• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

सहकारी प्रकरण- छवि चितवनमा, रविको काठमाडौंमा बयान चल्दै

  • खबरदाता

सहकारी प्रकरण- छवि चितवनमा, रविको काठमाडौंमा बयान चल्दै

सहकारी संस्थाको बचत हिनामिना र ठगी प्रकरणमा मुछिएका पूर्वडीआईजी छविलाल जोशीलाई बयानका लागि चितवन ल्याइएको  छ ।

चितवनस्थित सहकार सहकारी संस्थाको बचत हिनामिना प्रकरणमा मुछिएका उनलाई आइतबार पोखराबाट जहाजमार्फत् चितवन ल्याइएको  हो ।

काठमाडौंस्थित गोर्खा मिडिया नेट्वर्कको ग्यालेक्सी टेलिभिजनका सञ्चालसमेत रहेका जोशीसँगै रामबहादुर खनाललाई पनि चिवतन ल्याइएको  छ ।

पोखरास्थित सूर्यदर्शन सहकारी संस्थाको बचत ठगी प्रकरणमा प्रहरीले नेचर हर्ब्स इन्टरनेशनलका सञ्चालक रामबहादुर खनाललाई गत ९ कात्तिकमा पक्राउ गरेको थियो ।

यस्तोमा यी दुवैजनालाई जहाजमार्फत् बयानका लागि आइतबार जिल्ला सरकारी वकिलको कार्यालय चितवनमा पेश गरिँदैछ । उनीहरूविरुद्ध गत ७ मंसिरमा चितवन जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।

पीडितहरूले दिएको पूरक जाहेरीका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १० जनाविरुद्ध चितवनबाट पनि पक्राउ पुर्जी जारी भएको थियो ।

पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछाने र साझेदार जोशीविरुद्ध उनकै गृहजिल्ला चितवनमा ५ मंसिरमा सहकारी ठगी प्रकरणमा पीडितहरूले पूरक जाहेरी दिएपछि पक्राउ पुर्जी जारी भएको थियो।

गत कात्तिक ३ गतेदेखि कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेसहित १० जनाविरुद्ध सहारा चितवन बहुउद्धेश्यीय सहकारी संस्थाका बचतर्कताले जाहेरी दिएका थिए । सहकारी पीडित संघर्ष समितिका अध्यक्ष शालिकराम दवाडीले रवि र छविसहित १० जनाविरुद्ध जाहेरी दिएका थिए ।

रविको निर्वाचन क्षेत्रमा पनि कार्यक्षेत्र रहेको सहारा सहकारी संस्थाबाट गोर्खा मिडिया नेटवर्कमा १० करोड ८० लाख १८ हजार रूपैयाँ अवैध बाटोबाट लगानीका रुपमा भित्र्याएको संसदीय छानबिन समितिले पनि पत्ता लगाइसकेको छ ।

रविकै साझेदार गितेन्द्रबाबु राई ९जीबी० अध्यक्ष रहेको सहारा सहकारी संस्थाको बच ठगी प्रकरणमा नेपाल प्रहरीका पूर्व डीआईजी एवम् गोर्खा मिडियाका लगानीकर्ता छविलाल जोशी पनि तानिएका छन् ।

सहारा सहकारीका बचतकर्ताले यसअघि नै चितवन प्रहरीमा जाहेरी दिइसकेका थिए । तर पीडितहरूले रविसहित १० जनाविरुद्ध पूरक जाहेरी दिएपछि पक्राउ पुर्जी जारी गरिएको थियो ।

लामिछाने र जोशी पोखरास्थित सूर्यदर्शन सहकारी संस्था, बुटवलस्थित सुप्रिम सहकारी, पर्सास्थित सानोपाइला, चितवनको सहारा र काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत हिनामिना र ठगी प्रकरणको अनुसन्धानमा तानिएका छन् ।

रवि र छविविरुद्ध कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरिसकेको छ ।

रवि भने काठमाडौंमा जारी पक्राउ पुर्जीका आधारमा शुक्रबारदेखि जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् । उनको आइतबार पनि बयान चलिरहेको छ ।

उता छविलाललाई भने काठमाडौं बयान सकाएर पोखरा लगिएको थियो । अब उनको बयान सकिएपछि पोखरा नै फर्काइने छ । रविलाई पनि कठमाडौंमा बयान सकेर पोखरा लगेपछि चितवनमा बयानका लागि उपस्थित गराइँदैछ ।

  • प्रकाशित मिति : मंसिर १६, २०८१, आइतवार १४:०८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८