँदैछन् भने प्रदेश १ मा पनि फेर्ने कसरत चलिरहेको छ । यसले स्थिरता र स्थायित्वका लागि गठबन्धन गरेको भनिए पनि सत्ताको स्वाद चाख्न मात्र उनीहरुले यी सब हर्कत गरिरहेको उनीहरुका व्यवहारबाट पुष्टि भएको छ ।

  • प्रकाशित मिति : जेठ २३, २०७९, सोमवार ०५:५२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८