निरन्तरको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न भागका छ वटा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्।
नेपाल प्रहरीका अनुसार बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी आवागमन रोकिएको छ। उक्त सडकमा बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म मात्र सवारी सञ्चालन हुँदै आएको छ।
मकवानपुरस्थित कान्ति लोकपथमा पनि वर्षायामको जोखिमका कारण बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अविनारायण काफ्लेका अनुसार इलाम नगरपालिका–९ राजदुवाली क्षेत्रमा सडक हिलो भएपछि गत असार २३ गतेदेखि मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ।
अर्घाखाँचीको पाणिनी गाउँपालिका–२ ढुङ्गेखोलामा सडकमाथिबाट ठूलो ढुङ्गा खसेपछि गत असार २८ गतेदेखि सालझन्डी–ढोरपाटन सडक अवरुद्ध भएको छ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जिरोकिलामा पहिरो खसेपछि गत असार ३१ गतेदेखि अरनिको राजमार्ग अवरुद्ध छ। यस्तै, भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित इकु क्षेत्रमा पनि ढुङ्गा, माटो र लेदो खसेपछि आवागमन पूर्ण रूपमा बन्द भएको छ।
त्यसैगरी बागलुङको जैमिनी नगरपालिका–८ बेलबगर क्षेत्रमा सडकमाथिबाट पहिरो खसेपछि कालीगण्डकी करिडोर पनि पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
प्रहरीले वर्षायाममा यात्रा गर्दा सडक अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न तथा जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८