• कात्तिक १, २०८३, आइतवार Sunday, 18 October, 2026

 कर्मचारी कोरोना सङ्क्रमित भएपछि बागलुङमा नगरपालिका र अदालतको सेवा स्थगित


 कर्मचारी कोरोना सङ्क्रमित भएपछि बागलुङमा नगरपालिका र अदालतको सेवा स्थगित

माघ १४,२०७८

बागलुङ – पदाधिकारी र कर्मचारी नै कोरोना सङ्क्रमित भएपछि यहाँका सार्वजनिक निकायका सेवा प्रभावित भएका छन् । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको तीव्र फैलावटलाई हेरेर कतिपय कार्यालयले सेवा स्थगन गरेका छन् ।

बागलुङ नगरपालिकाले आजदेखि यही माघ २१ गतेसम्मलाई अत्यावश्यकबाहेकका सबै नियमित सेवा सेवा बन्द गरेको छ । जनप्रतिनिधि, कर्मचारी र नगरवासीमा तीव्रगतिमा सङ्क्रमण फैलिएकाले सेवा प्रवाहलाई स्थगन गर्नुपरेको नगरपालिकाका सूचना अधिकारी युक्तप्रसाद सुवेदीले जानकारी दिए।

कर्मचारी नै सङ्क्रमित भएर आइसोलेशनमा बस्नुपरेकाले दैनिक सेवा सञ्चालनमा बाधा उत्पन्न भएको उनको भनाइ छ । कन्ट्याक्ट ट्रेसिङमा परेका कारणले पनि कतिपय कर्मचारी कार्यालय आउन सकेका छैनन् । नगरपालिकाअन्तर्गत वडा र विषयगत शाखाबाट प्रदान हुने सेवा पनि स्थगन भएको जनाइएको छ ।

जिल्ला अदालतले पनि आइतबारदेखि आउँदो २५ गतेसम्मलाई अत्यावश्यकबाहेकका नियमित सेवा स्थगन गर्ने निर्णय गरेको छ । न्यायाधीश र कर्मचारीमासमेत कोरोना सङ्क्रमण देखिएकाले सेवा प्रवाह स्थगन गर्नुपरेको अदालतले जनाएको छ । मुलुकी फौजदारी संहिता, बन्दी प्रत्यक्षीकरण र निषेधाज्ञा निवेदन दर्ता र सुनुवाइ, अभियोगपत्र दर्ता, चालु मुद्दाको मिलापत्र र फिर्ता जस्ता अत्यावश्यकीय सेवा भने नियमित सञ्चालनमा रहने अदालतले जनाएको छ ।

सेवा स्थगन भएको अवधिमा मुद्दा, रिट तथा निवेदनहरूमा रहेका हदम्याद, म्याद र तारेख भने नगुज्रने अदालतले स्पष्ट पारेको छ । गत आइतबारदेखि मालपोत कार्यालयको सेवा पनि प्रभावित छ । चार कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको र अन्य कर्मचारीमा मिल्दाजुल्दा लक्षण देखिएर घरमै एकान्तबासमा बसेकाले अत्यावश्यकबाहेकका सेवा बन्द गर्नुपरेको मालपोत अधिकृत देवेन्द्रबहादुर थापाले बताए।

सेवाग्राहीको भीडभाड हुने जिल्ला प्रशासन, अदालत, मालपोत, नापी, यातायातजस्ता सरकारी कार्यालयमा सङ्क्रमणको जोखिम बढी छ । सार्वजनिक सेवा प्रवाहलाई व्यवस्थित र सुरक्षित बनाउन जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले नयाँ नियम तोकेको छ । बढ्दो सङ्क्रमणलाई दृष्टिगत गरी जिल्ला प्रशासन, मालपोत र नापी कार्यालयले अबदेखि स्थानीय तहअनुसार दिन बाँडेर सेवा दिन थालेका छन् । बैंक तथा वित्तीय संस्थासहित सबै सार्वजनिक निकायबाट सेवा लिन १८ वर्ष उमेर पुगेका व्यक्तिलाई खोप कार्ड अनिवार्य गरिएको छ ।

स्वास्थ्य कार्यालयको आँकडाअनुसार जिल्लामा हाल ५४१ कोरोनाका सक्रिय सङ्क्रमित छन् । पछिल्ला दिनमा सङ्क्रमितको स्ख्या बढ्दो क्रममा छ । बिहीबार मात्र ८८ जनामा कोरोना पुष्टि भएको कार्यालयका कोभिड–१९ स्रोत व्यक्ति देवप्रकाश घिमिरेले जानकारी दिए । रासस

  • प्रकाशित मिति : माघ १४, २०७८, शुक्रवार ०५:३८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८