• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

सत्र वर्षदेखि वन कार्यालयमै थन्कियो २० मेट्रिकटन रक्तचन्दन

  • रासस

सत्र वर्षदेखि वन कार्यालयमै थन्कियो २० मेट्रिकटन रक्तचन्दन

जेठ १२ ,२०८०

 

झापा । सत्र वर्षअघि झापाको विभिन्न स्थानमा तस्करबाट बरामद गरिएको २० मेट्रिकटन बहुमूल्य रक्तचन्दन (काठ) जिल्ला वन कार्यालयको दुईवटा कोठामा थन्किएको छ ।

त्यसबेला पक्राउ परेका छ जना अभियुक्त अदालतको आदेशबमोजिम कैद भुक्तान गरी जेलबाट मुक्त भइसकेका छन् । कोठामा थन्काइएको रक्तचन्दन भने अहिलेसम्म पहरा दिएर बन्द कोठामा राख्नु परिरहेको छ । जिल्ला वन कार्यालय झापाका प्रमुख मेघराज राईका अनुसार कार्यालयको भुइँतलाको साविक मुद्दा र प्रशासन फाँट रहेको कोठामा सिलबन्दी गरी ताल्चा लगाएर रक्तचन्दन थुपारिएको छ । कोठाबाहिर दुई वन रक्षकले अहोरात्र सुरक्षा दिइरहेका छन् ।

ओसारपसार र बिक्रीमा विश्वव्यापी प्रतिबन्ध भएका कारण रक्तचन्दनलाई लिलाम ९बिक्री० गर्न मिल्दैन । अन्तर्राष्ट्रिय सन्धिबमोजिम रक्तचन्दन जुन मुलुकबाट आएको हो, उसैलाई फिर्ता पठाउनुपर्ने हुन्छ ।

“वन विभागबाट यहाँ राखिएको रक्तचन्दनलाई के गर्ने भन्ने कुनै निर्देशन आएको छैन”, जिल्ला वन कर्यालय झापाका प्रमुख राईले भने, “हामीले यसलाई लिलाम बिक्री गर्ने, नष्ट गर्ने वा फिर्ता पठाउने आफूखुसी निर्णय गर्न सक्दैनौँ ।”

विश्व बजारमा उच्च मूल्य भएको रक्तचन्दन दक्षिण भारतको जङ्गलबाट तस्करी भएर नेपाल आएको हो । तस्करले अवैधरूपमा नेपालको बाटो भएर रक्तचन्दनलाई चीन पुर्याउने गर्दथे ।

यही क्रममा विसं २०६४ साउन १३ गते राति ११ बजे जिल्ला वन कार्यालय झापाको टोलीले दक्षिण झापाको तत्कालीन टाघनडुब्बा गाउँ विकास समितिको वडा नं ४ स्थित उपेन्द्र चौधरीको घरमा छापा मार्दा ११ हजार सात सय ७० केजी रक्तचन्दन लुकाइराखेको अवस्थामा बरामद गरेको थियो ।

त्यसपछि विसं २०६३ पुस २ गते दक्षिण झापाकै कुमरखोदको कामाटोलीमा सुरक्षा गस्तीले घेरेपछि ट्रक चालकले रक्तचन्दन सडकमै छाडेका थिए । त्यस घटनामा छ हजार तीन सय ७५ केजी रक्तचन्दन बरामद भएको थियो । विसं २०६४ साउन १२ गते थप एक हजार छ सय ८७ केजी रक्तचन्दन बरामद भएको थियो ।

रक्तचन्दन बरामद हुँदा पक्राउ परेका छ जना आरोपी सबै छुटिसकेका छन् । रक्तचन्दन बरामद भएको एउटा वटा ट्रक लिलाम भइसकेको छ । सिद्राले छोपेर रक्तचन्दन ल्याइएको थियो । भारतको चेन्नाईबाट आन्ध्रप्रदेश, उडिसा हुँदै विहारको किसनगञ्ज जिल्लाको डिगलबैंक नाकाबाट लुकीछिपी आएको एपी २७ डब्लूओ ४०५ नम्बरको ट्रकबाट रक्तचन्दन बरामद थियो ।

कामाटोलीमा सुरक्षाकर्मी र स्थानीयवासीले ट्रकलाई सडकमै रोकेका थिए । उक्त ट्रक हेर्दा रक्तचन्दनका काठलाई समुद्री माछाबाट बनाइएका सिद्रा र धानको भुसले छोपिएको पाइएको थियो । रक्तचन्दनको बासना नआओस् भनेर ट्रकमा सिद्राको गन्ध राखिएको थियो । ट्रकबाट भारत चेन्नाई निवासी यम भाष्कर र राजु शर्मासमेत पक्राउ परेका थिए ।

झापा जिल्ला अदालतले वन ऐन, २०४९ को दफा ४९ (घ) को कसुरमा सोही वन ऐन, २०४९ को दफा ५० ९१० (घ) ४ बमोजिम पक्राउ परेका चार जनालाई रु एक करोड ८८ लाख ३२ हजार जरिवाना र चार वर्ष कैद सजाय सुनाएको थियो ।

सोही मुद्दामा पक्राउ परेका अन्य दई जनालाई भने जनही रु तीन लाख १८ हजार सात सय ६३ जरिवाना र एक वर्ष कैद सजाय तोकेको थियो । रक्तचन्दन भण्डारण गरिएको कोठाको सिलबन्दी नखोलिएको कारण काठको अवस्था के कस्तो छ यकिनसाथ भन्न सकिने अवस्था छैन । उक्त कोठाभित्र कार्यालयका पुराना विभिन्न मुद्दाका फाइल थुनिएको बताइएको छ ।

बरामद भएको बेला गरिएको मुचुल्कामा रक्तचन्दनको मूल्य प्रतिकेजी रु २५ निर्धारण गरिएको थियो । बजारमा रक्तचन्दनको मूल्य अहिले प्रति केजी रु एक हजारभन्दा बढी नै छ ।

  • प्रकाशित मिति : जेठ १२, २०८०, शुक्रवार ०५:४६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८