• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

पाँच महिनामै केन्द्रदेखि प्रदेशसम्म सत्ताविहीन बन्यो एमाले

  • खबरदाता

पाँच महिनामै केन्द्रदेखि प्रदेशसम्म सत्ताविहीन बन्यो एमाले

असार १६, २०८०

 

प्रतिनिधिसभामा दोस्रो शक्ति र तीन प्रदेशमा पहिलो दल रहेको एमाले केन्द्रदेखि प्रदेशसम्म सत्ताविहीन बनेको छ । एमाले नेतृत्वको कोसी प्रदेश सरकार शुक्रबार ढलेसँगै एमाले सत्ताविहीन बनेको हो । ९३ सदस्यीय प्रदेशसभामा कोसीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत पाएनन् । यसअघि एमालेले सुदूरपश्चिम, गण्डकी र लुम्बिनीमा नेतृत्व गुमाएको थियो । त्यस्तै, केन्द्र सरकारसँगै बागमती, मधेस र कर्णालीबाट बाहिरिएको थियो ।

गत मंसिरको भएको निर्वाचनमा दोस्रो दल बने पनि तेस्रो दल माओवादीका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाएर केन्द्रदेखि प्रदेशसम्म सत्तामा पुगेको एमाले राष्ट्रपतीय निर्वाचनबाट प्रतिपक्षमा बसेको हो । माओवादीले कांग्रेसका रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउन सहयोग गरेपछि एमालेले केन्द्र सरकार छाडेको थियो । लगत्तै एकपछि अर्को गर्दैै प्रदेश सरकारबाट पनि एमाले बाहिरियो ।

अन्तिम सत्ता रहेको कोसीमा माओवादी र जसपाले साथ छोडेपछि अल्पमतमा रहेका मुख्यमन्त्री कार्कीले शुक्रबार सदनमा विश्वासको मतको सामना गरे । तर, एक मत कम पाउँदा सत्ता गुम्यो । प्रदेशसभामा एमालेको ४० र राप्रपाको ६ गरी ४६ सिट रहेपनि बहुमतका लागि ४७ सिटको आवश्यक पर्छ । सरकारलाई निरन्तरता दिनुपर्ने पक्षमा ४६ सांसदले मतदान गर्दा विपक्षमा ४३ मत परेको छ। तर, यसले नयाँ सरकार निर्माण थप अन्योलमा परेको छ ।एमालेलाई राप्रपासँगको गठबन्धनमा सरकार बनाउन एक सिट भएको जसपा निर्णायक छ । भने कांग्रेस २९, माओवादी १३ सिट र एकीकृत समाजवादी ४ सिटको गठबन्धनमा सरकार बनाउन राप्रपाको साथ लिनुपर्ने हुन्छ । सरकार बनाउन ४७ सिट आवश्यक पर्छ ।

यसअघि एमालेका खगराज अधिकारी गण्डकी, लिला गिरी लुम्बिनी र सुदूरपश्चिममा राजेन्द्रसिंह रावल मुख्यमन्त्री बनेका थिए । सुदूर पश्चिमका रावल नेतृत्वको सरकारले विश्वासको मत प्राप्त गर्न नसकेपछि एक महिनामै ढलेको थियो । नागरिक उन्मुक्ति पार्टीका सांसद अनुपस्थित भएसँगै रावल नेतृत्वको सरकार गत माघको तेस्रो सातामै ढलेको थियो ।

गण्डकीका मुख्यमन्त्री अधिकारी वैशाख ९ गते सरकारबाट बाहिरिएका थिए भने लुम्बिनीका मुख्यमन्त्री गिरी नेतृत्वको सरकार वैशाख ११ गते ढलेको थियो । मधेश प्रदेशमा जसपाका सरोजकुमार यादव मुख्यमन्त्री रहेका छन् । वागमतीमा नेकपा माओवादी केन्द्रका शालिकराम जम्कट्टेल, गण्डकीमा कांग्रेसका सुरेन्द्र पाण्डे, लुम्बिनीमा कांग्रेसका डिल्ली चौधरी, कर्णालीमा माओवादी केन्द्रका राजकुमार शर्मा र सुदूरपश्चिममा कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री रहेका छन् ।

कोशी, मधेश र लुम्बिनीमा एमाले पहिलो दल र बागमती र गण्डकीमा दोस्रो दल रहेको एमाले कर्णाली र सुदूरपश्चिममा तेस्रो शक्ति हो । अब एमालेसँग केन्द्रमा प्रतिनिधिसभाको सभामुखमा देवराज घिमिरे छन् । कोशीमा उपसभामुख सिर्जना दुनुवार, मधेशमा सभामुख रामचन्द्र मण्डल, बागमतीमा उपसभामुख अप्सरा चापागाइँ, गण्डकीको उपसभामुखमा बिनाकुमारी थापा, कर्णालीमा सभामुख नन्दा गुरुङ र सुदूरपश्चिमको उपसभामुखमा कोइलीदेवी चौधरी छन् ।

  • प्रकाशित मिति : असार १६, २०८०, शनिवार ०६:०७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८