• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

तीन ठुला उद्योगले २ अर्ब बढी बक्यौता नतिरेपछि विद्युत लाइन काटियाे

  • खबरदाता

तीन ठुला उद्योगले २ अर्ब बढी बक्यौता नतिरेपछि विद्युत लाइन काटियाे

पुस १५, २०८०

 

मोरङ- कोसी प्रदेशमा विद्युत उपयोग गरेवापत २ अर्ब रुपैयाँभन्दा बढी बक्यौता रकम नबुझाउँदा तीनवटा ठूला उद्योगको विद्युत प्रसारण कटौति गरिएको छ ।

विराटनगरस्थित नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख इन्जिनियर उमेश झाका अनुसार लामो समयदेखि विद्युत उपभोग र प्रिमियमसहितको महसुल नतिरेको अवस्थामा मोरङ, धनकुटा, र सुनसरीका तीन वटा उद्योगको लाइन काटिएको हो ।

मोरङको बाबा जुट मिल्स, धनकुटाको निगाले सिमेन्ट र सुनसरीको खनारमा रहेको रिलायन्स स्पिनिङ मिल्सको विद्युत लाइन काटेको प्रमुख झाले जानकारी दिए ।

निर्देशानालयका अनुसार हालसम्म बाबाले ५ करोड ६१ लाख, सुनसरीको रिलायन्स स्पिनिङले १ अर्ब ९४ करोड २६ लाख र धनकुटास्थित निगाले सिमेन्टले १४ करोड २० लाख रुपैयाँ प्राधिकरणलाई तिर्न बाँकी रहेको छ ।

प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंकलाईन फिडर प्रयोग गरेपछि रकम नतिरेको जनाउँदै पहिलोचरणमा सुनसरीको रियलान्यसको विद्युत काटेको हो ।

निर्देशनालयका प्रमुख झाका अनुसार उदयपुरस्थित उदयपुर सिमेन्टको विद्युत कटौतिबारे निर्णय हुन बाँकी रहेको जानकारी दिए । उदयपुर सिमेन्टले प्राधिकरणको ३८ करोड ७८ लाख रकम तिर्न बाँकी रहेको छ। त्यसैगरी, सुनसरीको अरिहन्त मल्टिफाइवर्स, अरिहन्त पोलिप्याक र मोरङको रघुपति जुटमिल्सले समेत ४५ करोड बढी रुपैयाँ प्राधिकरणलाई बक्यौता तिर्न बाँकी रहेको छ । यद्यपि, तीनवटै उद्योगले जिल्ला अदालत मोरङमा प्राधिकरणविरुद्ध मुद्धा दायरगरेका थिए । सोक्रममा पुष ८ गते अदालतले स्टे अर्डर जारी गरेछि हाल प्राधिकरणले तीन उद्योगको विद्युत सेवा कटौति गरेको छैन ।

प्राधिकरणका अनुसार २०७२ सालदेखि २०७५ सालसम्मको समयमा मुलुकका २३९ वटा उद्योग तथा कम्पनीले ३३ केभिएको डेडिकेटेड फिडर र ट्रङ्क लाइन फिडरको सेवा लिएका थिए । सोही सेवा लिएका उद्योगहरूले प्राधिकरणको ठूलो रकम नतिरेपछि विद्युत सेवा काट्न थालेको हो ।

यसक्रममा १७८ वटा उद्योगहरुले विद्युत महसुल तिरेको र बाँकी ६१ वटा उद्योगको करिब २२ अर्ब बढी रकम प्राधिकरणलाई तिर्नुपर्ने बक्यौता रहेको छ ।

  • प्रकाशित मिति : पुस १५, २०८०, आइतवार १५:१० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८