संस्थापनइतर पक्षका नेता पूर्णबहादुर खड्काले नेपाली कांग्रेसको जारी महाधिवेशनमा भाग नलिने बताएका छन् ।
फेसबुकमा एक वक्तव्य जारी गर्दै खड्काले गगन थापा नेतृत्वको कार्यसमितिलाई गैरकानुनी भन्दै जारी महाधिवेशनका कुनै पनि प्रक्रियामा सहभागी नहुने बताएका हुन् ।
“विशेष महाधिवेशन, त्यसबाट निर्वाचित सभापति र कार्यसमिति विधान तथा राजनीतिक दलसम्बन्धी ऐनविपरीत रहेकाले सर्वोच्चमा मुद्दा विचाराधीन छ, खड्काले भनेका छन्, यस्तो अवस्थामा गगन थापाको हस्ताक्षरको टिकटबाट चुनाव लड्नु र उहाँकै नेतृत्वको महाधिवेशनमा भाग लिनु चरम अनैतिक कार्य हुन्छ ।”
सोही कारण आफू महाधिवेशनमा सहभागी नहुने खड्काको भनाइ छ । “यस्तो अवस्थामा सभापति गगन थापाको नेतृत्वमा प्रारम्भ भएको कांग्रेसको महाधिवेशनमा भाग लिनु चरम अनैतिक काम हुने मेरो विश्वासको कारणले म महाधिवेशनमा सहभागी नभएको व्यहोरा सम्बन्धित सबैमा प्रष्ट पार्न चाहान्छु,” उनले भनेका छन् ।
उनले सर्वोच्च अदालतको पूर्ण इजलासले पुनरवलोकनको निस्सा (अनुमति) दिइसकेको अवस्थामा पनि महाधिवेशन रोक्न अन्तरिम आदेश नदिएकामा असन्तुष्टि जनाएका छन् । अन्तरिम आदेश नआउँदा पार्टीभित्र अलग–अलग दुईवटा महाधिवेशन हुने वातावरण बनेको र यसले कांग्रेसलाई विभाजनको अन्तिम संघारमा पुर्याएको उनले उल्लेख गरेका छन् ।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश तथा न्यायाधीशहरूसमक्ष मुद्दालाई अग्राधिकार दिएर यथाशीघ्र अन्तिम फैसला सुनाउन उनले आग्रह गरेका छन् । अदालतले गर्ने अन्तिम फैसला आफूहरूका लागि पूर्ण रूपमा स्वीकार्य हुने र सम्भावित पार्टी विभाजन रोक्न अझै पनि अन्तिम प्रयास भइरहेको दाबी उनको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८