त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्दा आगो लागेको टर्किस एयरको विमान कोलकत्तामा सकुशल अवतरण भएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार, बुधबार (माघ २१) टर्किस एयरलाइन्सको उडान नम्बर टीके–७२७ ए–३३३ बिमान दिउँसो १ बजेर २९ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको थियो । उडान भरेको केही समयपछि फोर डीएमई वेस्ट क्षेत्रमा विमानको दायाँ इन्जिनमा आगलागी भएको संकेत देखिएपछि ‘राइट इन्जिन अन फायर’ भन्दै काठमाडौं एप्रोच कन्ट्रोलमा जानकारी गराइएको थियो ।
घटनापछि जहाजलाई केही समय आकाशमै होल्ड गराई आवश्यक प्रक्रिया पूरा गरिएको थियो । त्यसपछि सुरक्षाका कारण भारतको कोलकत्ता ९भीईसीसी० विमानस्थलतर्फ डाइभर्ट गरिएको प्राधिकरणले जनाएको छ । जहाज निर्धारित समयअनुसार दिउँसो ३ बजेर ३ मिनेटमा कोलकत्ता विमानस्थलमा सुरक्षित अवतरण गरिएको हो ।
उक्त जहाजमा चालक दलका ११ सदस्यसहित २२५ यात्रु सवार रहेका थिए । सबै यात्रु तथा चालक दल सुरक्षित रहेको विमानस्थल कार्यालयले जनाएको छ ।
घटनासम्बन्धी थप विवरण संकलन भइरहेको जनाउँदै प्राधिकरणले यात्रु तथा सरोकारवालालाई सम्पूर्ण जानकारीका लागि सम्बन्धित निकायसँग सम्पर्क गर्न आग्रह गरेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८