[ फाेटाे : पहिरोका कारण सडक अवरुद्ध भएपछि चितवनको इच्छाकामना-४ कुरिनटारमा रोकिएका सवारीहरु । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ १० जवाङ खोलामा आज बिहान पहिरो खसेपछि सडक अवरुद्ध हुदाँ काठमाडौँ हिडेँका सवारी साधनहरु कुरिनटारमै रोकिएका हुन् । तस्बिर ः हीरालाल गुरुङ÷रासस ]
सरकारले राजमार्गहरू बन्द गरेपछि देशका विभिन्न स्थानमा यात्रुहरूको सडकमै बिचल्ली परेको छ। खासगरी दसैँ मनाएर कार्यस्थल फर्किन थालेका मानिसहरू समस्यामा परेका छन् ।
सरकारले बाढीपहिरोको जोखिम उत्पन्न हुनसक्ने भन्दै अत्यावश्यकबाहेक यात्रा नगर्न सुझाव दिएको थियो । तर अत्यावश्यक परेका यात्रुहरू गन्तव्यका लागि निस्केका बेला सरकारले राजमार्गहरू बन्द गरेपछि उनीहरू समस्यामा परेका हुन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लामो दूरीका र काठमाडौं उपत्यका भित्रिने तथा यहाँबाट बाहिरिने सवारी साधन आगामी तीन दिनसम्म सञ्चालन नगर्न सम्बद्ध सबैपक्षसँग आग्रह गरेको छ ।
प्राधिकरणले आज सार्वजनिक सूचना जारी गरेर भारी वर्षाका कारण पहिरो, डुबान र बाढीको जोखिम बढ्ने भएकाले आगामी तीन दिन सवारी साधन सञ्चालन नगर्न सम्बद्ध पक्षलाई अनुरोध गरिएको तथा त्यसको अनुगमन गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई आग्रह गरिएको जनाएको छ ।
ट्राफिक प्रहरीले काठमाडौंबाट बाहिरिन लागेका सवारीसाधनहरूलाई फिर्ता गरेको छ भने भित्रिने विभिन्न नाकाहरूमा पनि सवारीसाधन रोकिएका छन् । शुक्रबारदेखिको निरन्तरको वर्षाका कारण बीपी राजमार्गका विभिन्न स्थानमा लेदासहितको पहिरो खसेपछि ट्राफिक प्रहरीले धुलिखेल, काभ्रेभन्ज्याङ, भकुण्डे र मङ्गलटारमा सवारी साधन रोकेको छ ।
यात्री र सवारी साधनको सुरक्षालाई दृष्टिगत गर्दै ती स्थानबाट अगाडि जाने अनुमति नदिइएको ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुनिल धाँजुले जानकारी दिए । यसैबीच, पहिरोका कारण बिहानदेखि अवरुद्ध अरनिको राजमार्ग एकतर्फी सञ्चालन भएको छ । धुलिखेल–खावाखण्डअन्तर्गत तिरतिरे धारामा पहिरो खसेकाले राजमार्गमा एकतर्फी रूपमा सवारी साधन सञ्चालन गरिएको छ ।
पानी पर्ने क्रम रोकिएको छैन भने २० गतेसम्म निरन्तर वर्षा हुने मौसमविद्को प्रक्षेपण छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८