कात्तिक ३०, २०७८
चितवनमा बाख्रा, कुकुर विरालो लगायत साना चौपायहरुको निःशुल्क एक्सरे सेवा सुरु भएको छ ।
भेटेरीनरी अस्पताल तथा पशु सेवा केन्द्र भरतपुरमा एक्सरे सेवा सुरु भएको हो । गत भदौ महिनाबाट निःशुल्क रुपमा साना जनावहरुको एक्सरे सेवा दिने गरिएको मत्स्य प्राविधिक भिम दत्त भट्टले जानकारी दिए । उनका अनुसार संघीय सरकार अन्तर्गत नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाले एक्सरे मेशीन दिएपछि चितवनमा सो सेवा सुरु भएको हो ।
तीनका अलवा सोही मेशीनबाट पंक्षिहरुको पनि एक्सरे गर्ने गरिएको छ । मेशीन आउनुपूर्व एक्सरेका लागि वाहिर पठाउनुपर्ने वाध्यता थियो । वाहिर एक्सरे गर्दा किसानले महङ्गो शुल्क तिर्नुका साथै डाक्टर अभावका कारण पशुचौपायको उपचार समेत समयमै गर्न पाएका थिएनन् । एक्सरे सेवा सहित औषधि समेत गरी किसानले कम्तिमा एक हजार भन्दा माथि खर्च गर्नुपर्ने वाध्यता थियो ।
तर पशुसेवा केन्द्रमै एक्सरे सहित त्यसपछिका उपचार समेत निःशुल्क हुन थालेपछि चितवन लगायत आसपासका किसानहरु लाभान्वित भएका छन् । करिव दुई महिनाअघिमात्रै सुरु भएको सो मेशीनबाट ६० वटा भन्दा बढी पशुचौपायको एक्सरे सहित उपचार गरिएको भट्टले बताए । चितवनमा निजी स्तरबाट ३ वटा एक्सरे मेशीन सहितको सेवा दिने गरिएको बताइएको छ ।
सरकारी सेवानै सुरु भएपछि किसानहरुले बढि मात्रामा बाख्रा, कुकुर, विरालोको उपचार गराउन ल्याउने गरेको उनको भनाई छ । प्रायगरी अंगभंग भएका, दुर्घटनामा परेका,ग्याष्टीक भएका,लामो समय खाना नखाएका लगायत विविध समस्या भएका साना जनावहरुलाई उपचारका लागि ल्याउने गरेको उनले बताए ।
मेशीनको थप व्यवस्थापनको काम भइरहेको बताउँदै उनले अस्पतालमा जस्तो छुट्टै रेडियोलोजिष्ट नभएपनि केही दिनको तालिम पाएर प्राविधिकहरुले उक्त सेवा दिइरहेको भट्टको भनाई छ ।
अहिले प्राविधिक काम नसकिएकाले एक्सरे प्रिन्ट नहुने तर ल्यापटपमा देखिएको दृश्यका आधारमा त्यहीका पशु चिकित्सकले उपचार गरिदिने गरेको उनले बताए ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८