• कात्तिक १३, २०८३, शुक्रवार Friday, 30 October, 2026

सातवटै प्रदेशमा भारी वर्षाको सम्भावना, राति सजग रहन आग्रह

  • खबरदाता

सातवटै प्रदेशमा भारी वर्षाको सम्भावना, राति सजग रहन आग्रह

देशका केही भूभागमा वर्षा भइरहेको छ । काठमाडौंलगायत विभिन्न स्थानमा वर्षा भइरहेको हो ।

पश्चिमी वायुको आंशिक प्रभाव र बिहीबारदेखि बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावका कारण वर्षा भइरहेको हो ।

नेपाल मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर अधिकांश स्थानमा बादल लाग्नेछ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागको अधिकांश स्थान तथा बाँकी भूभागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ ।

कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षा/हिमपात सम्भावना छ ।

विभागले राति देशभर अधिकांश स्थानमा बादल लाग्ने बताएको छ । देशका अधिकांश स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

देशको थोरै स्थानमा भारी वर्षा/हिमपात सम्भावना रहेको विभागले बताएको छ ।

मौसमविद् विनोद पोखरेल रातभर कोसीदेखि वाग्मतीसम्म लगभग सबै ठाउँमा एकनासको हल्का वर्षा भएको बताउँछन् । मध्यरातपछि लुम्बिनी र गण्डकीका पूर्वी भागमा पनि वर्षा सुरु भएको उनले बताएका छन् ।

“आज दिनभर लगभग यस्तै वर्षा हुने देखिन्छ । तर, अपराह्न वा साँझदेखि नेपालको पूर्वी नेपालका आधा भागमा भारी वर्षाको सम्भावना छ,” मौसमविद् पोखरेल भन्छन्, “विशेषगरी राति ठूलो पानी पर्न सक्ने भएकाले बढी सजग रहनुपर्ने देखिन्छ ।”

  • प्रकाशित मिति : कात्तिक १३, २०८३, शुक्रवार ०६:२६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८