• असार २८, २०८३, आइतवार Sunday, 12 July, 2026

नेपालमा दोस्रोपटक एम्पक्स संक्रमण पुष्टि

  • खबरदाता

नेपालमा दोस्रोपटक एम्पक्स संक्रमण पुष्टि

नेपालमा दोस्रोपटक एम्पक्स संक्रमण पुष्टि भएको छ । साउदी अरेबियाबाट नेपाल फर्किएका तनहुँका ३६ वर्षीय एक पुरुषमा एम्पक्स पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

‘परीक्षण पोजिटिभ भए पनि बिरामीको स्थितिमा केही जटिलता नभएको र चिकित्सकको निगरानीमा उपचार र रेखदेख निरन्तर भइरहेको जानकारी गराउँदछौँ, ‘ मन्त्रालयले शुक्रबार एक विज्ञप्तिमार्फत भनेको छ ।

मन्त्रालयका अनुसार, ती पुरुष खटिराको समस्या लिएर काठमाडौंको ग्रान्डी इन्टरनेसनल अस्पतालमा बिहीबार उपचारका लागि गएका थिए । बिहीबार नै ग्रान्डीले एम्पक्ससँग मिल्दोजुल्दो शंकास्पद लक्षण भएकाले शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा पठाएको थियो । बिहीबार नै उनलाई आइसोलेसनमा राखेर थप परीक्षणका लागि नमुना संकलन गरिएको थियो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणबाट शुक्रबार एम्पक्स पुष्टि भएको हो ।

‘यसका सन्दर्भमा थप खोज अनुसन्धान तथा उपचारको कार्य जारी रहेको छ । यससँगै नेपालमा यो एम्पक्स पुष्टि भएको दोस्रोपटक हो,’ मन्त्रालयले भनेको छ ।

यसअघि, नेपालमा गत असार १ गते पहिलोपटक ६० वर्षीया नेदरल्यान्डकी नागरिकमा मंकिपक्स (एम्पक्स) संक्रमण पुष्टि भएको थियो ।

कसरी सर्छ एम्पक्स ?

एमपक्स रोग संक्रमित व्यक्ति वा संक्रमित पशुसँगको सम्पर्कमा आउँदा घाउ खटिरा, (बिमिराको सम्पर्क, शरीरबाट निस्किएको तरल पदार्थ जस्तैस थुक, र्‍यालको सम्पर्कबाट, भाइरसबाट दूषित सतह र सामग्रीको प्रत्यक्ष), संक्रमित बाँदर, मुसा, लोखर्केलगायत जनावर र भाइरस रहेको ओछ्यान र लुगाबाट सर्छ ।

मन्त्रालयका अनुसार, यसले ज्वरो आउने, सामान्यतया ज्वरो सुरु भएको एकदेखि तीन दिनभित्र छाला, अनुहार, हत्केला, र पैतालामा डाबर देखापर्ने, डाबर परिवर्तन भएर फोका हुँदै पाप्रा लागेर उप्किने, टाउको, ढाड र मांसपेशी दुख्ने र शरीरका ग्रन्थी बढ्ने हुन्छ । आँखामा संक्रमण भएर दृष्टि गुम्ने, निमोनिया, मस्तिष्क ज्वरो, गर्भ खेर जाने र मृत्युसमेत हुन सक्छ ।

  • प्रकाशित मिति : पुस ६, २०८१, शनिवार ०६:१७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८