असार ४, २०८०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई आइतबार राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा पुगे । उनले त्यहाँ एक घण्टाभन्दा बढी समय लगाएर भ्रष्टाचार नियन्त्रणमा भएका प्रयास, समस्या र समाधानका उपायबारे खुलस्त कुरा राखे । उनको प्रस्तुतिले माहोल यस्तो बन्यो कि सांसदहरुका प्रश्न त्यसै फितला भए । बरु संसदीय समितिले अख्तियारको सट्टा सरकारतिर समस्या रहेको निर्क्योल निकाल्यो र सरकारका प्रतिनिधि बोलाएर छलफल गर्ने निर्णय गर्यो ।
अख्तियारको प्रमुख आयुक्तमा नियुक्त भएको करिब अढाई वर्षमा प्रेमकुमार राईले कुनै पनि संसदीय समितिमा सांसदका प्रश्नको सामना गर्नुपरेको थिएन । पहिलोपल्ट संसदीय समितिमा पुगेका उनले प्रश्नकर्ता सांसदहरुसमक्ष आफ्नो बेग्लै छाप पार्न सफल भए । उनले अख्तियारका व्यावहारिक समस्याबारे प्रस्ट पारिदिए । संविधान र कानुनमा भएका छिद्रहरु देखाइदिए । अदालतले गरेका बदमासीबारे पनि संसदीय समितिलाई अवगत गराइदिए ।
अनि तीनै तहका सरकारले कसरी भ्रष्टाचारको संरक्षण र विस्तार गरिरहेका छन् भन्ने पनि छर्लंगसँग देखाइदिए । त्यसपछि सांसदहरु पनि समस्या अख्तियार वा त्यहाँका पदाधिकारीमा नभई सरकारी संयन्त्रभित्रै रहेको निष्कर्षमा पुगे र आफ्नो गलत बुझाइप्रति प्रायश्चित्तको भावमा धेरैले जिब्रो टोके ।बैठकको सुरुमै आयोगका सचिव रामेश्वर दंगालले भ्रष्टाचार नियन्त्रणका लागि आयोगले झेल्नुपरिरहेको चुनौती र समस्या सुनाएका थिए । सचिवको प्रस्तुतिपछि सांसदहरुले अख्तियारको गिर्दो साख र भ्रष्टाचार प्रकरणको अनुसन्धानमाथि प्रश्न तेर्स्याए । ठेकापट्टाका काममा अख्तियारको चासोलाई विकास निर्माणमा अवरोध भन्ने सांसदहरु ठूला घोटालामा किन आँखा चिम्लिएको भनेर प्रश्न गरिरहेका थिए । समितिका अन्य सदस्यले पनि अख्तियारको कार्यक्षेत्र अनि कार्यशैलीमाथि प्रश्नको वर्षा गरे ।
तर अख्तियार प्रमुख राईले भने आरोपको प्रतिवाद गरे । बरु आफूहरुलाई राज्यबाटै सहयोग नमिल्दा धेरै प्रकरणमा हार्नुपरेको सुनाए । भ्रष्टाचार नियन्त्रणमा सरकार नै गम्भीर नबन्दा पछिल्लो समय भ्रष्टाचारका घटना बढेको उनको भनाइ थियो ।राईले आँखै अगाडि घूस खाएको देख्दासमेत कारबाही अगाडि बढाउन नपाउने बाध्यतामा आफूहरु रहेको दुःखेसो सुनाए । खासगरी रंगेहात पक्राउ गरेर अदालतमा बुझाइएका मुद्दामा अदालतले सफाइ दिन थालेको र अनुचित कार्यका विषयमा निर्देशन दिने अधिकार संविधानबाटै हटाइएकोले भ्रष्टाचार बढेको उनको तर्क थियो ।नीतिगत भ्रष्टाचारका घटनामा अख्तियारले थाहा पाएर पनि हस्तक्षेप गर्न नसकिरहेको उनको भनाइ थियो । अझ ठूला खरिद र ठेकापट्टाका निर्णयसमेत मन्त्रिपरिषदबाट गराएर अख्तियारको क्षेत्राधिकार छल्ने प्रवृत्ति बढेकोमा पनि उनले संसदीय समितिको ध्यानाकर्षण गराए ।
टुक्रे आयोजनाले पनि अनियमितताको आकार बढाएकोले त्यसतर्फ मुलुकको सर्वोच्च जनप्रतिनिधिमूलक संस्थाको ध्यान जानुपर्ने आवश्यकता उनले औँल्याए । यति कुरा आफूले बुझ्दाबुझ्दै पनि संविधान र कानुनको अभावले आफ्ना हात बाँधिएको राईको गुनासो थियो ।प्रविधिको विकाससँगै भ्रष्टाचारको स्वरुपमासमेत परिवर्तन आएको, अन्तर्राष्ट्रियरुपमै यसको सञ्जाल विस्तार हुँदै गएको र हाम्रो समाज नै भ्रष्टाचारको भयावह सञ्जालमा जेलिन पुगेको अख्तियार प्रमुखको बुझाइ थियो । मिनी संसद मानिने संसदीय समितिमा अख्तियारजस्तो संवैधानिक निकायका प्रमुखले बोलेका विषयले निकै ठूलो महत्त्व राख्छ । त्यसैले उनले औंल्याएका समस्या सम्बोधनमा संसद र सरकारको भूमिका अबको प्रतीक्षाको विषय हो ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८