चैत्र १६, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहालले दोस्रोपटक विश्वासको मत पाएको दसौं दिनमा बल्ल सत्ता गठबन्धनमा भागबण्डा मिलेको छ । बालुवाटारमा बुधबार बसेको गठबन्धनको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहालले पेस गरेको प्रस्तावलाई सामान्य परिमार्जन गरेर भागबण्डामा सहमति गरेको हो । गठबन्धनका १० दलमध्ये ९ दल सरकारमा सहभागी हुनेछन् । प्रधानमन्त्रीलाई विश्वासको मत दिएको राष्ट्रिय स्वतन्त्र पार्टीलाई भाग नदिने निर्णय भएको छ । मन्त्रिपरिषद विस्तार आज बिहीबार हुने भनिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको सहमतिअनुसार गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रसले ८ मन्त्रालय पाउने भएको छ । यसअघि उसले अर्थ, रक्षा र परराष्ट्रसहित ९ मन्त्रालयमा दाबी गरेको थियो । प्रधानमन्त्री दाहालले भने ७ मन्त्रालय मात्र प्रस्ताव गरेका थिए । अन्ततः ८ मन्त्रालयमा कुरा मिलेको हो ।यस्तै माओवादी केन्द्रले मन्त्रिपरिषदमा प्रधानमन्त्रीसहित ५ सदस्य सुरक्षित गरेको छ । एमालेसँगको गठबन्धनमा पनि माओवादीको भागमा पाँचवटै मन्त्रालय थिए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय भने माओवादीले छोड्नुपर्नेछ । त्यसवापत् गृह मन्त्रालय पाउनेछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कांग्रेसले दाबी गरिरहेको छ । तर माओवादीले छाड्न मानेको छैन ।
गृह मन्त्रालय दाबी गरिरहेको नेकपा एकीकृत समाजवादीले भौतिक पूर्वाधार सहित २ मन्त्रालय पाउने सहमति भएको छ । गृह भने उसले पाउने छैन । यस्तै पूर्ववत् गृह मन्त्रालय नै पाउनुपर्ने भनिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीले एउटा पनि मन्त्रालय नपाउने भएको छ । उसका लागि एउटा पनि मन्त्रालय खाली नछाड्ने निर्णय गठबन्धनले गरेको छ । २२ वटै मन्त्रालयको भागबन्डा टुंगिइसकेकाले रास्वपालाई सरकारमा सहभागी हुने सम्भावनाको ढोका पूर्णतः बन्द गरिएको छ । तीनजना राज्यमन्त्रीका लागि मात्र सिट खाली राखिएको छ ।
राष्ट्रपति निर्वाचनदेखि संसदमा प्रधानमन्त्रीले विश्वासको मत लिँदासम्म यही गठबन्धनलाई साथ दिएको राष्ट्रिय स्वतन्त्र पार्टीले सत्तामा भाग नपाउनुलाई निकै अर्थपूर्णरुपमा लिइएको छ । यसबीचमा सरकारमा सहभागिताको विषयलाई लिएर विभिन्न चरणमा छलफल पनि नभएको होइन । त्यस क्रममा रास्वपा सभापति रवि लामिछानेले गैरसांसदकै हैसियतमा मन्त्री बन्न पाउनुपर्ने र चितवन क्षेत्र नम्बर २ को उपचुनावमा आफुलाई सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनाउनुपर्ने सर्त अघि सारेका थिए । अहिले मन्त्रालय भागबण्डामा उसलाई समावेश नै नगरिएपछि अब रास्वपा पूर्णरुपमा प्रतिपक्षमा पुगेको छ ।
जनता समाजवादी पार्टीको भागमा २ मन्त्रालय परेका छन् । यस्तै लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति, जनमत, प्रभु शाह नेतृत्वको आमजनता पार्टी र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबाट एक–एकजना मन्त्री बन्नेछन् ।मन्त्रालयको संख्यामा भागबण्डामा सहमति भए पनि कुन मन्त्रालय कसलाई भन्ने विषय भने बिहीबार बिहान ८ बजे बस्ने गठबन्धनको बैठकले तय गर्नेछ । शक्तिशाली मानिने गृह, अर्थ परराष्ट्र र विकासे मन्त्रालयमा सबै दलले दावी गरेपछि कुन मन्त्रालय कसलाई भन्ने विषयमा प्रधानमन्त्रीले बिहीबारको बैठकमा प्रस्ताव गर्ने बताइएको छ ।
कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । धनराज गुरुङ, प्रकाशशरण महत, सीता गुरुङ लगायतले यसपालि मौका पाउने लगभग पक्का छ । युवाहरुमा बद्री पाण्डे र प्रदीप पौडेललाई समेट्न दुवै महामन्त्रीले दबाब दिइरहेका छन् । एकीकृत समाजवादीबाट वेदुराम भुसाल र प्रकाश ज्वालाको नाम टुंगिएको छ । माओवादीका सबै पुरानै अनुहारले निरन्तरता पाउने भनिएको छ । जनमतबाट अब्दुल खान खानेपानी मन्त्री छन् । उनको विभाग हेरफेर हुन सक्नेछ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८