• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

काठमाडौं, ललितपुर र भरतपुरले बजेट बढाउँदा पोखरा, वीरगन्ज र विराटनगरको किन घट्यो ?

  • खबरदाता

काठमाडौं, ललितपुर र भरतपुरले बजेट बढाउँदा पोखरा, वीरगन्ज र विराटनगरको किन घट्यो ?

असार ११, २०८०

 

 

काठमाडौं, ललितपुर र भरतपुरले बजेट बढाउँदा पोखरा, वीरगन्ज र विराटनगरको किन घट्यो रु
काठमाडौं । देशभरका स्थानीय सरकारले आइतबार आगामी आर्थिक वर्षको बजेट ल्याएका छन् । स्थानीय सरकार सञ्चालन ऐनमा स्थानीय तहले प्रत्येक वर्ष असार १० गतेअघि नै बजेट ल्याउनुपर्ने व्यवस्थाअनुसार सबैजसो स्थानीय तहले आफ्नो गाउँ र नगरसभामा बजेट पेस गरेका हुन् । वीरगन्ज महानगरसहित केही स्थानीय तहले यसअघि नै बजेट ल्याइसकेका थिए । बाँकीले आइतबार बजेट पेस गरेका हुन् ।

काठमाडौं, ललितपुर र भरतपुर महानगरपालिकाले आज चालु आर्थिक वर्षको तुलनामा केही बढाएर बजेट ल्याएका छन् । पोखरा, विराटनगर र वीरगन्ज महानगरपालिकाले भने बजेटको आकार घटाएका छन् । महानगरअन्तर्गत सबैभन्दा धेरै काठमाडौंले २५ अर्ब ५४ करोड ल्याएको छ । महानगरहरुमा सबैभन्दा कम भने वीरगन्जको ३ अर्ब २१ करोडको बजेट छ ।

काठमाडौं महानगरपालिकाले २५ अर्ब ५४ करोड ७८ लाख रुपैयाँको बजेट ल्याएको छ । यो बजेट चालु आर्थिक वर्षको भन्दा १४ करोड रुपैयाँले बढी हो । विनियोजित बजेटमध्ये चालुतर्फ ८ अर्ब ६१ करोड र पुँजीगततर्फ १६ अर्ब ९३ करोड रुपैयाँ छ । महानगरले पूर्वाधार विकासमा सबैभन्दा धेरै ७ अर्ब ३४ करोड ६४ लाख रुपैयाँ छुट्याएको छ ।ललितपुर महानगरले भने ६ अर्ब ५० करोड ५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । ललितपुरले पुँजीगततर्फ ४ अर्ब २१ लाख र चालुतर्फ २ अर्ब ४९ करोड ८४ लाख रुपैयाँ खर्चको अनुमान नगरसभामा प्रस्तुत गरेको हो । यस महानगरले चालु आर्थिक वर्षको तुलनामा साढे १४ करोड रुपैयाँ बजेट बढाएको छ । चालु आर्थिक वर्षको बजेट ६ अर्ब ३५ करोड ३५ लाख रुपैयाँ छ । ललितपुरले सडक पूर्वाधार र सम्पदालाई जोड दिएको छ ।

आइतबार नै भरतपुर महानगरपालिकाले ६ अर्ब ३१ करोड ७९ लाख रुपैयाँको बजेट ल्याएको छ । यस महानगरले चालु आर्थिक वर्षको तुलनामा १० करोड ७० लाख रुपैयाँ बढाएको छ । भरतपुरको चालु आर्थिक वर्षको बजेट ६ अर्ब २१ करोड १९ लाख रुपैयाँ छ। सामाजिक सुरक्षासहित पर्यटन पूर्वाधार विकास र अपुरा आयोजना पूरा गर्ने बजेटमा उल्लेख छ ।

पूर्वको व्यापारिक नगरी विराटनगर महानगरपालिकाले ३ अर्ब २८ करोड ५० लाख रुपैयाँको बजेट ल्याएको छ । महानगरले चालु आर्थिक वर्षको तुलनामा ३४ करोड रुपैयाँ घटाएर बजेट ल्याएको हो । चालु आर्थिक वर्षमा महानगरको बजेट ३ अर्ब ६२ करोड ५५ लाख रुपैयाँको थियो । महानगरले पनि प्रशासनिक सुधार, पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा, वातावरण तथा विपत व्यवस्थापनजस्ता विषयलाई उच्च प्राथमिकता दिएको छ ।

यता, वीरगन्ज महानगरपालिकाले भने बुधबार नै ३ अर्ब २१ करोड ३५ लाख रुपैयाँको बजेट ल्याइसकेको थियो । वीरगन्जले चालु खर्चतर्फ २ अर्ब ४८ करोड ८५ लाख र पूँजीगततर्फ ६८ करोड ८७ लाख रुपैयाँ विनियोजन गरेको हो । वीरगंजको बजेट पनि चालु आर्थिक वर्षको तुलनामा १२ करोड रुपैयाँले कम हो । शिक्षा, स्वास्थ्य, खानेपानी र वातावरणमा बजेटले प्राथमिकता दिएको छ ।

यस्तै पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७ अर्ब १५ करोड १५ लाख १६ हजार रुपैयाँको बजेट ल्याएको छ । उपप्रमुख मञ्जुदेवी गुरुङले आइतबार १३ औं नगरसभामा आगामी आर्थिक वर्ष २०८०र८१ का लागि बजेट सार्वजनिक गरेकी हुन् । चालु आर्थिक वर्षमा ८ अर्ब ९९ करोड २ लाख रूपैयाँको बजेट विनियोजन गरेको पोखराले यसपालि २० प्रतिशतभन्दा बढीले घटाएको छ ।

देशभरका उपमहानगर, नगर र गाउँपालिकामध्ये धेरैले स्थानीय पूर्वाधार विकास, पर्यटन, कृषि र रोजगारीलाई प्राथमिकतामा राखेका छन् । छरिएको बजेट ल्याएको भनेर अघिल्लो वर्षमा आलोचना भोगेपछि यसपालि केही विशिष्टीकृत हुन खोजेका छन् । यसले बजेट कार्यान्वयन सहज हुने अपेक्षा गरिएको छ । असार मसान्तभित्र बजेट पारित गरि सक्नुपर्ने कानुनी व्यवस्था छ । संघबाट ४ प्रकारका अनुदान र राजस्व बाँडफाँटबाट जाने रकम नै स्थानीय तहको बजेटको मुख्य स्रोत हो । संघीय सरकार आफै वित्तीय संकटको चेपुवामा परेको र स्थानीय सरकारहरूले आन्तरिक स्रोत बढाउन नसकेको कारण धेरै स्थानी तहको बजेट घट्न पुगेको हो ।

  • प्रकाशित मिति : असार ११, २०८०, सोमवार ०६:१२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८