• असार २७, २०८३, शनिवार Saturday, 11 July, 2026

औलोको उच्च जोखिममा कञ्चनपुर

  • खबरदाता

औलोको उच्च जोखिममा कञ्चनपुर

बैशाख १३,  २०८०

 

महेन्द्रनगर । कञ्चनपुर जिल्ला औलोको उच्च जोखिममा रहेको छ । भारतमा औलोको संक्रमण भएर आउने बिरामीको संख्या हरेक वर्ष वृद्धि भइरहेकाले अझै पनि औलोको जोखिम कायमै रहेको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ ।

स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख दयाकृष्ण पन्तले कञ्चनपुरमा स्थानीय संक्रमण भन्दा आयातीत औलो संक्रमित विरामी बढि रहेको बताए । “यो जिल्लामा यहाँको लामखुट्टेको टोकाइबाट भन्दा पनि भारतमा संक्रमित भएर आउनेको संख्या बढी छ ।” उनले भने–“पछिल्लो केहि वर्ष सता कञ्चनपुरका औलोको संक्रमण कम भएपनि जोखिम कायमै छ ।” उहाँले २०२५ सम्ममा औलो शुन्यमा झार्ने रणनीती अनुसार स्वास्थ्य कार्यालयले काम गरिरहेको बताए ।

स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७÷०७८ मा १६ जना स्थानीय औलो संक्रमित थिए भने ३१ जना भारतबाट संक्रमण भएर आएका थिए । २०७८÷०७९ मा स्थानीय संक्रमित घटेर ६ मा पुगेपनि आयातित संक्रमितको संख्या ३० थियो । चालु आर्थिक वर्षको हालसम्ममा स्थानीय संक्रमित पाँच जना छन भने भारतबाट संक्रमित भएर आएका १७ जना औलो संक्रमित छन ।

भारतसंगको खुला सिमानाका कारण आयातित औलो संक्रमण बढी रहेको छ । स्वास्थ्य कार्यालयले औलो रोग निवारणका लागि औलोको उच्च जोखिम क्षेत्रमा विषादी छर्किने र झुल वितरण गर्ने अभियान सञ्चालनमा रहेको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका औलो निरिक्षक सिद्धराज भट्टले जानकारी दिए ।

  • प्रकाशित मिति : वैशाख १३, २०८०, बुधवार १४:२७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८