• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

चितवनमा मिटरब्याजीले लिएको ७ कठ्ठा बढी जग्गा फिर्ता

  • खबरदाता

चितवनमा मिटरब्याजीले लिएको ७ कठ्ठा बढी जग्गा फिर्ता

मंसिर २२, २०८०

 

चितवनमा मिटरब्याजीले लिएको सात कठ्ठा १३ दशमलव पाँच धुर जग्गा छलफलबाट पीडितलाई फिर्ता गरिएको छ । भरतपुर महानगरपालिका–४ निवासी पीडितको जग्गा भरतपुर –२ निवासी पीडकले फिर्ता गर्ने सहमति गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालयमा अनुचित लेनदेन (मिटरब्याजी) विरुद्ध परेका उजुरीमध्ये उनीहरूले जग्गा फिर्ता गर्ने र कानुनबमोजिम ब्याजसहित रकम फिर्ता गर्ने सहमति भएको हो ।

कार्यालयका नायबसुब्बा विश्वास श्रेष्ठका अनुसार निवेदकले २०७२ सालमा एक करोड ५० लाख रूपैयाँ र चार स्थानका पाँचवटा कित्ताको जग्गा लेनदेन गरेका थिए ।

उनका अनुसार पहिलो तीन महिनामा पीडितले एक करोड २० लाख रूपैयाँ रकम फिर्ता गर्ने र पीडकले ६ कठ्ठा १३ दशमलव पाँच धुर जग्गा फिर्ता गर्ने सहमति भएको छ ।

दोस्रो चरणमा पीडकले सहमति भएको ६ महिनाभित्र बाँकी रहेको ३० लाख रूपैयाँ र कानुनअनुसारको ब्याज रकम भुक्तानी गरेमा बाँकी एक कठ्ठा जग्गा फिर्ता गर्ने सहमति भएको छ ।

दुवै पक्षले सहमति कार्यान्वयनमा आएको जानकारी स्थानीय प्रशासनलाई दिनुपर्ने छ । यसअघि कार्यालयले पूर्वी चितवनका एकजना पीडितको दुई कठ्ठा जग्गा छलफलमार्फत फिर्ता गराइएको थियो।

कार्यालयमा २०८० साल वैशाख १९ देखि जेठ १४ गतेसम्म ६० वटा र जेठ १७ देखि भदौ ३१ गतेसम्म २७ वटा अनुचित लेनदेनका उजुरी परेका थिए । जसमध्ये २१ वटा उजुरीको छलफलमार्फत सहमतिमा टुङ्गो लगाइएको उनले जानकारी दिए ।

अनुचित लेनदेनसम्बन्धी जाँचबुझ आयोगले निवेदन आह्वान गरेपछि ८७ वटा उजुरी परेका छन् । परेका उजुरीमध्ये अधिकांश जग्गाको कारोबारका रहेका छन् ।

पीडितले दृष्टिबन्धक भनेर दिएको जग्गा पीडकले नामसारी गरेर लिएको भन्दै उजुरी परेको उनले बताए । अधिकांशले जग्गा फिर्ता गरिदिन निवेदन दिएका छन् ।– रासस

  • प्रकाशित मिति : मंसिर २२, २०८०, शुक्रवार ०६:५३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८