साउन- १७,२०८०
अदालतको आदेशपछि २२ दिनमै पदमुक्त बनेका कोसी प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा पदमुक्त बनेको ६ दिनपछि फेरि मुख्यमन्त्री नियुक्त भएका छन् । थापा कोसी प्रदेशका छैटौँ मुख्यमन्त्री नियुक्त भएका हुन् । केन्द्रीय सत्ता बाँडफाँडमा देखिएको अस्थिरताको कारण प्रदेशसभाको दोस्रो कार्यकालमै तेस्रो मुख्यमन्त्री बनेका थापाको पहिलो कार्यकाल २२ दिनको मात्रै रह्यो । पहिलो कार्यकालमा विश्वासको मत लिन नपाउँदै पद गुमाएका थापालाईे अझै विश्वासको मत पाउन सहज भने छैन ।
गत असार २१ गते कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका ४६ प्रदेशसभा सदस्य र सभामुख बाबुराम गौतमको छुट्टै समर्थन लिएर थापा पहिलोपटक मुख्यमन्त्री नियुक्त भएका थिए । तर, सर्वोच्च अदालतले सभामुखले समर्थन गरेर सरकार निर्माण गर्न नमिल्ने फैसला गरेपछि उनी पदमुक्त भएका थिए । साथै सभामुख भएर सरकार निर्माणमा प्रयोग हुनु र गरिनु संवैधानिक नैतिकताका विरुद्धमा भएको टिप्पणी अदालतले गरेको थियो ।
मुलुकको सर्वोच्च न्यायालयले गरेको उक्त फैसलाको अक्षर र भावनाको कदर गर्ने हो भने सभामुख गौतमसँगै प्रदेश प्रमुख परशुराम खापुङ र मुख्यमन्त्रीमा नियुक्त भएका उद्धव थापाले तत्काल सार्वजनिक पद छाड्नुपर्ने हो । तर नैतिकताको खडेरी परेको नेपालमा जति धेरै अनैतिक काम गर्यो उति माथि पुगिने नजिरहरु बनाइँदै छ ।
प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो कुर्सी जोगाउन सभामुख गौतमलाई बलि चढाएका छन् । जबकि एक सभामुख भइसकेपछि उनलाई कुनै दलको ह्वीप वा निर्देशन लाग्दैन । कुनै पार्टी वा गठबन्धनको स्वार्थ र योजनामा चल्न पनि मिल्दैन । उनलाई यस खालका स्वार्थ र योजनामा चलाउन पनि पाइँदैन । अझ दाहाल संघीय सरकारका प्रधानमन्त्री हुन् । संघीय कार्यपालिकाले प्रदेश व्यवस्थापिका प्रमुखमाथि यसखालको दबाब सिर्जना गर्नु झनै अनैतिक र गैरसंवैधानिक काम हो ।
दाहालले आफ्नो कुर्सी जोगाउन यो हदसम्मको हर्कत गर्नु त कुनै अनौठो भएन । माओवादीका यस्तै असंवैधानिक र असंसदीय हर्कतको सहारामा कांग्रेसले मुख्यमन्त्री पदका निम्ति गिड्गिडाउनु भयानक लज्जाको विषय हो । भलै संसदीय व्यवस्था र लोकतन्त्रलाई नै दरबारमा बुझाएर केही दिनका लागि प्रधानमन्त्रीको पद सुरक्षित गरेका शेरबहादुर देउवालाई प्रचण्डका यस खालका हर्कत लोकतान्त्रिक नै लागिरहेका होऊन् ।
साउन ११ गते सर्वोच्चले थापाको मुख्यमन्त्री नियुक्ति प्रक्रिया असंवैधानिक भएको भन्दै बदर गरिदिएपछि प्रदेश प्रमुख परशुराम खापुङले मंगलबार ५ बजेभित्र मुख्यमन्त्रीमा दावी पेश गर्न आह्रवान गरेका थिए । उनले संविधानको धारा १ सय ६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकारको दाबी पेस गर्न भनेका थिए । थापालाई पुनः मुख्यमन्त्री बनाउन सत्तारुढ गठबन्धनले निकै कसरत गर्नुपरेको थियो । थापाले मुख्यमन्त्री पद त पाएका छन् तर अब उनी त्यो पदमा ३० दिन पनि टिक्न मुस्किल छ ।
राप्रपालाई रिझाएर थापालाई मुख्यमन्त्री बनाउने प्रयास असफल भएपछि गठबन्धनले सभामुख गौतमको राजीनामाको बाटो रोजेको कतै छिपेको छैन । पहिलोपटक विश्वासको मत लिन नपाउँदै मुख्यमन्त्री पद गुमाएका थापालाई आगामी दिन झनै सहज छैनन् । उनले ३० दिनभित्र विश्वासको मत लिनपर्ने संवैधानिक व्यवस्था छ । सत्ता पक्षसँग ४७ सांसद त छन् तर ती सबै मत आफ्नो पक्षमा खसाउन थापालाई मुस्किल छ ।
विपक्षी नेकपा एमालेका ४० र राप्रपाका ६ गरी ४६ सांसद छन् । उपसभामुखले सभा सञ्चालन गरेको अवस्थामा विश्वासको मत लिने दिन सत्ता गठबन्धनको सदस्य संख्या ४७ पुग्न सक्छ । तर, विश्वासको मत लिने मितिअगावै उपसभामुखले राजीनामा दिए फेरि गठबन्धनलाई समस्या हुनेछ । नेपालको संविधानको धारा १८२ को उप धारा ५ मा सभामुख र उप सभामुख दुवै पद रिक्त रहेको अवस्थामा प्रदेश सभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये उमेरको हिसाबले ज्येष्ठ सदस्यले गर्ने उल्लेख छ । कोसी प्रदेशसभामा ज्येष्ठ सदस्य गयानन्द मण्डल कांग्रेसकै हुन् । त्यसैले थापालाई सरकार बनाउन र टिकाउन राप्रपाको आड लिनैपर्ने हुन्छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८