साउन ३०, २०८०
त्रिशूली नदीमा आएको बाढीले धादिङ र गोरखा जोड्ने २ वटा झोलुङ्गे पुलमा क्षति पुग्दा विशेषगरी किसान र विद्यार्थी समस्यामा परेका छन् ।
किसालने उत्पादन भएको तरकारी तथा फलफूल बिक्री गर्न बजार पुर्याउन पाएका छैनन् भने नदी तरेर आउजाउ गर्ने विद्यार्थी विद्यालय पुग्न सकेका छैनन् ।
गण्डकी गाउँपालिकाको भुम्लिचोक र ध्याल्चोकका किसानले बारीमा उत्पादन गरेका तरकारी तिनै झोलुङ्गे पुलबाट आउजाउ रोकिँदा मुख्य सडकसम्म पुर्याउन पाएका छैनन् । ती क्षेत्रमा उत्पादन भएका तरकारी काठमाडौं चितवन लगायतका क्षेत्रमा पठाएर बिक्री गरिँदै आएको छ । पुलबाट तरकारी लिएर बजार किनमेलमा आउने ९४ घरधुरी किसानको बजारसँगको सम्पर्कविच्छेद भएको स्थानीय सीता गिरीले जानकारी दिइन् । पुलमा ओहोरदोहोर गर्न नसक्दा गण्डकी गाउँपालिका र बेनीघाट रोराङ गाउँपालिकाका वासिन्दालाई समस्या भएको छ ।
बाढीले पुलमा क्षति पुगेपछि दैनिकरूपमा पठनपाठनका लागि विद्यालय आउजाउ गर्नुपर्ने विद्यार्थी पनि विद्यालय जान–आउन समस्या भएको छ । पुलमा क्षति पुगेपछि मझिमटारमा रहेको शंखादेवी माविमा पढ्ने गोरखाका विद्यार्थी विद्यालय आउन पाएका छैनन् ।
गोरखाबाट धादिङको बेनीघाटस्थित शंखादेवी माविमा मात्रै २२ विद्यार्थी रहेको शिक्षक तिलक चेपाङले बताए । उनीहरूलाई वैकल्पिक बाटो प्रयोग गर्दा दैनिक ४ घण्टाभन्दा बढी समय पैदल हिँड्नुपर्छ ।
लगातार वर्षापछि त्रिशूली नदीमा आएको बाढीले धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ चरौंदी र गोरखाको गण्डकी गाउँपालिका–७ जोड्ने त्रिशूली नदीमाथिको झोलुङ्गे पुल क्षति भएको छ । धादिङको बेनीघाट रोराङ–१० र गोरखाको गण्डकी–६ जोड्ने हिक्लुङघाटको झोलुङ्गे पुलमा पनि क्षति पुर्याएको छ ।
दुवै पुलका केही डन्डी भाँचिएको छ भने लठ्ठा झोल्लिएको छ । बाढीले बगाएर ल्याएका काठ दाउरा पुलमा अड्किएको छ । अहिले पुलबाट आवतजावत गर्न सकिने अवस्था नरहेको स्थानीयले बताएका छन् । बाढीले हिर्काएर हिक्लुङघाट माथिको झोलुङ्गे पुलको ट्रस्ट नै बगाएको छ । धवादीघाटमाथिको झोलुङ्गे पुलको भने बाढीले लठ्ठा छिनेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८