• कात्तिक २१, २०८३, शनिवार Saturday, 07 November, 2026

विपी राजमार्ग : जाइकाबाट पुनःनिर्माण सुरु

  • खबरदाता

विपी राजमार्ग : जाइकाबाट पुनःनिर्माण सुरु

काभ्रे– प्राकृतिक विपदबाट क्षतिग्रस्त बीपी राजमार्गको सिन्धुली बर्षेखोला–पिप्ले सडकखण्डमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग ९जाइका०ले पुनःनिर्माणको काम सुरु गरेको छ । सो खण्डसँगै अन्य तीन खण्डमा पुनःनिर्माणले तीव्रता पाएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।

कार्यालयका अनुसार बर्खेखोला–पिप्ले सडकखण्ड पुनःनिर्माणको लागि जाइकासँग दुई अर्ब ६० करोडमा सम्झौता भई काम सुरु भएको हो । डिभिजन प्रमुख सुमन योगेशले जाइकाले हालै काम सुरु गरेको जानकारी दिए ।

यस्तै, पिप्लेदेखि काभ्रेपलाञ्चोकको भकुण्डेबेँशीसम्मको खण्डमा पुनिःनिर्माणको काममा हालसम्म ५२ प्रतिशत भौतिक प्रगति भएको उनको भनाइ छ । उनका अनुसार डालाबेँशीदेखि चारसयबेँशीसम्म (आठ दशमलव पाँच किमी) पुनःनिर्माणको जिम्मा पाएको खानी–एवान–कमलजीत जेभीले २०८४ को जेठ अन्त्यसम्म निर्माणको काम सम्पन्न गर्ने जनाएको छ ।

यस्तै चारसयबेँशीदेखि भकुण्डेबेशीसम्म (११ दशमलव आठ किमी) सडक लामा–नवकान्तिपुर जेभीले आगामी ०८४ असार १७ गतेभित्र काम सम्पन्न गर्ने गरी प्रक्रिया अघि बढाएको योगशेको भनाइ छ । यसैगरि पिप्लेदेखि डालोबेँशी (दुई दशमलव तीन किमी) सडकखण्डको जिम्मा पाएको उमा एण्ड कम्पनी–भण्डारी जेभीको २०८४ कात्तिक २६ गतेसम्म निर्माण सक्नेछ । उनले भने, ‘बीपी राजमार्ग पुनःनिर्माणको काम लक्ष्य अनुरुप नै भइरहेको छ ।’

२०८१ साल असोज दोस्रोसाता रोशी खोलाको बाढीका कारण बीपी राजमार्गको काभ्रेको नमोबुद्धस्थित दाप्चाखोला १ नं पुलदेखि सिन्धुलीको नेपालथोकसम्म २९ किमी सडक पूर्णरूपमा क्षति भएको थियो ।

क्षतिग्रस्त राजमार्गमध्ये काभ्रेपलाञ्चोकतर्फको २५ दशमलव ११ किमी सडक तीन खण्डमा पुनःनिर्माणको काम भइरहेको छ । आगामी वर्षायाम अघि नै निर्माणाधीन तीन खण्डमा एक लेयरको कालोपत्रे गर्ने गरी तयारी भइरहेको योगेशले बताए । उनका अनुसार बाढीबाट क्षतिग्रस्त बीपी राजमार्ग ‘डेडिकेटेड डबल लेन’मा पुनःनिर्माण भइरहेको हो ।

सो राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकभित्र पर्ने पिप्लेदेखि डालाबेँशीसम्मको दुई दशमलव ३ किमी सडक पुनःनिर्माण गर्न उमा एण्ड कम्पनी–भण्डारी अमरज्योती जेभीसँग ६८ करोड ८० लाख, डालाबेँशीदेखि चार सयबेँशीसम्मको सडकका लागि लामा–नव कान्तिपुर जेभीसँग एक अर्ब ४२ करोड र चारसयबेँशीदेखि भकुण्डेबेँशीसम्मको सडक पुनःनिर्माणका लागि खानी–एवान–कमलजीत जेभीसँग एक अर्ब ३३ करोडमा सम्झौता भएको छ ।

यसैबीच बीपी राजमार्गमा हाल पुनःनिर्मित सडकबाटै सवारी आवागमन गराएको जनाइएको छ । ‘एक–दुई स्थानमा साघुँरो भएकाले डाइभर्सन बनाएर दुईतर्फी आवागमन गराइएको छ, अन्यत्र अप्ठेरो छैन,’ योगेशले भने ।

उनका अनुसार चौकीडाँडा र पिन्थलीमा भिरालो भएकाले हाल मर्मत भइराखेको र डाइभर्सन गरिएको छ । डालाबेँसी–पिप्ले खण्डमा पनि त्यस्तै व्यवस्था गरिएको छ ।

हाल पुनःनिर्मित सडकबाटै आवागमन गराइए पनि जाम नहुने योगेशको भनाइ छ । उजका अनुसार वर्षा भई सडक माथिबाट लेदो तथा पहिरो गई अबरुद्ध भए आधादेखि केही घण्टामै सडक खुलाउने गरी सामग्री व्यवस्थापन गरिएको छ ।

नेपालको पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने छोटो मार्गका रूपमा उक्त राजमार्गलाई लिइन्छ ।

क्षतिग्रस्त खण्ड पुनःनिर्माणका लागि सरकारले कुल आठ अर्ब ५० करोड स्रोत सहमति दिएको थियो । जसमध्ये काभ्रेपलाञ्चोकतर्फका तीन सडकखण्डलाई सात अर्ब ५० करोड र सिन्धुलीको एक सडकखण्डलाई एक अर्बको स्रोत सहमति दिइएको छ ।

योगेशका अनुसार पाँच वटा पुललाई दुई लेनमा परिणत गर्ने योजना छ । तीनवटै खण्डमा छ दशमलब तीन किलोमिटर आरसीसी पर्खाल निर्माण हुनेछ । जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३–०५४ देखि बीपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास १६० किमी सडक) निर्माण सुरु गरिएको थियो ।

खण्डखण्ड विभाजन गरी निर्माण सम्पन्न भएको राजमार्ग २०७२ असार १८ गते जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।

  • प्रकाशित मिति : कात्तिक २१, २०८३, शनिवार ०६:३४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८