रसुवाको टिमुरे बजारमा बाढीका कारण करिब २०० जना उद्धारको पर्खाइमा रहेको स्थानीयले बताएका छन्।
टिमुरे बजारका स्थानीयका अनुसार उनीहरू सुरक्षित स्थानमा उद्धारको प्रतीक्षामा छन्। ‘हामी २०० जनाजति उद्धारको पर्खाइमा छौँ। माथि हेलिकप्टर घुमेका छन्, तर हामीसम्म आइपुगेको छैन,’ स्थानीयले भनेका छन्।
उनीहरूले सरकारी निकायले आफूहरूसँग तत्काल सम्पर्क गरी उद्धार गरिदिए ठूलो राहत हुने बताएका छन्।
तिब्बततर्फबाट अचानक आएको बाढीले रसुवाको टिमुरे, स्याफ्रुबेँसीलगायतका क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। बाढीले नुवाकोटतर्फको बेत्रावती बजारसमेत प्रभावित भएको बताइएको छ।
यसैबीच, रसुवाको मैलुङ भीरमा सुरक्षित रहेका स्थानीय युवा अर्जुन न्यौपानेले खाल्टे, बेत्रावती र त्रिशूली–बट्टार क्षेत्रका बस्ती जोगाउन आग्रह गरेका छन्।
बाढीका कारण ठूलो जनधनको क्षति भइरहेको विवरण आइरहेका बेला न्यौपानेले आफूहरू मैलुङको भीरमा सुरक्षित रहेको बताएका छन्। उनले आफन्तहरूलाई आफूहरूको अवस्थाबारे ‘पिर’ नगर्न आग्रह गरेका छन्।
न्यौपानेका अनुसार आफूहरूमध्ये ६ जना ओडारमा सुरक्षित बसेका छन्। तर, उनले आफ्ना अन्य साथीहरू सबैको अवस्था थाहा हुन नसकेको बताएका छन्।
‘साथीहरू सबै देखेको छैनौँ,’ उनले भनेका छन्। उनले बाढीको बहाव तलतर्फ बढिरहेकाले खाल्टे, बेत्रावती तथा त्रिशूली–बट्टार क्षेत्रका बस्तीलाई तत्काल सुरक्षित गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८