• कात्तिक १३, २०८३, शुक्रवार Friday, 30 October, 2026

मोरङमा प्रहरीले गोली हानेर नियन्त्रणमा लियो लागुऔषध कारोबारी

  • खबरदाता

मोरङमा प्रहरीले गोली हानेर नियन्त्रणमा लियो लागुऔषध कारोबारी

करिब आधा किलो खैरो हेरोइन (ब्राउन सुगर), पेस्तोल र गोलीसहित मोरङको रतुवामाईबाट बिहीबार राती तीन जना पक्राउ परेका छन्।

लागुऔषध ओसारपसारमा संलग्न रहेको सूचनाका आधारमा पुगेको प्रहरी टोलीले गोली चलाएर उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीको गोली लागेर पक्राउ परेका दुई भारतीय नागरिक घाइते भएका छन् ।

पक्राउ पर्नेमा भारतको बिहार अररिया जिल्लाका २२ वर्षीय दीपककुमार बोसाक र ४० वर्षीय पुरन बोसाक तथा मोरङको रतुवामाई नगरपालिका–१ चुनिमारीका ३५ वर्षीय प्रमोद ठाकुर छन्।

घाइते दुवै भारतीय नागरिकको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार बुधबार राति करिब साढे ९ बजे रतुवामाई नगरपालिका–६ शनिश्चरेमा लागुऔषध नियन्त्रण ब्युरोको टोलीले उनीहरूलाई फेला पारेको थियो।

दुईवटा मोटरसाइकलमा रहेका उनीहरूलाई प्रहरीले रोक्न खोज्दा भाग्न थालेपछि गोली चलाइएको थियो ।

प्रहरीले आठ राउन्ड गोली प्रहार गरेको थियो। गोली लागेर दुवै भारतीय नागरिकको घुँडामुनि चोट लागेको छ ।

प्रहरीले उनीहरूको साथबाट करिब ५०० ग्राम खैरो हेरोइन, एक थान घरेलु पेस्तोल र त्यसमा लाग्ने एक राउन्ड गोली बरामद गरेको छ।

नियन्त्रणमा लिइएका दुई मोटरसाइकलमध्ये एउटामा भारतीय नम्बर प्लेट बीआर ३७ भी ३९२६ रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका तीनै जना लामो समयदेखि लागुऔषध कारोबारमा संलग्न रहेको आशंका छ। उनीहरूको कारोबार र अन्य संलग्नताबारे अनुसन्धान भइरहेको डिएसपी मिश्रले बताए ।

  • प्रकाशित मिति : कात्तिक १३, २०८३, शुक्रवार ०८:४६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८