• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

सुनको आयातमा ५९.३ प्रतिशतले कमी

  • खबरदाता

सुनको आयातमा ५९.३ प्रतिशतले कमी

फागुन -९, २०८०

काठमाडौँ । स्थानीय बजारमा सुनको माग घट्दा आयातमा उल्लेख्य गिरावट आएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको छ महिना (साउन–पुस) मा सुनको आयातमा ५९.३ प्रतिशतले कमी आएको छ । सुनको मूल्य बढेसँगै आन्तरिक बजारमा खपत न्यून हुँदा आयातमा कमी आएको हो ।

उपभोक्ताको क्रयशक्ति न्यून हुँदा बजारमा माग पनि कम भएपछि त्यसको असर आयातमा पर्न गएको हो । विभागका अनुसार आव २०७९-८० मा ४३ अर्ब ८९ करोड ९८ लाख ९१ हजार रुपियाँको आयात भएको थियो । चालु आवको छ महिनामा भने सुनको आयात आधाभन्दा बढीले घटेको छ । चालु आवको सुरुदेखि नै सुनको आयातमा कमी हुँदै आएको हो । यो वर्ष मङ्सिर महिनामा सुनको मूल्य बढेर सबैभन्दा धेरै प्रतितोला एक लाख २२ हजार रुपियाँसम्म पुगेको थियो । पछिल्लो समय भने घटेर एक लाख १८ हजार रुपियाँमा झरेको छ ।

सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले मूल्यवृद्धि, आर्थिक गतिविधि सक्रिय रूपमा चलायमान नहुनु, उपभोक्तासँग पर्याप्त क्रयशक्ति नहुँदा बजारमा सुनको माग घटेर आयातमा समेत कमी आएको जानकारी दिए । बजारमा माग न्यून हुँदा सुनको कारोबारमा ७० प्रतिशतले कमी आएको उहाँले जानकारी दिए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

  • प्रकाशित मिति : फागुन ९, २०८०, बुधवार ०६:४२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८