साउन ११, २०८०
लघुवित्तपीडितहरू केही दिनयता राजधानीकेन्द्रित आन्दोलनमा छन् । लघुवित्त पीडितहरू हिजो पनि संसद् भवन घेराउ गर्न पुगेका थिए।
निषेधित क्षेत्र तोडेर संसद् भवनतर्फ अघि बढ्न थालेपछि प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको थियो। हिजो बिहान माइतिघरबाट प्रदर्शन गर्दै नयाँ बानेश्वरस्थित संसद भवन घेराउ गर्ने पुगेका प्रदर्शनकारीहरूलाई प्रहरीले रोक्न खोजेपछि धकेलाधकेल भएको हो ।नयाँबानेश्वरस्थित एभरेष्ट होटलअगाडि पुगेपछि प्रहरीले उनीहरूलाई रोक्न खोजेपछि धकेलाधकेल भएको हो ।
लघुवित्तीय संस्थाविरूद्धको संघर्ष समिति नेपाल केन्द्रीय समितिले विभिन्न माग राखेर काठमाडौंमा प्रदर्शन गर्दै आएको छ।पीडितहरूले सावाँसहित व्याज मिनाहा गर्नुपर्ने, पीडितलाई न्याय दिनुपर्ने र ऋण उठाउने क्रममा आफूहरूमाथि दुर्व्यवहार गर्नेलाई कारबाहीको माग गर्दै काठमाडौँ केन्द्रित आन्दोलन जारी राखेका छन् । खाजासामलसहित आन्दोलनमा होमिएका पीडीतहरू पानीझरीको प्रवाह नगरी दिनहुँ माइतीघरदेखि संसद भवनसम्म विरोध र्याली निकालिरहेका छन।
१२ दिनसम्म आन्दोलनलाई जारी राख्ने बताएका उनीहरूले त्यसपछि आन्दोलनको स्वरूप परिवर्तन गर्ने बताएका छन् । आन्दोलनमा सहभागीहरूले लघुवित्तका कारण आफूहरू पीडित भएको भन्दै सरकारले समस्या समाधान गर्नुपर्ने माग गरेका थिए । उनीहरूले आफ्ना माग पूरा नभए घर नफर्कने समेत बताएका छन् ।
आफूहरूलाई लघुवित्त संस्थाहरूले ज्यादती गरेको उनीहरूको आरोप छ । सामूहिक ऋण मिनाहा गर्नुपर्ने, गरिब किसानलाई निःशुल्क ऋण प्रदान गर्नुपर्नेलगायत पाँचबुँदे माग उनीहरूले अघि सारेका छन् ।यी मागका विषयमा राष्ट्र बैंक पनि गम्भीर बन्नुपर्ने संघर्ष समितिको माग छ ।
प्रधानमन्त्री प्रचण्डको निर्देशनमा राष्ट्र बैंकले लघुवित्त पीडितका माग सम्बोधन गरिने र छलफलका लागि प्रतिनिधि तोकिने विश्वास दिलाएका थिए। लघुवित्तविरुद्धको संघर्ष समितिका अध्यक्ष पुनाराम ज्ञवाली ९मनिराम० र ६ वटा किसान सङ्गठन सञ्जालका सदस्यबीच पहिला छलफल भएको थियो ।
छ किसान सङ्गठनले लघुवित्तपीडितको समस्या समाधानका लागि वार्ता समिति गठन गर्न माग गरेका थिए ।२०८० साउन १ गते सोमबार संयुक्त प्रेसवक्तव्य जारी गर्दै उनीहरूले यस्तो माग गरेका हुन् ।
यस्तो थियो, प्रेसवक्तव्यको पूर्ण पाठ :
“देशको ग्रामीण क्षेत्रका गरिब किसान, मजदुर तथा आम जनता र त्यसमा पनि विशेषतस् महिलामाथि विगत ३० वर्षदेखि शोषण र सामाजिक तथा वर्गीय उत्पीडनसहित मिटरब्याजसँग तुलनायोग्य संस्थागत सुदखोरीको धन्दा चलाउने देशभरका लघुवित्तीय संस्थाका गैरकानुनी तथा अमानवीय हर्कत, कोरोनाकालमा भएको सामाजिक–आर्थिक प्रभावका कारण किस्ता तिर्न नसक्ने ऋणीमाथि भएको वित्तीय, सामाजिक, नैतिक तथा भौतिक आक्रमण तथा उत्पीडनको विरुद्धमा लघुवित्तीय संस्थापीडितले विगत १७ महिनादेखि न्यायका लागि सङ्घर्ष गरिरहेका छन् ।
नेपाल राष्ट्र बैङ्कले लघुवित्तीय संस्थाहरूको उचित नियमन गर्न नसक्नु, तिनका ज्यादतीलाई आँखा चिम्लेर बस्नु, मौद्रिक नीति गलत हुनु, सोही नीतिसमेत लागु गर्न नसक्नु र कोरोनाकालको समस्याबारे केपी ओली नेतृत्वको तत्कालीन सरकारले जनपक्षीय निर्णय लिन नसकेका कारण निम्तिएको यस समस्याबारे पीडितले सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर जानकारी गराएपछि सम्माननीय प्रधानमन्त्रीज्यूले नेपाल राष्ट्र बैङ्कका गर्भनर महाप्रसाद अधिकारीलाई तत्काल समस्या समाधानका लागि पहल लिन निर्देशन दिएको भए पनि नेपाल राष्ट्र बैङ्क र गभर्नरको तर्फबाट हालसम्म पनि समस्या समाधानका लागि कुनै पहल भएको छैन ।
यही क्रममा लघुवित्तीय संस्था विरुद्धको सङ्घर्ष समिति नेपालका अध्यक्ष मणिराम ज्ञवालीले २०८० असार २८ गतेदेखि माइतीघर मण्डलामा आमरण अनसन सुरु गरेको र सङ्घर्ष समितिले विभिन्न शान्तिपूर्ण सङ्घर्षका कार्यक्रम अघि सारेकोमा सो न्यायपूर्ण सङ्घर्षको पक्षमा हामी दृढतापूर्वक ऐक्यबद्धता जाहेर गर्दछौँ र समस्या समाधानका लागि ६ कम्युनिस्ट पार्टीनिकट संयुक्त किसान सङ्घर्ष समिति नेपालको तर्फबाट निम्न माग अघि सार्दै अविलम्ब पूरा गराउन नेपाल सरकारसमक्ष जोडदार माग गर्दछौँ ।
१. गरिब किसान, मजदुर र विशेषतस् महिलामाथि गरिरहेको चरम शोषण र अमानवीय व्यवहारसहितको अत्याचार गर्ने लघुवित्तीय संस्थाको विरुद्ध पीडित जनताले चलाएकोे सङ्घर्षलाई तत्काल सम्बोधन गरियोस् । तत्काल एक वार्ता समिति गठन गरी समस्या समाधानका लागि ठोस पहल गरियोस् ।
२. राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रको विकास गर्दै समाजवादको आधार तयार गर्ने गरी किसानमुखी तथा जनमुखी मौद्रिक नीति जारी गरी लागु गरियोस् । नेपाल राष्ट्र बैङ्कको विद्यमान नीतिसमेतको विपरीत हुने गरी ऋण प्रवाह तथा अन्य कारोबार गर्ने लघुवित्तीय संस्था र तिनका सञ्चालकलाई कालो सूचीमा राखी कडा कारबाही गरियोस् ।
३. एकै व्यक्ति दुईभन्दा बढी लघुवित्तमा सदस्य बन्न र ऋण लिन नपाउने व्यवस्था गरी कडाइपूर्वक लागु गरियोस् ।
४. लघुवित्तले ऋणीलाई लगाउने ब्याज एक अङ्कमा झारियोस् । लघुवित्तले चक्रीय ब्याज र हर्जानाको नाममा मासिक ३६ प्रतिशभन्दा बढी रकम असुल्ने तथा पटक पटक ब्याज र हर्जानालाई साँवामा गाभेर चलाइआएको संस्थागत मिटरब्याजको धन्दा अविलम्ब बन्द गरियोस् । यसरी हर्जाना असुल्ने लघुवित्तलाई कडा कारबाही गरियोस् ।
५. लघुवित्तले चक्रीय ब्याजप्रणालीमा लिइरहेको कोरोनाकालदेखि हालसम्मकोे सम्पूर्ण ब्याज र हर्जाना बिनाशर्त तत्काल मिनाहा गरियोस् । बाँकी साँवा ऋण भुक्तानीका लागि ऋणीको माग र क्षमताअनुसार पर्याप्त समय अवधि दिई ऋणको पुनर्तालिकीकरण ९नयाँ किस्ता जारी० गर्न लगाइयोस् ।
६. ऋण उठाउने नाममा गरिब ऋणीको हस्ताक्षर जबरजस्ती गराई वा नक्कली हस्ताक्षर गरी ऋण नवीकरण गराउने, भौतिक तथा मानसिक यातना दिने, महिला हिंसा गर्ने, अपशब्द बोल्ने, घरमा तालाचाबी ठोकिदिने, गाईवस्तु आफूखुसी बेचिदिने र अमानवीय यातनाबाट पीडित भई घरपरिवार छोड्न बाध्य बनाउने र आत्महत्याका लागि दुरुत्साहन गर्ने सबै लघुवित्तीय संस्था, तिनका प्रतिनिधि र मतियारलाई अविलम्ब गिरफ्तार गरी कडा कारबाही गरियोस् ।
७. यो समस्या सिर्जना गर्ने, समाधानका लागि कुनै पहल नगरी अटेरी गर्ने र मुलुकको अर्थतन्त्रलाई नै धरासायी बनाउन मुख्य भूमिका खेल्ने नेपाल राष्ट्र बैङ्कको नेतृत्वलाई तत्काल कारबाही गरियोस् ।”
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८