काठमाडौँ- नेपालले बूढीगण्डकी जलविद्युत् आयोजनामा लगानीका लागि संयुक्त अरब इमिरेट्स (युएई) सँग प्रस्ताव गरेको छ ।
युएईको भ्रमणमा रहेका गृहमन्त्री सुधन गुरुङ र त्यहाँका वैदेशिक व्यापार मन्त्री डा। थानी बिन अहमद अल जेयोदीबीच आबुधावीमा आज भएको शिष्टाचार भेटमा नेपालले उक्त प्रस्ताव गरेको हो ।
त्यस अवसरमा गृहमन्त्री गुरुङले कृषि तथा सेवा क्षेत्रको विकास एवं सुरक्षा प्रविधिमा सहकार्यको प्रस्ताव गरेको उनको सचिवालयले जनाएको छ ।
उनीहरूबीच द्विपक्षीय व्यापार, लगानी तथा आर्थिक सहकार्यका विविध आयामबारे छलफल हुनाका साथै सुरक्षा निकायलाई प्रविधिमैत्री र आधुनिक बनाउने विषयमा समेत विचारविमर्श भएको थियो ।
नेपालले प्रस्ताव गरेका परियोजनामा औपचारिक प्रस्ताव आदानप्रदान गरी आवश्यक प्रक्रिया अघि बढाउने तथा आगामी दिनमा सहकार्य थप सुदृढ र विस्तार गर्ने विषयमा दुवै पक्षको सकारात्मक धारणा रहेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
गृहमन्त्री गुरुङ युएईको दुबईमा आयोजित ‘विश्व प्रहरी शिखर सम्मेलन’ मा सहभागी हुन शुक्रबार त्यसतर्फ प्रस्थान गरेका थिए ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८